कोसीटप्पु ‘गैंडा बस्न उपयुक्त’

कोसीटप्पु ‘गैंडा बस्न उपयुक्त’
कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएका पुष्पा र अञ्जली। मनोहर पोखरेल
सुन्नुहोस्

काठमाडौं : ‘पुष्पा’ र ‘अन्जली’ गैंडालाई कोसीटप्पुमा पर्यटन दिवसको अवसर पार्दै बुधबार स्वागत गर्न पुगेका वन तथा वातावरणमन्त्री डा. विरेन्द्रप्रसाद महतोले अब कोसीटप्पुमा पुनः वीरु नाम गरेको भाले गैंडा र बाघ पनि पठाउने घोषणा गरे। तर, गैंडाको विषयमा अध्ययन भइसके पनि बाघ पठाउन मिल्ने नमिल्ने विषयमा भने अध्ययन हुनै बाँकी रहेको राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगाना बताउँछन्। ढुंगानाका अनुसार वर्षदिनभित्र भाले गैंडा कोसीटप्पु पुग्नेछ। पुष्पा र अन्जली त्यहाँको वातावरणमा घुलमिल भएपछि भाले गैंडा पनि पठाइने उनले बताए। 

मन्त्रीले वीरुलाई पठाउने भने पनि कुन गैंडा जान्छ निश्चित नभएको उनले बताए। वीरु भने हाल सदरचिडियाखानामा छ। सन् २०१३ मा त्यसलाई चितवन राष्ट्रिय निकुन्जबाट जाउलाखेल ल्याइएको थियो। बाघको आक्रमणमा परी घाइते अवस्थामा वीरुको उद्धार गरिएको थियो। वीरुको उमेर ८÷९ वर्षको हुनसक्ने अनुमान छ। 

गैंडा स्थानान्तरणको विषय विभिन्न खालको आलोचना भइरहेका छन्। तर, अध्ययन समितिले कोसीटप्पुमा ६० देखि ८० वटासम्म गैंडा राख्न सकिन्छ भनिसकेको ढुंगानाले बताए। ‘तत्काल १० वटा गैंडा ल्याउन मिल्छ भन्ने प्रतिवेदनमा छ। त्यसैको आधारमा दुइटालाई मात्रै लगेर एक वर्षजति हेरौं भन्ने हो’ ढुंगानाले थपे ‘प्रजनन पनि भयो र संख्या वृद्धि भएमा अरू पनि थप्ने हो। तर, स्थानान्तरण गर्नु हुँदैन भन्ने होइन।’ कुन ठाउँमा स्थानान्तरण गरियो भन्ने विषय महत्वपूर्ण हुने उनले बताए। ‘आइल्यान्ड बायोजोग्राफी थ्योरी’ अनुसार स्थानान्तरण गरेको उनको दाबी छ। ढुंगाना भन्छन्, ‘यस सिद्धान्तका अनुसार राष्ट्रिय निकुन्ज तथा आरक्ष क्षेत्र टापुजस्तो हुन्छ। त्यस्तो ठाउँमा सडक, खोलानाला आदि हुने भएकाले एउटा टापुबाट अर्कोमा जनावरहरू जान सक्दैनन्। उनीहरू प्राकृतिक रुपमा एक ठाउँबाट अर्कोमा आवतजावत गर्न सकेनन भने फरक टापुमा लैजानुपर्छ। अन्यथा त्यस्ता ठाउँमा कुनै महामारी आएमा वंश विनास हुन्छ। त्यसैले उनीहरूलाई छरेर राख्नुपर्छ। त्यसैले स्थानान्तरण महत्वपूर्ण हो। ल्याएर वास्तै नगर्ने प्रवृत्ति मात्रै नराम्रो हो।’ 

अपेक्षा गरेको भन्दा धेरै संख्यामा चितवनमा गैंडा बढेको पनि उनले बताए। उनले थपे, ‘सय भन्दा कम गैंडा थियो। हाल ७ सय ५२ वटा छ। यतिकै छिटो जनसंख्या बढ्ला भन्ने थिएन। त्यसैले विभिन्न ठाउँमा राख्नु उचित हुन्छ।’ बाघको संख्या पनि निकै बढेको उनले बताए। २५० वटा बाघ सन् २०२२ सम्ममा पुर्‍याउने भन्ने थियो। सन् २००९ मा एक सय २१ वटा मात्रै थियो। तर, हाल तीन सय ५५ वटा छन्। त्यसैले उनीहरू निकुञ्जभन्दा बाहिर निस्के। 

निकुन्जभन्दा बाहिर हाल २० वटा बाघ छन्। हाल ६ चिडियाखानमा र ६ वटा राष्ट्रिय निकुन्ज बाहिर खोरमा छ। ती बाघले मान्छे मारेकाले फेरी जंगलमा छाडेमा फेरी मान्छेले विरोध गर्ने भएकाले खोरमा राखिएको हो। तिनै बाघलाई कोसीटप्पुमा राख्ने की भन्ने कुरा कुरा भएको बताए। त्यहाँ पनि उनीहरूलाई खोरमै राख्ने कुरा भएको हो। तर, यस विषयमा अध्ययन भएको छैन। सैद्धान्तिक हिसाबले मात्रै कुरा भएको ढुंगानाले बताए। 

राष्ट्रिय प्रकृति संरक्षण कोषका, बायोडाइभर्सिटी सेन्टरको, प्रोजेक्ट म्यानेजर, रचना शाहका अनुसार एक वर्षपछि पुष्पा र अन्जली पनि परिपक्क हुन्छन्। त्यतिन्जेलमा वीरुलाई पनि त्यहाँ पुरयाउन लागिएको हो। मेटिङको समयमा भालेले एकदमै लखेट्ने हुन्छ। त्यसैले पोथी गैंडालाई जोखिम हुने भएकाले परिपक्क भएपछि मात्रै भाले लगिने बताइन्। 

कोसीटप्पुमा विगतमा गैंडा रहेको अनुमान अध्ययन समितिको छ। उक्त समितिले दुई वर्ष पहिला नै गैंडाको लागि उचित वासस्थान भएकाले स्थानान्तरण गर्न सकिने निष्कर्ष निकालेको थियो। तर, स्थानान्तरणको विषयमा नबुझेर मानिसहरूले विरोध गरिरहेको तर्क शाहको छ। ‘विज्ञान तथा अनुसन्धानहरूले पनि जनावरको  आनुवंशिक विविधता र महत्वका लागि स्थानान्तरण गरिन्छ’ उनले थपिन ‘विश्वव्यापी रूपमै स्थानान्तरणको ट्रेन्ड छ। हजारौं केस स्टडी छन्। त्यसले यस्ता प्रजाती लोप भएमा अर्को ठाउँमा जोगाउन सकिन्छ।’ ​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.