परदेशमा तीजको रौनक
परदेशको व्यस्त जीवनशैलीमा एकैछिन् भए पनि साथीभाइ भेट्ने, रमाइलो गर्ने र दुःख सुख बाँड्ने माध्यम बनेको छ, तीज। होला, तीज मनाउने शैली फेरिएको छ। तर, स्वदेशमा मात्र होइन, परदेशमा पनि तीजको रौनक झनै बढ्दो छ।
सुखद् जीवन र सुरक्षित भविष्यको खोजीमा हरेकदिन देश छोड्नेको लर्को छ। तर, बिरानो देशमा पुग्दैमा आफ्ना चाडबाड, रीतिरिवाज र संस्कृति कहाँ बिर्सन मिल्छ र ? त्यसैले परदेशमा रहेका नेपाली महिलाहरूलाई यतिबेला तीजले बिछट्टै छोएको छ। चाहे छिमेकी भारतमा रहेका महिला हुन कि, सात समुद्रपारि अमेरिकामा रहेका नै हुन्। अर्थात्, अफ्रिकामा रहेका नेपाली महिला हुन कि, युरोपका विभिन्न देशमा विभिन्न पेसा र व्यवसायमा व्यस्त नेपाली महिला हुन्, सबै तीजमा रमेका छन्।
परदेशको व्यस्त जीवनशैलीमा एकैछिन् भए पनि साथीभाइ भेट्ने, रमाइलो गर्ने र दुःख सुख बाँड्ने माध्यम बनेको छ, तीज। होला, तीज मनाउने शैली फेरिएको छ। तर, स्वदेशमा मात्र होइन, परदेशमा पनि तीजको रौनक झनै बढ्दो छ। विदेशमा रहेका नेपालीले के कसरी तीज मनाइरहेका छन् त ? अन्नपूर्णको विशेष प्रस्तुति :
अमेरिकामा माइतीको सम्झना
देशको माया विदेशमा बढ्ता हुन्छ भने झै चाड पर्वको पनि विदेशमा बढ्ता चाख हुन्छ नै। यस्तै भावका साथ अमेरिकामा रहेका नेपाली महिलाहरूले हरितालिका तीज भव्य रूपमा मनाइरहेका छन्।
विभिन्न संघ–संस्थाले आयोजना गरेका कार्यक्रममा भेला भएर होस् या समूह–समूहमा जम्मा भएर यहाँ रहेका महिलाहरूले हरितालिका तीज भव्य रूपमा मनाए। तीजको मौका छोपेर अमेरिकामा रहेका नेपाली दिदीबहिनीहरूले विदेशमा भोग्नु परेका पीडा, माइती देशको माया, माइत जान नपाउँदाको गुनासो गीतका माध्यमबाट व्यक्त गरे। मौलिक गीतमा नाच गान गरे। विवाहित महिलाहरू रातो सारीमा र अविवाहितहरू रातो कुर्तामा सजिएर कार्यक्रममा सहभागी जनाएका थिए।
गैरआवासीय नेपाली संघ न्युयोर्क च्याप्टर अमेरिकाले तीज विशेष कार्यक्रम गर्यो। जसमा महिलाहरू छमछमी नाचेर रमाइलो गरेका थिए। यस्तै, बलेवा समाज अमेरिका, बागलुङ समाज, नारी एकता, हामी नेपाली, पर्वत समाजलगायतका संघ–संस्थासँग मिलेर न्युयोर्कमा भव्य कार्यक्रम गरे। न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले आफ्नो भाषा, संस्कृतिलाई संरक्षण गर्दै चाड पर्वहरू विदेशमा मनाइने जानकारी दिँदै भने, हामीले हाम्रा दिदीबहिनीहरूलाई माइत गए जस्तै होस् भनेर तीज विशेष कार्यक्रम गरेका हौं।’
हाल अमेरिकाको ओक्लोहामा राज्यमा बसोबास गर्दै आएकी सबिता ढकालले तीजमा नेपाल जान नपाए पनि नजिकै रहेका दिदीबहिनीहरू जम्मा भएर रमाइलो गरेको बताइन्। सविताका लागि यसपटक भने आमा अमेरिकामै भएकाले माइती जान नपाउँदाको त्यत्ति गुनासो भएन्, तर ढकालसँगै जम्मा भएका अन्य दिदीबहिनीहरूले भने तीजमा माइत जान नपाउँदाको पीडा गीतमार्फत व्यक्त गरे।
