विराटनगरमा महानगर प्रहरी–जसपा विवाद : दुवै पक्ष उत्तिकै जिम्मेवार

विराटनगरमा महानगर प्रहरी–जसपा विवाद : दुवै पक्ष उत्तिकै जिम्मेवार
विराटनगर महानगरअगाडि प्रदर्शन गर्दै जसपाका नेता कार्यकर्ता।

विराटनगर : विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीचको विवाद उत्कर्षमा पुग्नुको पछाडि दुवै पक्ष उत्तिकै जिम्मेवार देखिएका छन्। 

तर, घटनासँग सम्बन्धित विवादलाई दुवै पक्षले आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। जसपाले पार्टीका मोरङ अध्यक्ष एवं कोसी प्रदेशका उपाध्यक्ष राजकुमार यादवमाथि महानगर प्रहरीबाट हातपात एवं दुर्व्यवहार भएको दाबी गर्दै आएको छ। दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै जसपाले महानगरअगाडि शुक्रबार प्रदर्शनसमेत गरेको थियो। 

महानगर प्रहरीको भने पोसाक लगाएर ड्युटीमा रहेका बेला यादवले अभद्र व्यवहार गरेको दाबी छ। यादवले ड्युटीमा रहेका बेला धकेलेर सडकमा लडाइदिएको तथा उनका छोरा आशिषले कुटपिट गरेको महानगर प्रहरीको भनाइ छ। आफूले गरेको कमजोरी लुकाउन दुवै पक्ष एकअर्कालाई दोषी देखाउँदै छन्। यो घटना हुनुको पछाडि एउटा मात्रै पक्ष जिम्मेवार छैन। दुवै पक्षबाट कमजोरी भएको देखिन्छ। 

विराटनगरको कोसी अस्पतालअगाडि यादवको स्नेहा फार्मेसी (औषधि पसल) छ। पसलअगाडि सवारीसाधन पार्किङमा निषेध गरिएको थियो। विराटनगरमा सवारी पार्किङको व्यवस्थापन महानगर प्रहरीले गरिरहेको छ। फार्मेसीअगाडि ‘नो पार्किङ’मा रोकेर राखेको एउटा सीटी सफारीलाई ड्युटीमा रहेका महानगर प्रहरीले बुधबार दिउँसो ‘ह्वील लक’ गरिदिए। 

तर, सफारी धनी दिउँसो ४:४५ बजेसम्म सम्पर्कमा आएनन्। आफ्नो पसलअगाडि ‘लक’ गरेर सफारी राखिदिएकाले ग्राहाकलाई समस्या भएको भन्दै यादव महानगर प्रहरीप्रति क्रुद्ध भए। बाहिर रहेका यादव त्यहाँ आइपुगेपछि दुई पक्षबीच विवाद भयो। प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा फार्मेसीका कामदार र यादवसमेतले ड्युटीमा रहेका महानगर प्रहरीलाई धकेलेर सडकमा लडाइदिए। त्यसको केहीबेरमा महानगर प्रहरीको एउटा टोली आएर फार्मेसीभित्रबाटै यादवलाई बाहिर निकाल्यो। 

घटनाको भिडियो पनि सार्वजनिक भएको छ। महानगर प्रहरीले कठालो समाउँदै लछारपछार पारेर यादवलाई फार्मेसीबाट बाहिर निकालेको भिडियोमा देख्न सकिन्छ। महानगर प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा पुर्‍यायो। त्यहाँ मेयर नागेश कोइराला पनि पुगे। वडा प्रहरी कार्यालयभित्र यादवका छोरा आशिषले मेयर कोइरालाकै अगाडि महानगर प्रहरीलाई थप्पड हानिदिए। आक्रोसित हुँदै थप्पड हानेको सीसी टिभी फुटेजमा देख्न सकिन्छ। त्यसपछि मिलेर जानुको विकल्प नभएको भन्दै मेयर कोइराला र जसपा नेता यादवबीच घटनालाई बढाइचढाइ नगर्ने सहमति भयो। 

दुवै पक्षबीच वडा प्रहरी कार्यालयमा भएको मिलापत्रमा महानगर प्रहरीका इन्सपेक्टर राजन पौडेल र यादवले हस्ताक्षर गरेका छन्। घटनाका बेला भएका कमजोरीप्रति एकअर्काले माफी मागे। महानगर प्रहरीका तर्फबाट मेयर कोइरालाले नै माफी मागेका थिए। यादवले पनि आफूबाट केही कमजोरी भएको स्वीकार गरे। 

तर, घटनासँग सम्बन्धित भिडियो एकाएक भोलिपल्ट बाहिरियो। अनि जसपाले घटनामा संलग्न महानगर प्रहरीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गर्‍यो। यादव र उनका छोराबाट भएको गल्तीको ढाकछोपमा जसपा उत्रिएको छ। महानगरअगाडि प्रदर्शन हुँदा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्‍यो। त्यस क्रममा मेयर कोइरालाको राजीनामा मागसमेत गरियो। 

