खोक्रो अर्थतन्त्र
गएको साउनमा १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो । २०७९ भदौयता यो नै सबैभन्दा धेरै परिमाण हो । यसैलाई सुखद समाचार जसरी सत्ताले प्रचार गरिरहेको छ । दुःखी नै नभए पनि उत्पातै खुसी हुनुपर्ने र आनन्दको सास फेर्नुपर्ने होइन । यसै पनि रेमिट्यान्स भनेको अर्थतन्त्रको भरपर्दाे आधार होइन, यो त केवल टेको हो । प्रस्ट के हुनुपर्छ भने मूलखम्बा धर्मराउँदा टेको लगाइन्छ । टेकोले मूलखम्बाको काम गर्दैन । नेपालकी अर्थतन्त्रको मूलखम्बा त कृषि हो । अनि सत्ताले गाउने अर्काे गीत भनेको विदेशी मुद्रा सञ्चितिको पनि छ । १५ खर्ब ७३ अर्बको विदेशी मुद्रा सञ्चिति छ, १२ महिनाको आयात धान्छ । सरकारले आयातमा कसिकसाउ गर्ने र यही बेला रेमिट्यान्स वृद्धि भइदिनाको परिणाम हो विदेशी मुद्रा भण्डार बलियो हुनुको । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने पैसा धेरै भएर शोधनान्तर स्थिति पनि बचतमा छ भन्दै सरकार मक्ख पर्ने कुरा पनि सुनाउँछ । सरकारी तथ्यांकमा खोट छैन । खोट त सरकारमा बस्नेहरूले भन्ने कुरामा छ । यिनै तथ्यका आधारमा जसरी सरकार अर्थतन्त्र बलियो बनेको दाबी गर्छ नि त्यो चाहिँ सत्य होइन । यहीं नै त छ तथ्य र सत्यको फरक ।
बृहत्तर अर्थतन्त्रका सूचक सुखद भए पनि सूक्ष्म अर्थतन्त्र शिथिल छ । बजार सुस्ताएको छ । आमनागरिक महँगीको मारमा छन् । किनमेल गर्ने क्षमता गुमाएका छन् । त्यसैले न उत्पादन बढ्न पाएको छ, न कारोबार । जनतालाई भातभान्छाकै सुर्ता पर्न थालिसक्यो । उद्योगधन्दा, कलकारखाना खुल्ने गुञ्जायस छैन । बैंकमा लगानीयोग्य पुँजी छ, लिने कोही छैन । सरकार आफैंले पुँजीगत खर्च गर्न सकेको छैन । पहिलो त्रैमासमा कम्तीमा २५ प्रतिशत खर्च गर्ने हो भने त लक्ष्यअनुसार खर्च हुन्थ्यो । दुई महिनाको खर्च ३ प्रतिशत छ । आम्दानी पनि सुखद छैन सरकारको । वर्षभर १४ खर्ब ७२ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ, तर अहिलेसम्म उठेको भनेको १ खर्ब ५४ अर्बमात्रै हो । निजी क्षेत्र निराश छ । अर्थतन्त्रलाई चलायमान गराउन सक्ने मानिएका घरजग्गा र सेयर कारोबार मुर्झाएका छन् । यी सबै तथ्यको निष्कर्ष के हो भने अर्थतन्त्रका बाह्य सूचक सबल हुँदाहुँदै सूक्ष्म अर्थतन्त्र बिरामी परेको हुँदा मुलुकको अवस्था खोक्रो छ । पहिलो त सरकारले पुँजीगत गर्नमा जोड दिएर बजारमा पुँजी पम्प गर्न सक्नुपर्छ । व्यवसायी र उद्यमीको मनोबल उकास्ने वातावरण तयार गर्नुपर्छ । सूक्ष्म अर्थतन्त्रको हेक्का नराखी बाह्य सूचकमा रमाइयो भने दुर्घटना निम्तिन्न सक्छ ।