हङकङमा तीज धमाका
तीज भड्किलो भयो भन्ने आवाज नसुनिने हैनन्, तर हङकङमा धुमधामसाथ तीज मनाउने गरिन्छ। नेपालबाट कलाकारलाई बोलाएर विभिन्न संघ–संस्थाले दर खानेलगायत कार्यक्रम गर्ने गरेका छन्। हालै हङकङ क्षेत्री समाजको आयोजनामा तीज धमाका कार्यक्रम भयो।
गायकद्वय श्रीकृष्ण बम मल्ल, सुमन थापा मगर र हास्यकलाकार सुमन कार्कीले भरपुर मनोरञ्जन दिए। एकता, सहअस्तित्व र भ्रातृत्वको लागि भन्दै लान्ताउ नेपाली समाज हङकङले पनि तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो। ‘लक्की ड्र’, डिजेका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूका साथ, स्याङ्जा जनसेवा समिति हङकङले पनि तीज धमाका साँझ सम्पन्न गरेको छ। गोर्खा समाज हङकङले पनि लोकदोहोरी गायिकाद्वय रेजिना परियार र सविना थापाको साथमा गोर्खाली तीज पर्व कार्यक्रम सम्पन्न गर्यो।
घान्द्रुक सेलुन हङकङ, रमाइलो ग्रुप हङकङले पनि छुट्टाछुट्टै ठाउँमा तीज विशेष कार्यक्रमको आयोजना गरे। एनआरएनए हङकङ, महिला फोरम तथा नेपाली महिला संघले संयुक्त रूपमा तीज उत्सव कार्यक्रमको आयोजना गरेका थिए। इन्डिया क्लब हङकङमा आयोजित कार्यक्रममा स्थानीय प्रतिभाहरूको प्रस्तुति गरिएको थियो। योसँगै अन्य दर्जन बढी संघ–संस्थाहरूले तीज विशेष कार्यक्रमको तालिका सार्वजनिक गरेका छन्। महिलाहरूका लागि नै भनेर कार्यक्रम आयोजना गर्नुपरेकाले पनि यसलाई विशेष अर्थमा हेरिएको आयोजकहरूको तर्क छ। अन्य समयमा परिवारको खुसीका लागि रातदिन मेहनतमा तल्लीन महिलाहरू एकदिन भए पनि तीजमा रमाइलो गरेको हामी देख्न चाहन्छौं उनीहरू भन्छन्।
विदेशमा अझ नेपाली परम्परा, संस्कार र संस्कृतिको विशेष अर्थ र महत्व हुन्छ। वर्षमा एकदिन आउने चाडमा सारीचोली, सिन्दूर, चुरामा सजिएर हिँड्न पाउनु, वर्षै भेट नभएका दिदीबहिनीहरूसँग छमछमी नाँच्न पाउनुले पनि देशप्रेम र घरगाउँमा तृष्णा मेट्निे गरेको परदेशमा रहेका नेपाली दिदीबहिनीहरू बताउँछन्। डिस्को र वाइनमा रमाउने तीजमा मौलिकता भेटिन्छ त ? भन्ने प्रश्नमा दिदीबहिनीहरूको उन्मुक्त हाँसोसँगै जवाफ आउँछ, मौलिकता आफ्नै देशमा खोज्ने हो, विदेशी भूमिमा हाम्रो पर्वलाई हाम्रै शैलीमा मनाएका छौ, विर्सिएका छैनौं, भलै मनाउँने शैली आधुनिक भयो होला, तर यसको मर्म र सभ्यतालाई मर्न दिएका छैनौं।’
तीज आउनुभन्दा करिब महिना अघिबाट सुरु भएका कार्यक्रमको लर्को तीजपछि पनि चल्ने छन्।
बेलायतको तीजमा आधुनिक शैली
एक महिना अघिदेखि नै बेलायतमा तीजको दर खाने र नाचगानलगायतका कार्यक्रम सुरु भएका हुन्। तीजको पूर्वसन्ध्या त यस्ता कार्यक्रम निकै बाक्लिएका छन्। तीजको उल्लासले बेलायतवासी नेपाली नारीलाई छपक्कै छोपेको छ। बेलायतका घरघरमा दिदीबहिनी बोलाएर दर खुवाउने र नाचगान गर्ने ट्रेन्ड निकै चलेको छ। त्यस्तै, विभिन्न समूह र संस्थाको आयोजनामा सामूहिक जमघटमै दर तथा नाचगानका थुप्रै कार्यक्रमसमेत हुने गरेका छन्।
