समृद्धिमा शिल्पीको हात

समृद्धिमा शिल्पीको हात

व्यक्तिगत स्वार्थरहित र अरूका लागि गरिने बृहत्तर भलाइ नै आर्थिक समृद्धिको आधार हो। अर्थात् सामूहिक हित, विचार र काम नै समृद्धि हो। नेपालको प्राचीन शिल्प (मानव) सभ्यताका विकासकर्ता अनादिवासी रैथाने (कथित दलित) शिल्पी समुदाय हुन्। उनीहरू मानवीय दैनिक प्रयोग र आवश्यकताका भौतिक, अभौतिक र अभिलेखात्मक सम्पदाको विकासकर्ता हुन्। जसलाई शिल्पकौशल, संस्कृति, सम्पदा र सभ्यताका जननी मानिन्छन्। सीमान्तकृत रैथाने शिल्पी समुदायको कामप्रतिको इमान्दारिता, मेहनत र परिश्रम अत्यन्तै उच्चकोटीको हुन्छ। 

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणमा रहँदा उनले कार्यवाहक प्रधानमन्त्री दिइएका भाइ बमबहादुरलाई पठाएको हस्तलिखित पत्रमा लेखिएको थियो– ‘कामी, सार्की, दमाईं, कर्मी’ खोसे इलम पनि बिग्रन्छ, कारखाना पनि बिग्रन्छ। यी थोरै खाई धेरै काम गर्छन्।’ जुन सन्दर्भ कमलमणि दीक्षितको ‘जंग गीता’ मा उल्लेख छ। राणाले लेखेका यी वाक्यले रैथाने शिल्पी समुदायको कामकर्मको विशिष्टतालाई झल्काउँछ। वास्तवमा थोरै खाएर धेरै काम गर्नु अथवा आधा पेट खाएर पनि धेरै काम गर्नु उनीहरूको पुख्र्यौली संस्कृति नै हो। थोरै खानु भनेको मितव्ययी हुनु, अरूका लागि पनि बचाउनु, अनावश्यक संग्रह वा नथुपार्नु, मानवीय सोच राख्नु र सामाजिक हितका लागि गरिने समाजवादी संस्कार हो।

धेरै काम गर्नु भनेको देश र समाजको समृद्धिको आधार तयार गर्नु, पछिल्लो पुस्ताको लागि प्रगति मार्गको निर्माण गर्नु, आर्थिक–सामाजिक, सांस्कृतिक–शैक्षिक उन्नतिको शिखर चुम्नु हो। थोरै खाएर, धेरै काम गर्नु पारिवारिक संस्कृतिसँगै यी समुदायले आफ्नो परिश्रमबिना केही अपवादबाहेक सित्तैमा कसैको खाँदैनन्। १२ देखि १८ घण्टासम्म विभिन्न पारिवारिक श्रमकर्ममा अहोरात्र खटिरहेका हुन्छन्। यो समुदायको खटाइ र कामलाई तुलना गर्दा उनीहरू सबैभन्दा धनी र सम्पन्न हुनुपर्ने हो। तर यथार्थ उल्टो छ।

यसैगरी बिहान उठेदेखि सुत्नुअघिसम्म यो समुदाय जसरी अरूले पनि श्रमपसिना बगाएको भए मुलुक आजको गरिबी, अविकास र आर्थिक दुरवस्थाको सिकार बन्नुपर्ने थिएन। राणाको सार र तात्पर्य भनेकै ‘आर्थिक–सामाजिक समृद्धिका असली अभ्यासकर्ता हुन्’ हो। स्वघोषित ठूलाबडा र सुकिलामुकिला तरमारा भनिएका गौंथली प्रवृत्तिकाहरूलाई राणाले श्रमपसिना बगाउनुपर्छ है भन्ने सन्देश दिएका छन्। धातुयुगको विकासपछि कामीले फलाम, तामा धातु निकाले, कच्चा धाउलाई प्रशोधन गरे। प्रशोधित धातुलाई आरनमा आवश्यक भाँडावर्तन, कृषिऔजार, पुलपुलेसाका लठ्ठा बनाई समाजोपयोगी काम गरे।

धातुका खानी वा जंगलमा रुख काट्न, गोल पोल्न, आरनमा विभिन्न धातु पिट्ने काममा परिवारका सबै सदस्यको समान सहभागिता रहन्छ। प्राचीन समयमा दमाईंले कपास उमार्ने, धागो कात्ने, कपडा बुनेर सियोले लुगाकपडा सिलाउने गर्थे। दमाईंले गुफा युगसँगै विकास गरेका पञ्चैबाजा, हुड्कोलगायत विभिन्न आफ्नो जातीय बाजाहरू छन्। कपास उमार्नेदेखि सिलाउनेसम्म, बाजा बनाउने, बजाउने र नाचगानसम्म परिवारका सबै सदस्यको समान सहभागिता रहन्छ।

सार्कीहरूले विकास गरेको छाला प्रशोधन र चर्मशास्त्र ज्ञानविज्ञानमा आधारित छ। वादी र गन्धर्वले विशेष प्रकारको माछा मार्ने जाल बुन्छन्, माछा मार्छन्, मादल, सुल्पा, तमाखुदानी बनाउँछन्। उनीहरू कलाकारिता, गीतसंगीतमा उस्तै अब्बल हुन्छन्। गायन, वादन र नाचमा परिवारका सबै सदस्यको समान सहभागिता रहन्छ। यसरी प्राचीन समयमा रैथाने शिल्पी समुदाय उत्पादन र उपभोग्य वस्तुका सिर्जनाकार, आविष्कारक र वैज्ञानिक थिए। खानपिनमा समेत महिला, पुरुषले अघिपछि खानुपर्छ भन्ने कुनै विभेद देखिँदैन।

