भ्रष्टाचारले देश बर्बाद भयो : माधव नेपाल
![भ्रष्टाचारले देश बर्बाद भयो : माधव नेपाल](https://annapurnapost.prixacdn.net/media/albums/Madav_nepal_hnykNRgdFM_YwPMyEYStz.jpg)
गुलरिया : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश भ्रष्टाचारले बर्बाद भएको बताएका छन्। पार्टीको मेची-महाकाली समाजवादी जागरण अभियानका क्रममा बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मुठ्ठीभरका शोषक, दलालहरूले साधन स्रोत लुटिरहेकोभन्दै चिन्ता ब्यक्त गरेका छन्।
लुटेराहरूले भ्रष्टाचारका माध्यमबाट जनताहरू चुसिरहेको उनको जिकिर छ। देशमा ब्याप्त भ्रष्टाचारकै कारण बेरोजगारी बनेका नेपालीहरू विदेश जान बाध्य बन्नुपरेको बताउँदै अध्यक्ष नेपालले इजरायल हमलामा मारिएका नेपाली विद्यार्थीहरूप्रति शोक ब्यक्त गरे।
समाजवादी ब्यवस्थामा जनताका अपेक्षा साकार पार्ने गरी राष्ट्रियता, जनजीविका, रोजगार, शिक्षा, स्वास्थ्य र सुशासनका सवालहरुमा सरल, सहज र प्रभावकारी पहुँचको लागि सरकारलाई रचनात्मक जनदवाव सिर्जना गर्ने उद्देश्यले अभियान सुरु गरिएको नेता नेपालले बताए। उहिले सदनमा छलफलका क्रममा उठेका धार्मिक विदाका सबालहरू हालः सामाजिक सञ्जालमार्फत् प्रचारवाजी गरिएको भन्दै खेद प्रकट गरे। प्रत्येकको धार्मिक भावनालाई आफूले कदर गर्ने बताउँदै सामाजिक सञ्जालमा धार्मिक विदाहरूका बारेमा आएका कुराहरूको भर्त्सना गरे।
महासचिव घनश्याम भुसालसहित नेपाल बर्दिया आएका हुन्। बिहीबार बर्दियाको राजापुरस्थित सभालाई सम्बोधन गर्दै कैलाली जाने कार्यक्रम रहेको नेकपा एस बर्दियाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)