बन्यो १२०० मेगावाट प्रसारणको पूर्वाधार

बन्यो १२०० मेगावाट प्रसारणको पूर्वाधार
सुन्नुहोस्

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि यो करिडोर उपयोगी हुनेछ।

काठमाडौं : कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण पूरा भएको छ। यो प्रसारण लाइन निर्माण पूरा भएसँगै करिब १२०० मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ। 

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि यो करिडोर उपयोगी हुनेछ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका– १३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब १ सय ४० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण पूरा भएको हो।

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ। पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण पूरा भई सञ्चालनमा छन्। दुवै सबस्टेसनमा १००/१०० एमभीए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन्। 

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइन निर्माण पूरा भई सोमबारबाट चार्ज गरी सञ्चालनमा ल्याइएको छ। यस खण्डमा २ सय ३६  टावर निर्माण गरिएको छ। सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टिसर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएको छ। नयाँ बुटवलमा २२० केभीको सबस्टेसन निर्माण गरिएको छ। दोस्रो खण्ड सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण पूरा भएको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रूपन्देहीलगायतका क्षेत्रको भोल्टेज सुधार हुने बताए। ‘प्रसारण लाइनको क्षमताले नधान्दा कुश्मा सबस्टेसनबाट मोदीतर्फ थप विद्युत् पठाउन नसक्दा म्याग्दीमा सञ्चालित ४० मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको पूरै विद्युत् प्रवाह हुन सकिरहेको थिएन भने लमजुङको दोर्दी खोला करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारणमा पनि समस्या थियो। कालीगण्डकी करिडोर सञ्चालनमा आएसँगै मिस्त्रीलगायतका आयोजनाको विद्युत् पूर्ण रूपमा प्रसारण गर्न सकिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने।  

‘त्यस क्षेत्रको विद्युत् प्रसारणको समस्या समाधान भएको छ, आयोजनाहरूबाट उत्पादित विद्युत् पूर्ण रूपमा प्रवाह हुने हुँदा देशभित्र खपत गरी अतिरिक्त भारतर्फ थप निर्यात गर्न सजिलो हुनेछ।’

दाना सबस्टेसनमा ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला र ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाको ७४.६ मेगावाट विद्युत् जोडिएको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत् स्थानीय रूपमा खपत गरी बाँकी कालीगण्डकी करिडोर प्रसारण लाइन हुँदै नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गरिएको छ। 

मुस्ताङ, म्याग्दीलगायतका जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् पनि यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिने छ।  

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो। आयोजनाको अनुमानित लागत करिब ११ अर्ब रुपैयाँ छ। देसभित्र खपत गरी अतिरिक्त विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.