दोलखामा गोल्डेन किवी
![दोलखामा गोल्डेन किवी](https://annapurnapost.prixacdn.net/media/albums/Kibi_vqrlc9GiwU_cZpke5QvMr.jpg)
दोलखा : दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ सिमपानीका किवी व्यवसायी श्याम खड्काले गोल्डेन किवीको परीक्षण उत्पादन गरेका छन्।
अहिले परीक्षणका लागि जाईकाले जापानबाट ल्याईदिएको दुई बोट गोल्डेन किवी रोपिएको र त्यसले फल दिन थालेको किवी व्यवसायी खड्काले बताए। जाईकाले सात वर्ष अघि जापानबाट ल्याईदिएको गोल्डेन किवीका दुई बोटमा फल लाग्न झण्डै चार वर्ष कुर्नुपरेको श्यामका छोरा विकास खड्काको भनाइ छ।
‘यो वर्ष १ सय ५० केजी जति उत्पादन हुने अनुमान गरेका छौं’, विकासले भने, ‘अब हामी यसबाट बिउ निकालेर व्यावसायिक उत्पादनका लागि काम गर्नेछौं। खड्का बाबुछोराले रेड किवीको व्यावसायिक उत्पादन गरेको भने २-३ वर्ष भइसकेको छ। गोल्डेन किवी पनि रेड किवी जस्तै स्वादिलो हुने विकासले बताए। रेड किवी खड्का बाबुछोराको बगैंचाका अलवा दोलाखको मागादेउराली, गैरीमुदी, श्यामालगायतका ठाँउमासमेत रहेको स्थानीय किसानहरूले बताएका छन्।
खड्काका बाबुछोराले रेड किवी प्रतिकेजी ३ सय ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् भने अन्य जातको किवी भने एक-डेढ सयदेखि २ सय ५० रुपैयाँसम्ममा बिक्री वितरण हुँदै आएको छ । गोल्डेन किवी भने प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री गर्ने योजना रहेको श्यामले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)