मोरङमा पनि चिकित्सकमाथि दुर्व्यवहार
विराटनगर : मोरङमा पनि एक जना चिकित्सकमाथि हातपात एवं दुर्व्यवहार भएको छ। हेटौंडामा चिकित्सकमाथि कुटपिट गरिएको घटनाले स्वास्थ्य क्षेत्र तरंगित बनेको छ।
कुटपिटमा संलग्नलाई कारबाही हुनुपर्ने र सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै मुलुकभरका चिकित्सक आन्दोलित भएका छन्। ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट गरिएको घटनाले माहोल तातिएका बेला मोरङको सुन्दरहरैँचामा पनि चिकित्सकमाथि हातपात र दुर्व्यवहार भएको हो।
सुन्दरहरैँचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि दुर्व्यवहार र हातपात भएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विपिन यादवले बताए। उनका अनुसार डा. पोखरेलमाथि बूढीगंगा गाउँपालिका-७ का ३८ वर्षीय शुक्रराज माझीले हातपात र दुर्व्यवहार गरेका हुन्।
शुक्रराजले ज्वरो आएको भन्दै बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि बिहीबार अस्पताल पुर्याएका थिए। पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी (बहिरंग सेवा) बन्द थियो। तारिणीलाई दिउँसो १२:३० बजेतिर इमर्जेन्सी (आकस्मिक कक्ष)मा नै भर्ना गरेर उपचार सुरु गरियो।
आकस्मिक कक्षमा खटिएका डा. पोखरेलले चेकजाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी छोरा शुक्रराजलाई गराएका थिए। त्यसलगत्तै गालीगलौजमा उत्रिएर शुक्रराजले चिकित्सकलाई दुर्व्यवहार र हातपात गरेको मेसु यादवले बताए। ‘तथानाम गालीगलौज गर्दै चिकित्सकमाथि मुक्का प्रहारसमेत गर्न खोजियो,’ उनले भने, ‘तर, अन्य बिरामीका कुरुवा र अस्पतालका सुरक्षा गार्डले रोकेका कारण कुनै अप्रिय घटना भने हुन पाएन।’
डा. यादवका अनुसार ज्वरो आएर उपचारका लागि ल्याएको भनिएका तारिणीको अवस्था सामान्य थियो। उपचारमा संलग्न ड्युटीका चिकित्सकमाथि हातपात गरिनु निन्दनीय भएको उनको भनाइ छ। डा. पोखरेलले पनि आफूमाथि दुर्व्यवहार र हातपात भएको बताए। तर, शरीरमा कुनै चोटपटक भने नलागेको उनको भनाइ छ।
चिकित्सकमाथि दुर्व्यवहार र हातपात गर्ने शुक्रराजलाई घटनालगत्तै इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ। डा. पोखरेलले किटानी जाहेरी दिएपछि शुक्रराजलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।
कोसी अस्पतालमा केहीबेर सेवा अवरुद्ध
हेटौंडामा चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै कोसी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था विराटनगरको कोसी अस्पतालमा शुक्रबार केहीबेर ओपीडी सेवा अवरुद्ध बनाइएको छ। चिकित्सकले करिब २ घण्टाभन्दा बढी समयसम्म सेवा अवरुद्ध बनाएका हुन्।
अस्पतालको सेवा बन्द हुने हल्ला चलाइएपछि विहानैदेखि टिकट काटेर उपचारका लागि लाइनमा बसेका अधिकांश बिरामी घर फर्किएका थिए। गम्भीर अवस्थाका बिरामीले समेत चिकित्सकीय सेवा पाउन सकेनन्। टाढाबाट आएका बिरामीहरु उपचारविहीन बनेर घर फर्किन बाध्य भए।
पछि अस्पताल प्रशासनको आग्रहमा चिकित्सकले सेवा सुचारु गरेपनि घर नफर्किएका केहीले मात्रै स्वास्थ्य परीक्षण र उपचार गराउन पाए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले केहीबेर ओपीडी सेवा अवरुद्ध भएको बताए। ‘टिकट काटेर बिरामीहरु लाइनमा बसिसकेका छन्। यस्तो अवस्थामा सेवा अवरुद्ध गर्न हुँदैन भनेर सबै चिकित्सकलाई आग्रह गर्यौं,’ उनले भने, ‘उहाँहरु ‘कन्भिन्स’ हुनु भयो। त्यसपछि सेवा सुचारु भयो।’