प्रदर्शनस्थलमै आएर मेयर कोइरालाले वार्ताको आह्वान गरे। वार्तामा सहभागी जसपाका नेता कार्यकर्ताले घटनामा संलग्नलाई बर्खास्त गर्नुपर्ने अडान राखेका थिए। महानगर प्रहरीले त्यसको प्रतिकार गर्दै आफूहरू माथि दुर्व्यवहार गर्ने यादवलाई कारबाही गर्नुपर्ने अडान राखेपछि वार्तामा चर्काचर्की भएको थियो। स्रोतका अनुसार मेयर कोइराला पनि गल्ती गर्ने महानगर प्रहरीलाई विभागीय कारबाही गर्नुपर्ने र जागिरबाट बर्खास्त गर्न नहुने पक्षमा छन्। वार्ता निष्कर्षमा पुग्न नसकेपछि आइतबार पुनः बस्ने सहमति भयो। 

यादव भने ‘लक’ नखोलिदिएको गुनासो सफारी चालकले आफूसँग गरेपछि महानगर प्रहरीलाई आफूले आग्रह गर्दा विवाद भएको बताउँछन्। त्यस क्रममा महानगर प्रहरीसँग धकेलाधकेल भएको उनले बताए। महानगर प्रहरीले धकेलेपछि आफूले पनि धकेलिदिएको र त्यसपछि टोली नै आएर दुर्व्यवहार गर्दै आफूलाई वडा प्रहरी कार्यालयमा लगेको उनको भनाइ छ। 

यादवले महानगर प्रहरीको शैली सुधार्न आवश्यक रहेको समेत बताए। ‘भोलि अरुसँग पनि यस्तै व्यवहार होला। महानगर प्रहरीले यस्तै गर्ने हो त ?,’ उनी भन्छन्, ‘नगर प्रहरीले मान्छे नियन्त्रणमा लिन मिल्छ ? सार्वजनिकस्थलमा दुर्व्यवहार भएको छ।’ घटना मिलिसकेको भएपनि एकाएक भिडियो सार्वजनिक भएपछि चित्त नबुझेको र आन्दोलनका लागि पार्टीले समेत दबाब दिएको यादव बताउँछन्। 

विराटनगर महानगरका मेयर कोइरालाले समस्या समाधानका लागि पहल भइरहेको बताए। ‘विवाद मिलाउन महानगर र जसपाबीच वार्ता भइरहेको छ,’ उनले भने, ‘थप समस्या आउन नदिन दुवै पक्ष सचेत छौं।’ कसको कमजोरीले घटना भयोभन्ने कुरा अहिले भन्नसक्ने अवस्था नरहेको कोइराला बताउँछन्। 

तर,  घटनालाई राजनीतिकरण गरेर चर्काउने पक्षमा जसपा छ। ‘गल्ती गर्ने महानगर प्रहरीलाई कारबाही गर्ने बाटो खुला थियो। तर, प्रहरी कार्यालय पुगेर मिलापत्र गर्ने, अनि बाहिर निस्किएर आन्दोलन चर्काउने तरिका ठीक हैन,’ महानगर स्रोतले भन्यो, ‘आफू आवद्ध दलको साथ लिँदै घटनालाई राजनीतिक रंग दिएर विवाद थप बढाउने काम हुँदैछ। यादवको र उनका छोराको गल्ती लुकाउन सबै दोष महानगर प्रहरीमाथि थोपर्ने काम भइरहेको छ।’

गल्ती ढाकछोप गर्न दल र सडकको सहारा लिने परिपाटी नै गलत भएको महानगरका एक कर्मचारी बताउँछन्। उनका अनुसार महानगर प्रहरीले पनि आफ्नो क्षेत्राधिकार मिचेको छ। ‘कसैले गल्ती गरेमा पक्राउ गर्ने अधिकार महानगर प्रहरीलाई हुँदैन। नेपाल प्रहरीले पक्राउ गर्ने हो,’ उनले भने, ‘यादवलाई वडा प्रहरी कार्यालयसम्म महानगर प्रहरीले नै लगेको रहेछ। त्यसरी नियन्त्रणमा लिनु कानुनविपरीत हो।’ एउटा नागरिकलाई दुर्व्यवहार र पक्राउ गरेर महानगर प्रहरीले गल्ती गरेको उनले बताए।  

