कोसी सरकार गठन प्रक्रियामा राष्ट्रपति पौडेलको अस्वभाविक चासो

'सभापतिजीलाई सुनाइदिनुहोस् शेखर कोसीबाट पछि हट्दैन'

'सभापतिजीलाई सुनाइदिनुहोस् शेखर कोसीबाट पछि हट्दैन'

कोसी प्रदेशको सरकार गठनमा राष्ट्रपतिले चासो राखेको प्रति कांग्रेसका केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसका एक नेताले अन्नपूर्णसँग भने,'राष्ट्रपतिको गरिमा पौडेलले कायम राख्न सकेनन्। उनी प्रत्यक्ष राजनीतिमा संलग्न हुनुहुँदैनथ्यो। '

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेताहरूले नेता शेखर कोइरालालाई कोशी प्रदेशको सरकार गठन प्रक्रियामा सत्ता गठबन्धनको निर्णय मान्न आग्रह गरेका छन्। बिहीबार बिहान बालुवाटारमा सत्ता गठबन्धनले कोसी प्रदेशमा माओवादीका तर्फबाट इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो।

तर,त्यसलाई इन्कार गर्दै एमालेको समर्थनमा कांग्रेस नेता कोइरालाले केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेका छन् । कार्कीले एमालेसहित आफू पक्षीय सांसदहरूको हस्ताक्षर पेश गरी मुख्यमन्त्रीमा दावी गरेका  छन्। गठबन्धनको तर्फबाट आङ्बोले समेत मु्ख्यमन्त्रीमा दावी गरेका छन्।

गठबन्धनभित्रै फुट आएपछि कोसी प्रदेशको सरकार गठन प्रक्रिया पेचिलो बनेको छ। आफ्नो निर्णयबाट कांग्रेस नेता कोइराला पछि नहट्ने बताएका छन्। 

कोसी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै गठबन्धनको तर्फबाट माओवादीका आङ्बोलाई उठाएको छ भने कोइराला पक्षीय कांग्रेसले आफ्ना ८ सहित एमाले सांसदको समर्थनमा कार्कीलाई अघि सारेको छ।

कोसीको विषयमा यसअघि पनि नेता कोइरालाले पटकपटक पार्टी सभापति देउवालाई भेटेरै उद्धव थापाको स्थानमा अर्को कोही व्यक्तिलाई उठाउन प्रस्ताव गरेका थिए । उक्त विषयलाई सभापतिले नजर अन्दाज गरेपछि कांग्रेसमा अस्तित्व जोगाउने भन्दै कोइराला अघि बढेका छन्।

कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसका ८ गरी कूल ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जसपालगायतले माओवादी संसदीय दलका नेता आङ्बोलाई समर्थन गरेका छन्।  बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर कार्की र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । 

नेता कोइरालालाई पछि सर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले फोनमा कुरा गरेको स्रोतले बताएको छ। तर, कोइरालाले आफू कुनै पनि हालतमा पछि नहट्ने जवाफ दिएका छन्।

कोसी प्रदेशको सरकार गठनमा राष्ट्रपति पौडेलले चासो राखेकोप्रति कांग्रेसका केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसका एक नेताले अन्नपूर्णसँग भने,'राष्ट्रपतिको गरिमा पौडेलले कायम राख्न सकेनन्। उनी प्रत्यक्ष राजनीतिमा संलग्न हुनुहुँदैनथ्यो। '

कोइराला निकट कांग्रेसकै एक केन्द्रीय सदस्यका अनुसार शुक्रबार बिहान राष्ट्रपति पौडेलले शेखरलाई फोन गरेर कोसीमा मिलेर र मिलाएर जान सुझाव दिएका थिए । पौडेललाई जवाफ दिँदै कोइरालाले भने, ‘सुर्वणशमशेर,गणेशमान सिंह र वीपी कोइरालाको पार्टीलाई धरापमा पार्ने स्थिति ल्याउने काम नेतृत्वबाट भयो । मैले खेलेको भूमिका पार्टी बचाउनका लागि हो । म यो कदमबाट पछाडि हट्दिन । पार्टी सभापति,उपसभापति, महामन्त्रीसँगै अन्य पदाधिकारी र अरु शीर्ष नेताले पनि यो विषय बुझ्नुपर्छ ।’ 

कोइरालाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सभापति, महामन्त्रीहरू र नेता कृष्ण सिटौलालगायतले माओवादीका आङ्बोलाई मुख्यमन्त्री छाड्न तयार हुनु भएको कुरा मैले प्रचण्डको मुखबाट सुन्नुपर्‍यो, कस्तो पार्टी बनायौं हामीले ?’ 

राष्ट्रपतिपछि ज्ञानेन्द्रबहादुर कार्कीले समेत कोइरालालाई फोन गरेका थिए।  कार्कीले कोइरालालाई मिलेन जान सुझाव दिएका थिए। तर, कोइरालाले जवाफमा भने,' तपाईंहरूले संविधान पढ्नुभएको छ ? कसरी कोसीका सांसदलाई कारबाही गर्न र फिर्ता बोलाउन मिल्छ ? सभापति देउवाजीलाई भनिदिनू कोशीमा शेखर ब्याक हुँदैन ।’

'तपाईंहरुले आफ्नो समूहको व्यक्ति बाहेक अर्को व्यक्ति उभ्याउन खोज्नु भएन । यसमा पार्टीका पदाधिकारी र सिनियर नेता सबै एकजुट हुनुभयो । तपाईहरु कांग्रेसको अस्तित्व नै मेटाउन लागि पर्नुभयो,' कोइरालाले कार्कीलाई जवाफ दिए।'

प्रधानमन्त्री दाहालले फोन गर्दा समेत कोइरालाले आङ्बोलाई पछि सार्नुहोस्, केदारजी पछि हट्नुहुन्न भन्ने जवाफ दिएको स्रोतले बताएको छ। कोइरालाले कोसी सरकार गठनको प्रक्रियामा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा मौन रहनुले आफू आश्चर्यचकित भएको समेत निकटवर्तिलाई बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.