रैथाने अनादिवासी मोचीले छालाजन्य काम र आविष्कारबाट पर्यावरण संरक्षण र स्वदेशी उत्पादनले अर्थतन्त्र बलियो बनाए। खत्वेले पाल्की आविष्कार र निर्माण गरेर समाजलाई ठूलो गुण लगाए। कोरी (कोली) र तत्माले कपास उमारी धागो बुनेर लुगाकपडाको डिजाइन र उत्पादन गरे। आफ्नै र अरूका लागिसमेत शरीर ढाकिदिए, लाज छोपिदिए। दुसाध र मुसहरले विभिन्न हातहतियार, कृषि औजार निर्माण गरी कृषि सभ्यताको विकासका साथै ताडीको रसबाट विभिन्न रोगको वैद्य जडीबुटीको विकास गरे।

धोबी र च्यामेले आधुनिक लन्ड्रीको विकासपूर्व नै पोसाक, लुगाकपडा धोएर र सरसफाइको संस्कार विकास गरिदिए। आफूलगायत अरूलाई सफासुग्घर रहन सिकाए। बाँतरले प्राचीनवस्ती विकासको रूपमा भौतिक विकासनिर्माण र वास्तुकलाको आधार तयार पारे। पत्थरकट्टाले आदिम प्रस्तरकलाको सीप तिखार्दै सबैतिर कलाप्रविधिले सिंगारे। डोम वा मरिक, ककैयाले बाँसको विभिन्न ढकिया, नाङ्लो, काइँयो बनाएर ललितकलामा आफ्नो पुख्र्यौली ज्ञान विस्तार गरे। दैनिक खाँचो परिपूर्ति र उद्यमशील ताको विकास गरे। सरभङ र मेहत्तरले पर्यावरणीय सरसफाइको कामले अहिलेको अस्पताल र स्वास्थ्यसेवाका प्रतिनिधिपात्र बने। आफू निरोगी बने र अरूका जीवन स्वस्थ बनाउन भूमिका खेले।

चिडिमार एक प्रकारका सिकारी जाति हुन्। चरा नियन्त्रण गर्ने औजार बनाउँथे। उनीहरूले सिकारी संस्कृतिको विकास गरे। नट (कलर), कलहर र ढाँढीले शारीरिक, मानसिक, आत्मिक, पारिवारिक र सामाजिक स्वास्थ्यका लागि नाचगान र वादनसंस्कृतिको विकास गरे। खटिकले काष्ठकलासम्बन्धी विभिन्न कामकर्म, सिर्जनाले भौतिक निर्माणलाई उन्नत बनाए। रैथाने शिल्पी धन्कर जातिले कृषि पशुपालनका लागि अति आवश्यक वेत र अन्यवस्तुबाट डोरी बाट्ने र बनाउने ग्राम्य शिल्पकौशलको विकास गरे। जसबाट दैनिक आवश्यकता परिपूर्तिको बाटो बन्यो।

पोडे (देउला) समुदायले मठमन्दिरको पुजारी र रेखदेखको भूमिकामा रहेर सांस्कृतिक परम्परालाई निरन्तरता दिए। शिल्पी समुदायहरूका बीचमा जातीय विभेदको थालनीपूर्व असमानता थिएन। सारमा आर्थिक समृद्धिको पर्याय नै रैथाने शिल्पी समुदाय हुन्। सबैको हित र भलाइको काम नै समृद्धिका आधार हुन्। सामूहिक संस्कृति र समाजवादका असली अभ्यासकर्ता रैथाने शिल्पी समुदायलाई मान्न सकिन्छ। उनीहरूमा ढोंगी, काल्पनिक आदर्शवाद र अध्यात्मवाद निरपेक्ष रूपमा देखिँदैन। सामाजिक योगदानका लागि यो पाठ सबैले सिक्नुपर्ने देखिन्छ।

त्यसैले वर्तमान सरकार र समाजले खोजेको, चाहेको र बुझेको आर्थिक समृद्धिभन्दा सयौं गुणा विकसित र यथार्थवादी समाजवादका अभ्यासकर्ता शिल्पी समुदाय हुन्। सामाजिक–आर्थिक रूपान्तरणका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेको शिल्पी समुदायको आर्थिक समृद्धिको अभ्यास गर्नुको देशका लागि हितकर छ। नेपालको शिल्पकला, सम्पदा, संस्कृति र सभ्यताको विकासमा रैथाने शिल्पी समुदाय अब्बल छन्। उनीहरू शिल्प (मानव) सभ्यताका आधारशिला हुन्। सिंगो राष्ट्र र समाजलाई समृद्धिको प्रगतिपथमा हिँडाउने गुणकारी समुदायलाई सत्ता हाँक्नेहरूले अझै नचिन्नु विडम्बना नै मान्नुपर्छ। राज्यले बिनाकञ्जुस्याइँ लगानी गरे यी समुदाय समृद्धिको कोशेढुंगा बन्न सक्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.