लन्डनस्थित नेपाली दूतावासमा बर्सेनि हुँदै आएको तीज कार्यक्रमले यसपटक भने निरन्तरता पाएन। तर, अरू संस्था र समूहले गर्ने तीजको दर र नाचगान कार्यक्रममा भने कुनै कमी देखिएन। दर्जनौंको संख्यामा ठूला संस्थादेखि विभिन्न जातीय, क्षेत्रीय संस्था र समुदायले समेत तीजका कार्यक्रम आयोजना गरे।
बेलायतमा हुने जमघटहरूमा मौलिक तीजका भाका गाउने र नाच्ने चलन शून्यप्रायः छ। नेपालबाट आएका कलाकारका प्रस्तुति र रेकर्डेड गीतहरूमा डिजे डान्स गरेरै आधुनिक शैलीमा तीज मनाउने गरिएको छ। तीजकै दिनमा पनि यहाँस्थित नेपाली महिलाहरू सामूहिक पूजाआजा र नाचगानमा रमाउने गरेका छन्। साउथ इस्ट लन्डन, लन्डन साउथहल, अल्डरसटलगायत धेरै नेपाली रहेका थुप्रै क्षेत्रमा स्थानीय मन्दिरहरूमा भेला भएर तीजको पूजा र नाचगान गर्ने गरिन्छ।
कोरियामा पनि उस्तै रौनक
दक्षिण कोरियामा पनि हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज यहाँ रहेका नेपाली महिलाहरूले भव्यताका साथ मनाइरहेका छन्। दक्षिण कोरियामा रहेका विभिन्न नेपाली संघ–संस्थाहरूले नेपाली परम्परा तथा कला संस्कृति सम्बर्दन गर्न भन्दै विभिन्न स्थानहरूमा तीज कार्यक्रम आयोजना गरेका हुन्।
दक्षिण कोरियामा रहेका नेपाली महिलाहरूको साझा संस्थाका रूपमा परिचित वोमन फर वोमनले राजधानी सोलनजिकै ‘नेपाली टाउन’ को रूपमा परिचित दोंगदेमुनमा तीज कार्यक्रमको आयोजना गरेको थियो। त्यस्तै दक्षिण कोरियाले बहुसांस्कृतिक सहर आन्सानमा तीज कार्यक्रमको आयोजना गरेको थियो।
राजधानी सोलबाट २ घण्टाको दूरीमा रहेको सोक्छोको साराक एभरेस्ट रेस्टुरेण्टले पनि ‘दिदीबहिनीहरूलाई दर खुवाउने’ कार्यक्रमको आयोजना गरेको थियो। दक्षिण कोरियाको बुसान, देगु, सुवन, फेन्थेकलगायतका स्थानहरूमा तीजका भव्य कार्यक्रम आयोजना गरिएका थिए।
जापानमा गाउँकै झल्को
विभिन्न पेसा, व्यवसाय र विद्यार्थी गरी जापानमा झन्डै १ लाख ५० हजार जति नेपाली बसोबास गर्छन्। नेपालीको संख्या बढेसँगै नेपाली रीतिरिवाज अनुसारका चाडपर्व मनाउने प्रचलन पनि बढ्दै गएको छ। यो वर्ष पनि जापानका विभिन्न सहरमा नेपाली चेलीबेटीहरूलाई दर खुवाउने र नाचगान गर्ने कार्यक्रम भव्यरूपमा मनाइएका थिए। गाउँघरकै झल्को दिने गरी रातो सारी, पोते र टीकामा सजिएर नेपाली दिदीबहिनीले छमछमी नाचेर रमाइलो गर्ने गरेका छन्।
घर, समाज, भाषा र संस्कृति छोडेर सात समुद्र पारिको देश जापान आएर पनि नेपालकै याद दिने गरी तीज मनाउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेको बताउँछिन्– झापा घर भएकी सुष्मा सिवाकोटी खतिवडा। तीजका कार्यक्रम गर्नेमा स्याङ्जा समाज, जापान बागलुङ समाज, गलकोट समाज, ओकायामा नेपाली कम्युनिटी, ओकायामा, बिहुँकोट समाज, धादिङ समाज जापान मुख्य देखिन्छन्।
