बर्दियामा पोथी गैंडा मृत फेला
![बर्दियामा पोथी गैंडा मृत फेला](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मृत भेटिएको छ। गेरुवा गाउँपालिका-६ स्थित नौलोवास मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैंडा मृत भेटिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले गैंडा मृत फेला परेको पुष्टि गरे। उनका अनुसार मृत पोथी गैंडा १९/२० वर्षको हुनसक्ने र प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। निकुञ्ज तथा एनटीएनसीबाट विज्ञसहितको टोली घटना स्थलमा पुगेको उनले बताए। निकुञ्जले मृत गैंडाको पोस्टमार्टमपछि व्यवस्थापनको तयारी भइरहेको छ।
गैंडाको प्राकृतिक मृत्यु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका सूचना अधिकारी उमेश पौडेलले बताए। मृत गैंडाको जिब्रोमा सामान्य घाउ, दाँत फुक्लिएको अवस्थामा भेटिएको उनले प्रष्ट्याए। गैंडाको डीएनए टेष्टका लागि पठाइएकाले बाँकी कुराहरू रिपोर्ट आएपछि पुष्टि हुने सूचना अधिकारी पौडेलले जानकारी दिए।
गए राति मनाउमा गैंडा मृत भेटिएपछि चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान असारेगौढीका युवाले खबर गरेका अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)