खान अन्नपूर्णको एकदिने सीईओ
काठमाडौं : १८ वर्षीया रहिमत जहा खान एमवीवीएसको तयारी गर्दैछिन्। नेपालगञ्जबाट उच्च शिक्षाका लागि काठमाडौंं आएकी खान बिहीबार एक दिनका लागि अन्नपूर्ण पोस्ट दैनिकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनिन्।
दैनिक पत्रिकाको सञ्चालन र व्यवस्थापनबारे जानकारी हासिल गरिन्। ‘गजबको अनुभव भयो,’ खानले भनिन्, ‘दैनिक पत्रिकाको सञ्चालन, व्यवस्थापन, समाचार संकलन र सम्पादनबारे जानकारी लिन पाउँदा निकै खुसी छु। यो त फरक खालको क्षेत्र रहेछ।’ ११ अक्टोबर अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेसनलको संयोजनमा खानलार्ई एकदिने सीईओ बनाइएको थियो।
‘अन्नपूर्ण के हो र कसरी सञ्चालन हुन्छ भन्ने थाहा पाएँ,’ उनले भनिन्, ‘मैले सोचेको भन्दा फरक रहेछ। अनौठो पनि लाग्यो, ज्ञान पनि हासिल भयो।’ महिलाहरू पनि सीईओलगायतका प्रमुख पदमा पुग्नुपर्ने उनले बताइन्। महिलाले पनि सीईओ बनेर अफिस सञ्चालन गर्न सक्छन् भन्ने विश्वास ममा पलाएको छ,’ खानले भनिन्।
प्लान इन्टरनेसनलकी अभियान विशेषज्ञ सिर्जना बज्राचार्यले बालिकाका लागि एक दिन छुटयाउनु पर्छ भन्ने मान्यताअनुसार खानलार्ई सीईओ बनाएर अनुभव बटुल्न लगाइएको बताइन्।
‘हाम्रा संरचना र विकासका क्षेत्रहरू बालिका र किशोरीमैत्री हुनुपर्छ भन्ने मान्यता हो,’ बज्राचार्यले भनिन्, ‘किशोरीहरू डाक्टर, इञ्जिनियर मात्र नभइ सञ्चार संस्थाको सीईओ पनि बन्न सक्छन् भन्ने आत्मविश्वासका साथ सन्देश दिन चाहेका हौं।’ यसअघि किशोरीहरूलार्ई एकदिने मेयर÷उपमेयर बन्न लगाएर अनुभव हासिल गर्न लगाइएको बज्राचार्यले बताइन्।