कोदो र धानमा रोगको प्रकोप
बागलुङ : बागलुङका ग्रामीण क्षेत्रमा लगाइएका कोदो र धानमा रोग र किराको प्रकोपले बाली नष्ट भएको छ। धान र कोदोमा जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या देखिएका छन्।
बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोग किरा लागेको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए। ‘समस्या आएपछि हामीले ११ वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेका छौं,’ सापकोटाले भने, ‘तत्काल उपचारका लागि विषादी र औषधि माग गरिएको छ।’ उनका अनुसार कोदो बालीमा खुम्रे किरा, गवारो र ढुसीजन्य रोग देखिएको हो।
त्यस्तै धानबालीमा पनि यो समस्या देखिएको हो। धानमा ती रोगबाहेक सिथ ब्लास्ट, ब्लास्ट, रुट नटजस्ता समस्या पनि देखिएका छन्।
नगरपालिकाले किसानका लागि किङ स्टार, हेक्जाक्लोनोजोल, लेभिस्टिन र ट्राइसाइक्जोल विषादी वितरण गरेको सापकोटाले बताए। त्यस्तै स्टिकर र कार्टाप हाइड्रोक्लोराइड पनि किसानलाई पठाई सकिएको उनले जनाए।
कोदो बालीमा देखा परेको ढुसीजन्य रोग खैरो थोप्ले रोगको जीवाणु रहेको पत्ता लागेको बागलुङ नगरका कृषि प्राविधिक राहुल केसीले बताए। प्राविधिक केसीले भने, ‘बाली संरक्षण प्रयोगशाला पोखरामा परीक्षण गर्दा कोदोमा लागेको रोगमा खैरो थोप्ले रोगको जीवाणु फेला परेको हो।’
गण्डकी प्रदेश सरकारका कृषिमन्त्री महेन्द्रध्वज जीसीसमक्ष यो समस्या पुर्याइपछि तत्काल अनुसन्धान गर्न र आवश्यक औषधि पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।