३२ वर्षदेखि एउटै श्रेणीमा सत्यनारायण मण्डल, भन्छन् : शिक्षक आन्दोलनले पीडितलाई न्याय दिनेछ

३२ वर्षदेखि एउटै श्रेणीमा सत्यनारायण मण्डल, भन्छन् : शिक्षक आन्दोलनले पीडितलाई न्याय दिनेछ
तस्बिर : अन्नपूर्ण

जाजरकोट : जाजरकोटमा मण्डल सर भन्ने वित्तिकै जो कोहीले पनि असल र इमान्दार शिक्षकको रुपमा चिन्ने गर्छन् । उनी धेरैका गुरु हुन् । गणित, विज्ञान र ऐच्छिक गणितमा अब्बल दक्षता राख्ने मण्डल सर आदर्श शिक्षकको रुपमा स्थापित छन् । सप्तरी जिल्ला तिरहुत गाउँपालिका- ५ निवासी सत्यनारायण मण्डल त्रिभुवन मावि खलंगाका गणित-विज्ञान विषयका शिक्षक हुन् । २०४८ साल भदौ २ गते अस्थायी नियुक्ति लिएर यही विद्यालयबाट शिक्षण थालेका मण्डल सर अहिलेसम्म निरन्तर सेवामा छन् ।

 २०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाबाट २०६० साल मंसिर ७ गते स्थायी नियुक्ति लिएका मावि तृतिय श्रेणीका उनी अहिलेसम्म पनि सोही श्रेणीमा कार्यरत छन् । धेरैलाई शिक्षा दिए । आफ्ना विद्यार्थीलाई डाक्टर इन्जिनियर,प्रशासकलगायतका उच्च पदमा पुग्ने आधार बनाइदिए तर आफू भने मैन बत्तिजस्तै जलिरहे । 

जुन पद र श्रेणीमा उनले सुरु नियुक्ति लिएका थिए अहिले पनि उही पद र श्रेणीमै काम गर्न बाध्य छन् । काममा जुन उत्साह र जोस थियो त्यो विस्तारै निरासामा परिणत हुन थालेको छ । उर्जासिल समय सबै जाजरकोटमै बित्यो अब यहीबाट रिटायर्ड हुने हो,' उनले भने,‘म मेरो पेशाबाट सन्तुष्ट छु । धेरै विद्यार्थी र अभिभावकबाट गहिरो माया र श्रद्धा पाएको छु तर बढुवामा भने म निकै अन्यायमा परेँ ।’ 

आवधिक बढुवा प्रणालीको व्यवस्था नहुँदा उनीजस्तै धेरै शिक्षक लामो समय एउटै श्रेणीमा काम गर्न  बाध्य छन् । रिटायर्ड हुने बेलासम्म पनि सेवा प्रवेश गर्दाकै तह र श्रेणीबाट रिटायर्ड हुनुपर्ने बाध्यता योभन्दा अन्याय के होला ? त्यही भएर शिक्षक सडक आन्दोलनमा आउनु परेको उनको बुझाइ छ ।

उनले भारतको विहारस्थित जगदिश नन्दन कालेज मधुवनीबाट प्रथम श्रेणीमा बीएस्सी उर्त्तिण गरेका हुन् । पूर्वी तराईमा जन्मेर,त्यही शिक्षा दिक्षा लिएर हुर्केको मधेसी समुदायको मान्छे अति विकट दुर्गम जिल्ला जाजरकोटमा पहिलो पटक आउँदा छुट्टै संसारमा पुगेको अनुभूति लिएका थिए। 

सुर्खेतको बोटेचौरबाट पैदल हिँडेर जाजरकोट पुग्नु पथ्र्यो । करिब दुई दिन पैदल हिँडेर जाजरकोट खलंगा पुग्थे । 'त्यतिबेला धेरै दुःख थियो,' उनले भने –‘मैले ९ र १० कक्षामा अनिवार्य विज्ञान र ऐच्छिक गणित निरन्तर रुपमा अध्यापन गराइरहेको छु । त्यसका साथै केही वर्ष ११ र १२ कक्षा र क्याम्पसमा मेजर गणित,अर्थशास्त्रको गणित, विज्ञान शिक्षणलगायतका विषयको अध्यापन गराएँ । माध्यामिक र आधारभूत तहका विज्ञान र गणित विषयका दर्जनौं तालिम र प्रशिक्षक प्रशिक्षण तालिम लिएँ । धेरै शिक्षकलाई प्रशिक्षण पनि गराएँ । जिल्ला शिक्षा समितिबाट २०६२ सालमा उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत पनि भए ।’

यद्यपि,बढुवामा भने उनलाई ठूलै झड्का लाग्यो । जबकी उनी भन्दा ८ जना जुनियर शिक्षक द्वितीय श्रेणीमा बढुवा भए तर उनी तृतियबाट माथि उक्लन सकेनन् । २०६६ सालमा कार्यसम्पादन मुल्याकंनबाट हुने बढुवामा जम्मै स्रोत व्यक्तिहरू बढुवा भए । 

वषौंदेखि नपढाएर तत्कालिन जिल्ला शिक्षा कार्यालय वरिपरि घुम्ने स्रोत व्यक्ति बढुवा हुने तर वर्षौंदेखि फिल्डमा खटिने शिक्षक उपेक्षित भएपछि उनले तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयमा उजुरी समेत दिए । उजुरीमाथि छानबिन हुँदा आफूले पेश गरेको कासमु फायल नै गायब भएको उनको गुनासो छ ।

‘फायल गायब मात्र गरिएन जिल्ला शिक्षा कार्यालयको दर्ता रजिष्टर नै नक्कली बनाएर कासमु फारम नै नभरेको देखाइयो । 'जबकी कि मैले प्रत्येक वर्ष प्रधानाध्यापकसँग प्रमाणित गराएर कासमु पेश गरेको थिएँ । यो कुराले मलाई साह्रै तनाब दिन्छ,'उनले भने –‘अस्थायीसहित सेवा गर्न थालेको ३२ वर्ष पुगिसक्यो ।

'स्थायी भएकै २० वर्ष भइसक्यो मैले बढुवामा अवसर पाउन सकिन । जाजरकोटबाट धेरै सिक्ने र सिकाउने अवसर पाएँ । तर मेरो वृत्ति विकास हुन सकेन यही कुराले मात्र पिरोल्ने गर्छ । बढुवामा बदमासी भयो । निष्पक्ष भएन। चौथो तहमा नाम निकालेको मैले पढाएका विद्यार्थी अहिले सातौं,आठौं तहमा पुगि सके । छैठौं तहमा प्रवेश गरेको मान्छे १० औं तहमा पुगिसक्छ । हामी भने वर्षौं घोटिएर पनि उही पदमा काम गर्न बाध्य छौं,'उनले निराश हुँदै भने।

शिक्षा क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने हो भने शिक्षकलाई पनि अन्य सेवा र क्षेत्रसरह वृत्ति विकासको अवसर दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘त्यसकारण पनि यो आन्दोलन भएको हो । शिक्षक आन्दोलनले वर्षौंदेखि पिल्सिएका हामीजस्ता शिक्षकका लागि न्याय दिनेछ । शिक्षक पेशालाई मर्यादित  बनाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि पनि शिक्षकको मनोबल उच्च राख्नु आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.