यहाँका अरू धेरै सामाजिक संघ–संस्थाले पनि यस्ता कार्यक्रम गरिरहेका छन्। नेपाली संस्कृतिलाई जापानीहरूबीच चिनाउन पनि यस्ता कार्यक्रमबाट मद्दत पुग्ने गरेको बागलुङ समाज जापानका अध्यक्ष याम कँडेल बताउँछन्। स्थानीय र नेपालबाट पनि कलाकारहरू बोलाएर जापानमा तीजसम्बन्धी कार्यक्रम भव्य रूपमा मनाउने चलन पहिलेदेखि नै छ। यहाँबाट संकलन भएको रकमले नेपालमा सामाजिक काम एवम् परोपकारी काम गर्ने स्याङ्जा समाज जापान नागोयाका अध्यक्ष मित्र सिग्देल बताउँछन्।
दुबईमा रातो चोली, रातै सारी
आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई) मा सार्वजनिक छुट्टी हुन्छ। यूएईको दोस्रो ठूलो सहर दुबई आइतबार रातो सारी र चोली लगाएका महिलाहरूले ढपक्कै ढाकेको थियो। यस्तो लाग्थ्यो कि, नेपालकै कुनै ठूलो सहरमा तीजको रमझम चलिरहेको छ।
दुबईका ठूला साना होटलहरू नेपालीहरूका तीज कार्यक्रमले भरीपूर्ण छन्। आइतबारमात्रै दुबईमा कम्तीमा १० वटा कार्यक्रम आयोजना भए। गत तीन हप्तामा दुई दर्जन कार्यक्रम आयोजना गरिए। छुट्टीका दिनहरूमा नेपाली महिलाहरू दुबईका सडकभर रातो सारी चोलो र कुर्ता सलवार लगाएर हिँडेका देखिन्थे।
नेपालीको संख्या बढेसँगै तीज मनाउनका लागि दुबईको मुख्य सहर बरदुबै जाने सबै महिलाहरूको दैनिकी बनेको छ अहिले। सातापिच्छे नेपालबाट कलाकार आएर कार्यक्रम आयोजना गरिएपछि नाचगान गर्न कसलाई मन लाग्दैन र ? त्यसमा पनि महिलाहरूको आफ्नै पर्व। तीजको दर खाएर आइतबार रातिसम्म पनि दुबईका सडकमा नेपाली महिलाहरूले नाचगान गरेका छन्।
स्याङ्जा समाज यूएईले चर्चित लोक गायक बद्री पंगेनी, मन्जु बिक र खुमन अधिकारीलाई दुबई बोलाएर दुबईको काल्टन होटलमा भव्य तीज सांगीतिक कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा करिब ५ सय नेपाली दिदीबहिनीहरूको उपस्थिति थियो। रुपन्देही सेवा समाजले बरदुबईकै अर्को होटलमा लोकगाइका शिलु भट्टराई र मन्जु पौडेललाई नेपालबाट बोलाएर कार्यक्रम सम्पन्न गरेको छ। सिन्धुपाल्चोक समाजले हब्रा ब्ल्यु प्यालेसमा तीज कार्यक्रम आयोजना गर्यो। नवलपुर सेवा समाज, सैनामैना सेवा समाज, तनहुँ सेवा समाज, झापाली समाज, पाल्पाली समाजलगायतले पनि नेपाली महिलाहरूलाई दर खुवाएर र सांगीतिक कार्यक्रमको आयोजना गरी तीज मनाए। दुबईमा तीज मनाउन पाउँदा आफूहरूलाई खुसी लागेको पाल्पा समाज यूएईकी ओमकुमारी खाँडले बताइन्।
पाल्पाली समाजले गत हप्ता दुबईको क्रुज जहाजमा ४ सय महिला दिदीबहिनीहरूलाई दर खुवाएको थियो। राजनीतिक दलका भ्रातृसंगठन, एनआरएनए, नेपाली समाज, जातीय र जिल्लागत गरेर यूएईमा झन्डै सयवटा नेपाली संघ–संस्थाहरू सक्रिय छन्। प्रायः जिल्लागत संस्थाहरूले नेपाली चाडपर्वमा यस्ता कार्यक्रमहरू आयोजना गर्छन्। नेपाली कलाकारहरूलाई नेपालबाट बोलाएर कार्यक्रम आयोजना गर्ने गरेका छन्। नेपालका अधिकांश नाम चलेका कलाकारहरूको पहिलो विदेश यात्रा दुबई नै हुने गरेको छ।
