इजरायलमा चकिँदै युद्ध

इजरायलमा चकिँदै युद्ध

काठमाडौं : प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आतंककारी हमला गरेको पाँचौं दिन बुधबारसम्म करिब १ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। आक्रमणमा परी २ हजार ७ सयभन्दा बढी घाइते भएका छन्। 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रतिकारात्मक हवाई हमलाहरू सुरु भएयता ११ सय भन्दा बढी मारिएका र ५ हजार १ सयभन्दा बढी घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि गाजामा घाइते हुनेमा झन्डै ६० प्रतिशत महिला र बालबालिका रहेका जनाएको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकी २२ जना छन्। त्यसैगरी​​​​​​​ थाई नागरिक २०,​​​​​​​ नेपाली १०, फ्रान्सेली ८ लगायत अन्य देशका छन्। बीबीसीका अनुसार १७ जना बेलायती नागरिक इजरायलमा बेपत्ता वा मृत्यु भइसकेका छन्। यस्तो बीभत्स परिस्थितिमा मानवीय उद्धारमा खटिएका संयुक्त राष्ट्रसंघका ९ अधिकारीले समेत ज्यान गुमाइसकेका छन्।

इजरायली सेना र नागरिक अधिकारीहरूले गाजा सीमा क्षेत्र नजिकैको किबुट्जमा घटेको घटनालाई नरसंहारको संज्ञा दिएका छन्। समुदायमा रहेका पीडितहरूमध्येका कतिपयको टाउको काटिएका बालबालिका आफ्नै आँखाले देखेको ती अधिकारीहरूको भनाइ छ। 

इजरायल डिफेन्स फोर्सका अन्तर्राष्ट्रिय प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले नयाँ शवहरू फेला पर्ने क्रम जारी रहेकाले मृतकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको जनाए। हमासले घुसपैठ गरेर नरसंहार गरेका विभिन्न समुदायहरूमा इजरायलीहरूको शव फेला परिरहेका कारण पनि मृतकको संख्या बढेको उनले प्रष्ट्याए। 

मध्यइजरायलमै सुनिन थाल्यो साइरन

बुधबार साँझ मध्यइजरायलमा साइरन बजेको त्यहाँका सैन्य अधिकारीले जनाएका छन्। यसले गाजाबाट आउने रकेटहरूको चेतावनी दिएको उनीहरूको भनाइ छ। इजरायलको सार्वजनिक प्रशारक संघ कानले पनि देशको केन्द्रतर्फ नै रकेटमार्फत आगो लागेको पुष्टि गरेको छ। यही समाचार संस्थाका अनुसार दक्षिणी इजरायलको आशकेलन सहरमा रहेको एक अस्पतालमा पनि गाजाबाट रकेट आक्रमण भएको छ। 

त्यसैगरी गत २४ घण्टाको अवधिमा इजरायली वायुसेनाका दर्जनौं लडाकु विमानहरूले गाजा पट्टीमा करिब ४ सय ५० लक्षित स्थानहरूमा हवाई आक्रमण गरेको इजरायली डिफेन्स फोर्सले बुधबार जनाएको छ।

छैन बिजुली, इन्टरनेट र पानी

इजरायली बमबारी र घेराबन्दीका कारण गाजा पट्टीमा रहेको एक मात्र विद्युत् गृहमा इन्धन सकिएको छ। इन्धन सकिएपछि बुधबार दिउँस स्थानीय समयअनुसार २ बजेबाट सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणका प्रमुख जलाल इस्माइलले जनाएका छन्। गाजाका बासिन्दा कमल मशहरावीले केही समय अघि बीबीसीसँग कुराकानी गर्दै आफू बसेको ठाउँमा बिजुली र पानी नभएको बताए। 

