श्रीलंकालाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अब पाकिस्तानसँग भिड्ने
काठमाडौं : चीनमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानले श्रीलंकालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। ८ रनले पराजित भएसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको हो।
बुधबार बिहान भएको खेलमा अफगानिस्तानले दिएको ११७ रनको झिनो लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १०८ रनमात्र बनाउन सक्यो।
१९.१ ओभरमा अलआउट हुनुअघि श्रीलंकाको मध्यक्रमका ब्याट्सम्यान अफगानि बलरसामु निरिह भएका थिए। श्रीलंकाका कप्तान सहन अराचिगेले २९ बलमा २२ रनको योगदान दिए। ओपनर लसिथ क्रुसपल्ले र असेन बन्दराले १६ र १३ रन बनाउँदा विजयकण्ठ वियासकण्ठ १३ रनमा अभिजित रहे।
श्रीलंकाविरुद्ध कसिलो बलिङ गरेको अफगानिस्तानका लागि गुल्बदिन नायब र काइस अहमदले ३–३ विकेट लिए। नाइबले ४ ओभरमा २८ र १६ रन खर्चे। सराफुदिन अहमद, जहिर खान र करिम जनतले १–१ विकेट झारेका थिए।
यसअघि श्रीलंकाली बलरको कसिलो बलरसामु अफगानिस्तानले संघर्ष गरेको थियो। अफगानिस्तान १८.३ ओभरमा ११६ रनमा अलआउट भएको थियो। अफगानिस्तानका लागि नुर अलि जद्रानले अर्धसतकीय पारी खेले। उनले ५२ बलमा ५१ रन बनाए। अफगानिस्तानका लागि ओपनर मोहमद सहजादले २० र साहिदुल्लाहले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अफगानिस्तानका ४ ब्याट्सम्यान शून्यमै आउट भएका थिए।
श्रीलंकाका लागि नुवान थुसाराले सर्वाधिक ४ विकेट लिए। उनले ३ ओभरमा १७ रन खर्चिए। सहन अरच्चिगेले २ तथा विजयकण्ठ र लाहिरु समाराकुनले १/१ विकेट लिए।
आजको खेलमा विजयी अफगानिस्तानले फाइनल प्रवेशका लागि पाकिस्तानको सामना गर्नेछ। खेल शुक्रबार हुनेछ।
यसअघि पाकिस्तानले हङकङलाई ६८ रनले हराएर सेमिफाइनल पुगेको थियो। हिजो सम्पन्न खेलमा भारतले नेपाललाई २३ रनले हराएर शीर्ष ४ मा स्थान तय गरेको छ। भारतले सेमिफाइनलमा बंगलादेश र मलेसियाबीचको खेलको विजेतासँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !