शहीद गंगालाल हृदय केन्द्रमा डाक्टरबीच 'उमेर विवाद'

शहीद गंगालाल हृदय केन्द्रमा डाक्टरबीच 'उमेर विवाद'
सुन्नुहोस्

काठमाडौं : मुलुकको प्रतिष्ठित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी र वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. अरुण मास्केबीचको ‘उमेर विवाद’ तत्कालका लागि  टुंगिएको छ।

कार्यकारी निर्देशक डा. अधिकारीले  डा. मास्केलाई ६० वर्ष पूरा भएको उल्लेख गर्दै अनिवार्य अवकास दिएपछि सुरु भएको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ। कार्यकारी निर्देशक डा. अधिकारीले अवकास पत्र थमाएपछि त्यसविरुद्ध डा. मास्केले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका  थिए। डा. मास्केलाई सर्वोच्च अदालतले नियमित सेवामा फर्किने बाटो खोलिदिएको छ। 
 

सर्वोच्चले कार्यकारी निर्देशक डा. अधिकारीलाई अवकास दिनुको कारण माग गर्दै लिखित जवाफ पेस गर्न आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले  डा. मास्केको मागबमोजिम अन्तरिम आदेश जारी गर्दै यथावत कामकाज गर्न आदेश दिएपछि राहत महसुस गरेका छन्। 

के हो विवाद?
वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. मास्केको उमेरलाई लिएर विवाद सुरू भएको हो। कार्यकारी निर्देशक अधिकारीले अभिलेखबाट ६० वर्ष भएको देखिन आएको उल्लेख गर्दै अवकास पत्र दिएपछि दुई वरिष्ठ मुटुरोग विशेषज्ञबीचको विवाद सतहमा देखिएको हो। कार्यकारी निर्देशक डा. अधिकारीले हालसम्म केन्द्रमा पुर्‍याउनुभएको सेवाका लागि धन्यवाद दिँदै असोज १६ गते अवकास पत्र दिएका थिए। 

गंगालाल हृदय केन्द्र सञ्चालक समितिको ६३औं बैठकबाट कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०५८ (संशोधन)को नियम १०.१ को (१) साविक व्यवस्था संशोधन गरी सेवामा बहाल रहेको प्रशासनिक तथा प्राविधिक कर्मचारीका लागि ६० वर्ष तथा प्राविधिक विशेषज्ञ चिकित्सकहरूको ६३ वर्ष पुगेपछि सेवाबाट अनिवार्य अवकास दिइने व्यवस्था छ। सो संशोधन २०७९ साउन २१ गतेको हो।

सर्वोच्चले मुद्दाको पहिलो सुनुवाईमा डा. मास्के विशेषज्ञ चिकित्सक भएको र उनको अवकास उमेर ६३ वर्ष नै कायम रहेको मान्नुपर्ने ठहर गरेको छ। डा. मास्के ६० वर्ष पूरा गरेको जनाउँदै कार्यकारी निर्देशक डा. अधिकारीले असोज १६ गते अवकास पत्र दिएका थिए। रिट निवेदनको टुंगो नलागेसम्म अवकास पत्र कार्यन्वयन नगर्नू/नगराउनू भन्ने आदेश डा. अधिकारीलाई दिएपछि डा. मास्केले न्याय पाएको महसुस गरेका छन्। उनको मागबमोजिम आदेश जारी किन हुन नपर्ने हो? सोको कारण र आधारसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत सर्वोच्चले डा. अधिकारीलाई आदेश गरेको छ। 

डा. मास्केको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता युवराज बन्जाडेले बहस पैरवी गरेका थिए। कार्यकारी निर्देशक डा. अधिकारीको तर्फबाट अधिवक्ता टिकाराम रिजाल, तिर्थराज खतिवडा, प्रकाश पन्थी, नेत्रप्रसाद आचार्य, मदनबहादुर कार्की र दुर्गाप्रसाद खनालले बहस गरेका थिए। अवकास पत्र बुझेको एक सातापछि पुनः सेवामा फर्केका डा. मास्केले भने, 'सर्वोच्च अदालतले न्याय दिएको महसुस भएको छ। मंगलबारदेखि नियमित काममा फर्केको छु।' 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.