यूएईमा ३ लाखभन्दा बढी नेपालीहरू कार्यरत छन्। तीमध्ये एक लाखभन्दा बढी नेपालीहरू दुबई राज्यमा कार्यरत छन्। पछिल्ला दिनहरूमा महिला कामदारहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सुपरमार्केट, ठूला सपिङ मलहरू, होटल, क्लिनिङ कम्पनी र सेक्युरिटी कम्पनीमा महिलाहरू धेरै आउने गरेका छन्। केही महिलाहरू कार्यालयका उपल्लो पदहरूमा समेत कार्यरत छन्। झन्डै १० हजार नेपालीहरू परिवारसहित यूएईमा बसोबास गर्छन् भने र घरेलु कामदारसहित यूएईमा मात्र करिब १ लाख महिला कार्यरत रहेको अनुमान छ।
सेलरोटी खाँदै खाडीमा मनाइयो तीज
वैदेशिक रोजगारीका क्रममा खाडीमुलुकमा रहेका नेपालीले पनि भव्यरूपमा तीज मनाइरहेका छन्। खाडीमुलुकमा सक्रिय बिभिन्न संघ–संस्था र भ्रातृसंगठनले तीजका अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका थिए।
साउदीमा रहेका पारिवारिक समाज, दिदीबहिनी समूह, एनआरएन आरसीसी समूह, नृत्य समूह साउदी, एनआरएन समानन्तर कमिटी तथा भ्रातृसंगठन नेपाली जनसम्पर्क समिति साउदीले दर खाने कार्यक्रम राखेका थिए। सेलरोटी तथा विभिन्न परिकारहरू बनाएर महिलाहरूलाई दर खुवाइएको थियो। त्यस क्रममा एक आपसमा शुभकामना आदानप्रदान गर्दै तीजका गीतमा नाचगान चलेको थियो।
कुबेतमा रहेको सेल्फी संघ र नेपाल कुवेत सांस्कृतिक मञ्चले कलाकार मन्जु पौडेलको उपस्थितिमा तीज कार्यक्रम गरेका थिए। कतारमा रहेको नेपाली महिला समाजलगायत ५७ वटा संस्थाहरूले संयुक्त रूपमा हरितालिका तीज मनाएका थिए। गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोरले समेत तीज गीतमा स्थानीय कलाकारलाई सहभागी गराएर कार्यक्रम गरेको थियो। त्यस क्रममा नेपाली दिदीबहिनीले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए।
नेपाली महिला समाज कुर्दितान इराकले पनि तीज विशेष कार्यक्रम गरेको थियो। नेपाली महिला समूह ओमनले समेत तीज विशेष भव्य कार्यक्रम सम्पन्न गरेको छ। भारतमा रहेका अखिल भारत नेपाली एकता मन्च, भुल एकता समाज भारत, भारत सुपादेउरली टुर्स एन्ड ट्राभल्स, सुदूरपश्चिमेली नेपाली समाज भारत तेलंगानाले समेत तीजको कार्यक्रम थिए। आफ्ना संस्कृति एवं रीतिरिवाजलाई जोगाउन र परदेशमा रहेका भावि पुस्तालाई पनि यसबारे जानकारी गराउन कार्यक्रम आयोजना गरेको आयोजकहरूले बताएका छन्।
- अनिल अधिकारी/अमेरिका, अनोज रोक्का/हङकङ, ध्रुवराज अर्याल/बेलायत, अशोक मैनाली/कोरिया, रामबहादुर थापा/जापान, मेघराज सापकोटा/दुबई, विष्णु घिमिरे/साउदी
तस्बिरहरू : प्रविन निरौला/अष्ट्रेलिया, अनोज रोक्का/हङकङ, साउदी/विष्णु घिमिरे, एज्रा श्रेष्ठ/यूके, अर्जुन प्रधान/अमेरिका, लालसिंह खड्का/कम्बोडिया, रामबहादुर थापा/जापान, अशोक मैनाली/कोरिया, मेघराज सापकोटा/दुबई