सुन आयातको कोटा बढाइँदै, दैनिक २० किलो सुन आयात गर्न पाइने
![सुन आयातको कोटा बढाइँदै, दैनिक २० किलो सुन आयात गर्न पाइने](https://annapurnapost.prixacdn.net/media/albums/Gold_s_oPdcIW2jjn_g3tb2Sg8nd.jpg)
काठमाडौं : अहिले ढुकुटीमा विदेशी मुद्रा सञ्चिती बढेसँगै नेपाल राष्ट्र बैंकले दैनिक आयातित सुनको कोटा बढाउने भएको छ। यसअघिको सीमाअनुसार वाणिज्य बैंकहरूबाट दैनिक १० केजी सुन आयात हुँदै आएकोमा अब २० किलो सुन आयात गर्न पाउने भएका छन्।
सुन व्यवसायीहरूले पनि अब सोही अनुपातमा बैंकबाट खरिद गर्न पाउने भएका छन्। चाडपर्व, विवाह जस्ता सिजनमा माग अनुसार नपुगेको भन्दै सुन व्यवसायीहरूले पटक पटक कोटा बढाउन माग गरिरहेका थिए।
साथै अहिले बजारमा चाडपर्व तथा विवाह नजिकिँदै गर्दा सुनको माग बढ्दै गएकाले कोटा बढाउनु उपयुक्त रहेको नेपाल राष्ट्र बैंकका डेपूटी गभर्नर बमबहादुर मिश्रले बताए। उनका अनुसार सरकारले कोटा निर्धारणको निर्णय गरेर पठाएकाले अब केन्द्रीय बैंकले परिपत्र गरेर कार्यान्वयनमा लैजाने छ। डेपुटी गभर्नर मिश्रले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको एउटा कमिटीले सुनको कोटाको निर्णय गर्छ। उक्त समितिले अहिले दैनिक २० किलो सुन आयात गर्न दिने निर्णय गरेर केन्द्रीय बैंकमा पत्र आइसकेको छ। अब राष्ट्र बैंकले २–४ दिनमा सर्कुलर (परिपत्र) जारी गर्ने छ।’
यसअघि कोरोना महामारीपछि विश्व बजारमा समग्र महंगी बढ्दा मुलुकको अर्थतन्त्र केही शिथिल भयो। यस अवस्थामा सुनमार्फत धेरै विदेशी मुद्रा बाहिरिएको भन्दै सञ्चिती जोगाउन सरकारले सुनको कोटा आधाले घटाएर १० केजीमा झारेको थियो।
यसो हुँदा राष्ट्र बैंकले २०७८ फागुनमा परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा सीमित राखेको थियो। अहिले सुन आयातको कोटा बढाए पनि सञ्चितीमा दबाब पर्न थाल्यो भने फेरी कोटा घटाउन सक्ने डेपुटी गभर्नर मिश्रको भनाइ छ।
‘चाडपर्व आउँदैछ। विवाह, ब्रतबन्ध पनि नजिकिदै छ। यसैले गर्दा आम सर्वसाधारणबाट माग हुन्छ। उनीहरूलाई राहत होस् भनेर अहिले सञ्चिती पर्याप्त भएका कारण कोटा बढाइनु अहिलेको अवस्थामा उपयुक्त छ,’ उनले थपे।
सुनको आयात कोटा बढाउने निर्णयप्रति सुन व्यवसायीहरूले स्वागतयोग्य कदम ठानेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य अहिले सिजन आउने भएकाले दैनिक २० किलो सुन आयात हुँदा बजारमा आपूर्ति सहज हुने बताउँछन्। ‘अहिलेलाई यो कोटा ठीक छ। अहिले दैनिक १० देखि १५ किलो सुन खपत भइरहेको छ। अब सुनको माग बढि हुने सिजन भएकाले यो स्वागतयोग्य निर्णय हो,’ उनले अन्नपूर्णसँग भने।
पछिल्लो साता सुनको मूल्यमा सामान्य कमी, अमेरिकी डलरप्रतिको आकर्षण भने कायमै
अहिले अमेरिकी डलर मजबुत बन्दै गइरहेका कारण लगानीकर्ताहरू त्यसतर्फ आकर्षित भएकाले यो साता पनि विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ।
अमेरिकी रिजर्भ बैंक फेडले लिएको ब्याजदर २ प्रतिशतमा स्थिर राख्ने नीतिका कारण अमेरिकी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई त्यसको प्रभावले डलर मजवुत बनेकाले लगानीकर्ताहरू त्यसतर्फ आकर्षित हुँदा सुनको मूल्यमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुको छ।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अमेरिकी डलर मजबुत बन्दै जाँदा त्यसको प्रभाव स्वरूप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ। ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मूल्यमा सामान्य कमी आएको छ,’ उनले भने।
नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार २ सय ८० रुपैयाँ रहेको सुनको मूल्य साताको तेस्रो दिन मंगलबार साताकै सबैभन्दा बढी अर्थात प्रति १० ग्रामको ९६ हजार ८ सय ८० रुपैयाँ सम्म पुगेको थियो। त्यसपछि साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य ९६ हजार १ सय १० रुपैयाँमा झर्यो। जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ सय ७० रुपैयाँले कम हो भने साताकै उच्च मूल्य कायम भएको दिन मंगलबारको तुलनामा प्रति १० ग्राम ७ सय ७० रुपैयाँले कम हो।
पछिल्लो यो साता नेपाली बजारमा चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। साताको पहिलो दिन १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय २२ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)