एक महानगर प्रहरी भने आत्मरक्षाको अधिकार सबैलाई हुने बताउँछन्। ‘गल्ती गर्नेलाई प्रहरीमा बुझाउनु अपराध हैन। त्यहाँमाथि ड्युटीमा भएका बेला दुर्व्यवहार भोग्नु परेको छ,’ उनले भने, ‘प्रहरीमा बुझाएर आत्मरक्षाको बाटो अपनाइएको हो। त्यत्तिकै छाडिदिएको भए अरु थप घटना हुन सक्थ्यो।’ उनले सडकमा दुर्व्यवहार भोगेको र प्रहरी कार्यालयभित्र पनि मेयरकै अगाडि कुटाइ खानु परेको गुनासो गरे।

विराटनगरका स्थानीय चन्द्रशेखर शर्मा दुवै पक्षले विवेक प्रयोग नगर्दा घटना भएको बताउँछन्। ‘यसमा दुवै पक्षको गल्ती छ। उनीहरु कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘एउटाले अर्कोलाई दोष देखाएर उम्कने प्रयास गरेको पाइयो। बदमासी लुकाउन दल र सडकको सहारा लिनु गैरराजनीतिक हो।’ जोसुकै भए पनि सार्वजनिकस्थलमा दुर्व्यवहार हुनु गलत भएको शर्माले बताए। सार्वजनिकस्थलमा दुर्व्यवहार र हातपात भएको विषयमा दुवै पक्षले आत्मआलोचना गरेर मिलापत्र भइसकेपछि घटनालाई बाहिर ल्याएर हुलहुज्जत गर्न खोज्नु तथा कामका सिलसिलामा महानगर प्रहरीले आफ्नो भूमिका बिर्सिनु दुःखद् भएको उनको भनाइ छ। 

नगर प्रहरी सुरक्षित छैनन् : यादव 

घटनाका सम्बन्धमा एकअर्काले कानुनी उपचार खोज्ने बाटो खुला छ। तर, त्यसतर्फ ध्यान दिइएको छैन। जसपाका केन्द्रीय सदस्य एवं प्रदेशका पूर्वमन्त्री जयराम यादव महानगर प्रहरीले गुण्डागर्दी शैली अपनाएको आरोप लगाउँछन्। ‘दुर्व्यवहारको घटनाले जसपाका नेता कार्यकर्ताको मानमर्दन भयो,’ उनले भने, ‘व्यवसायको मात्रै कुरा भएन, उहाँ (राजकुमार यादव) त जसपाको नेता पनि हो।’ 

कसैको कठालो समातेर अपमानित गर्दै नियन्त्रणमा लिने अधिकार महानगर प्रहरीलाई नभएको पूर्वमन्त्री यादवको भनाइ छ। ‘गल्ती गर्नेलाई नेपाल प्रहरीले पक्राउ गर्ने हो। यहाँ महानगर प्रहरीले नियन्त्रणमा लियो। यो सानोतिनो घटना हैन,’ अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘महानगर प्रहरीको गुण्डागर्दीविरुद्ध आन्दोलित छौं। कारबाहीका लागि दबाब दिइरहेका छौं। समस्या समाधानका लागि वार्ता पनि भइरहेको छ।’

यादवले आफूहरुको मागको सुनुवाइ नभए महानगर प्रहरी सुरक्षित नहुने चेतावनीसमेत दिए। महानगर प्रहरी सुरक्षित नभएको र कसैले केही गर्‍यो भने त्यो आरोप जसपालाई लगाउन नमिल्ने उनको जिकिर छ। ‘घटनालाई महानगरले गम्भीरपूर्वक लिनुपर्छ। धेरैमा आक्रोस छ। महानगर प्रहरी सुरक्षित छैनन्। राजनीतिकर्मी भएपछि सबैका समस्याको सुनुवाइ गर्नुपर्ने हुँदा सफारी चालकको गुनासो सुनेर महानगर प्रहरीलाई आग्रह गर्नु उहाँको गल्ती हैन,’ उनले भने , ‘चिनेजानेकै मान्छे भएकाले छाड्न आग्रह गर्नु भएको हो। महानगर प्रहरीले चैं औषधि पसलभित्र पसेर गुण्डागर्दी शैली अपनाउँदै अपमानजनक ढंगबाट नियन्त्रणमा लिने काम गर्‍यो। घटनामा संलग्नलाई बर्खास्त गर्नुपर्छ।’ 

गरिखाने मान्छेहरु नगर प्रहरीसँग आजित भएको र त्यस्ता गुनासा धेरै आएको दाबी उनको छ। ‘जोबाट राहत पाउनुपर्ने, उनीहरुबाट नै जनता पीडित भएका रहेछन्,’ उनले भने, ‘महानगर प्रहरीको व्यवहार ठीक भएन।’ कानुनी कारबाहीका लागि जाने बाटो खुला हुँदाहुँदै आफ्ना नेताको गल्ती लुकाउनलाई आन्दोलन गर्नु भएको हो भनेर सोधिएको प्रश्नमा भने यादवले स्पष्ट जवाफ दिन सकेनन्। तर, महानगर प्रहरीले जिम्मेवारीविपरीत अमानवीय हर्कत गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.