उनी अन्य ४५ जनासहित बेसमेन्टमा बसिरहेका छन्। ‘हामीलाई धेरै गाह्रो भएको छ। हामीसँग पानी छैन, इन्टरनेट छैन र बिजुली पनि छैन’, उनले पीडा पोखे। छोराछोरी घाइते छन्। उनको फोक्सो दुखेको छ। कमलले आफ्नो परिवारका केही सदस्य गुमाएका छन्। इन्टरनेट बन्द भएकाले अरूलाई सम्पर्क गर्न पनि नसकेको उनले बताए। ‘हामीले नजिकैको सुपरमार्केटसम्म जाने प्रयास गर्‍यौं। तर, विस्फोटका कारण त्यहाँसम्म पुग्ने सडक असुरक्षित थियो’, उनले भने।

null

फोनमा कुराकानी गर्दै कमलले आफ्नो मुट धड्किरहेको र कतै मृत्युको मुखमा पुग्ने अर्को व्यक्ति आफू त होइन भन्ने तर्कना मनमा आइरहेको बताए। नागरिकलाई मारिनु हुँदैन र उनीहरूलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ भन्ने धारणा राख्ने उनले भने, ‘म वास्तवमा हमासलाई दोष दिन सक्दिनँ, इजरायललाई पनि दोष दिन सक्दिनँ, तर हामी नागरिकहरू प्रभावित भएका छौं।’ 

आपतकालीन सरकार गठनको सहमति

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्ज आपतकालीन सरकार गठन गर्न सहमत भएका छन्। प्रधानमन्त्री नेतान्याहु र विपक्षी नेता बेनी गान्ट्जबीचको वार्तापछि यस्तो निष्कर्ष आएको हो। विपक्षी नेताहरू यायर ल्यापिड र बेन्नी गान्ट्जलाई हमासको अप्रत्याशित आक्रमणपछि शनिबार नेतन्याहुले पहिलोपटक यसका लागि आमन्त्रित गरेका थिए।

नेतन्याहु र राष्ट्रिय एकता पार्टीका अध्यक्ष गान्ट्जले बुधबार साँझ एक वक्तव्य जारी गर्दै भने, ‘दुवै जना आपतकालीन सरकार र युद्ध व्यवस्थापन क्याबिनेटको स्थापनामा सहमत भएका छौं।’ प्रधानमन्त्री, रक्षामन्त्री र राष्ट्रिय एकता पार्टीका अध्यक्ष गरी तीन सदस्यीय ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गरिनेछ।

युद्ध व्यवस्थापन मन्त्रिपरिषद्मा पर्यवेक्षकका रूपमा दुई अतिरिक्त अधिकारी पनि रहनेछन्। राजनीतिक सुरक्षा परिषद्मा राष्ट्रिय एकता पार्टीको तर्फबाट पाँच जना बिनाविभागीय मन्त्रीहरू थपिनेछ। जसमध्ये एक जना पर्यवेक्षकका रूपमा रहनेछन्। बेनी गान्ट्ज, गिडोन सा’र, गाडी आइसेनकोट र दुई अन्य मन्त्रीहरू हुनेछन्। यो युद्ध अवधिभरका लागि मात्र रहनेछ। 

विदेशी नागरिक  :  कति बेपत्ता, कतिको मृत्यु ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणमा परी २२ अमेरिकी नागरिक मारिएका बताएका छन्। त्यसैगरी हमासले बन्धक बनाएकामा अमेरिकी पनि रहेको उनले जनाएका छन्। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबारसम्म कम्तीमा २० अमेरिकी नागरिक बेपत्ता रहेको बताए।

रूसले चार नागरिकको मृत्यु भएको जानकारी दिएको छ भने फ्रान्सले कम्तीमा आठ र फिलिपिन्सले दुई जना फिलिपिनीको मृत्यु भएको जनाएको छ। रोजगारदाताहरूको तथ्यांकका आधारमा २० थाई नागरिकको मृत्यु भएको आशंका गरिएको थाई विदेश मन्त्रालयका प्रवक्ता कञ्चना पत्राचोकेले बताए। त्यसैगरी १४ जना थाई नागरिक अपहरणमा परेका विश्वास गरिएको छ।

अस्ट्रियाली सरकारले हमासले अपहरण गरेका व्यक्तिहरूमा तीन अस्ट्रियाई–इजरायली दोहोरो नागरिक हुन सक्ने बताएको छ। इटालीका विदेश मन्त्रीले बेइरी किबुत्जमा बस्ने एक इटालियन–इजरायली दम्पती आक्रमणपछि बेपत्ता रहेको र सम्भवत :  उनीहरूलाई बन्धक बनाइएको जनाएका छन्।

