४०० केभीको इनरुवा सबस्टेसन निर्माण
काठमाडौं : मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण पूरा भएको छ। ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण पूरा गरी सोमबार चार्ज गरिएको छ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो। इनरुवामै २२०-१३२-३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण पूरा भई सञ्चालित छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००-२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन्। जसको क्षमता ९४५ एमभीए छ इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण पूरा भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदानप्रदान हुन सक्नेछ। इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका जिल्लामा पर्ने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महŒवपूर्ण मानिएको छ।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोला नालामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण पूरा भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ। यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ। अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ।
आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताए। २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे।
आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण पूरा भई सञ्चालनमा छ ।