तनाव कम गर्ने प्रयासमा विश्वका नेताहरू 

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र ओमानका सुल्तान हैथम बिन तारिकबीच प्यालेस्टाइन र इजरायलमा जारी युद्धका विषयमा बुधबार टेलिफोनमा छलफल भएको छ। इजरायल र गाजामा जारी तनाव र हिंसा कम गर्न सबै पक्षहरूलाई आग्रह गर्न एकताबद्ध प्रयासको महत्वका सहमति भएको इजिप्टको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

  • इजरायलमा हमासको आक्रमणबाट मारिनेको संख्या १ हजार २ सय, गाजामा इजरायली हवाई हमलाबाट ११ सय बढीको मृत्यु 
  •     इजरायली बमबारी र घेराबन्दीका कारण गाजा पट्टीमा रहेको एक मात्र विद्युत् गृहमा सकियो इन्धन 
  •     इजरायली हवाई आक्रमण जारी रहँदा धेरै गाजावासी विद्यालय र अस्पतालहरूमा शरण खोज्दै 
  •     इजरायलको उत्तार र दक्षिण भागमा मात्र नभई केन्द्रमै रकेट आक्रमणको चेतावनी स्वरूप बज्यो साइरन 
  •     इजरायली सेनाले गाजासँगको सिमानामा करिब तीन लाख रिजर्ब सैनिक बलका साथै धेरै संख्यामा सेना परिचालन 
  •     हिजबुल्लाह मिलिसियाको आक्रमणको जवाफमा इजरायलद्वारा लेबनानी क्षेत्रमा आक्रमण सुरु 
  •     मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकी २२ जना
  •     हमासले गरेको नरसंहारमा टाउको काटिएका कैयौं बालबालिका आफ्नै आँखाले देखेको इजरायली अधिकारीको भनाइ 
  •     दक्षिणी इजरायलको आशकेलन सहरमा रहेको एक अस्पतालमा पनि गाजाबाट रकेट आक्रमण
  •     इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्ज आपतकालीन सरकार गठन गर्न सहमत
  •     इजरायलमा आतंककारी हमलामा बन्दक बनाइएका सबैलाई रिहा गर्न धर्मगुरु पोप फ्रान्सिसद्वारा अपिल 

बेलायती राजा चाल्र्सले इजरायल र गाजाको अवस्थाको विषयमा आफू अत्यन्तै चिन्तित रहेको जनाएका छन्। राजा चाल्र्सका प्रवक्ताका अनुसार चाल्र्सले त्यहाँको स्थितिका बारेमा आफूलाई सक्रिय रूपमा अध्यावधिक राख्न आग्रह गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलमा भइरहेको आक्रमणलाई भयानकको संज्ञा दिएका छन्। उनले दुवै पक्षलाई नागरिकको मृत्यु कम गर्न आह्वान गरेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणलाई ‘दुष्कार्य’को संज्ञा दिएका छन्। दर्जनौं अमेरिकी नागरिकहरू र इजरायली सेनाहरूलाई हमासले बन्धक बनाएका विषयमा उनले चिन्ता ब्यक्त गरेका छन्। अमेरिकाका राज्य सचिव एन्टोनी ब्लिन्केन बिहीबार इजरायलको भ्रमण गरी त्यहाँको सरकार र जनतालाई एक्येबद्धता जनाउने कार्यक्रम छ। 

बन्धक रिहा गर्न पोपको अपिल

समाचार एजेन्सी रोयटर्सका अनुसार धर्मगुरु पोप फ्रान्सिसले इजरायलमा आतंककारी हमलामा बन्दी बनाइएका सबै बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी लडाकु समूह हमासलाई बुधबार अपिल गरेका छन्। अज्ञात संख्यामा इजरायली सेना र अमेरिकी नागरिकहरूसहित १ सयभन्दा बढी व्यक्तिहरूलाई हमासले नियन्त्रणमा लिएको विश्वास गरिन्छ।

इजरायली सेनाले बुधबार गाजामा हमासद्वारा बन्धक बनाइएका ६० जना इजरायली नागरिकलाई पहिचान गर्न सफल भएको बताएको छ। इजरायल रक्षा बलका प्रवक्ता ब्रिगेडियर जनरल ड्यानियल हगारीले हमासले कब्जामा लिएका ६० अपहरणकारीका परिवारलाई सूचना दिइएको जनाएको छ।

 - एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.