चाडपर्वमा बालबालिकालाई के सिकाउने ?
दसैंको माहोल सुरु भइसकेको छ। चाडपर्वमा सबैभन्दा बढी रमाउनेमा बालबालिकाहरू हुन्छन्। त्यसैले चाडपर्व भने कै केटाकेटीका लागि हुन् कि जस्तो भान हुन्छ। कसैलाई असर नपर्ने गरी अप्रिय घटनाबिना मनाइने चाडपर्वहरू रमाइला र अविस्मरणीय हुन्छन्। मुखैमा आएको यो पालीको दसैं–तिहार बालबालिकाहरूले कसरी मनाउने त ? यसमा अभिभावकहरूले पनि ध्यान दिनुपर्ने जरुरी छ।
महान् चाड दसैंको बेलामा प्रायः विद्यालयहरूमा छठसम्म नै बिदा हुने गर्छ। झन्डै एक महिना लामो बिदाको समयलाई सदुपयोग गर्नुपर्छ। कसरी रमाइलो र अविश्मरणीय रूपमा सदुपयोग गर्ने भन्नेबारे तालिका बनाउनुपर्छ। प्रत्येक दिन बिहान–बेलुकी पढाइ र गृहकार्यको लागि निश्चित समय अनिवार्य छुट्ट्याउनुपर्छ। लामो बिदा छ। विद्यालयहरूले थुप्रै गृहकार्यहरू दिएका हुन्छन्। विद्यालयमा पढाएका कुराहरू पनि सम्झी राख्नुपर्छ। धेरैजसो भाइबहिनीहरू स्कुल जानु एक दुई दिनअघि मात्रै हतार–हतार गृहकार्य गर्न थाल्छन्। यसले गर्दा दसैं–तिहार जस्ता चाडपर्वको अन्ततिर रमाइलो गर्न पाउँदैनन्। बिदाको समयमा घुमफिर गर्न गएका ठाउँहरूका बारेमा राम्ररी जानकारी लिने गर्नुपर्छ। घुमेको ठाउँको नाम, धार्मिक तथा ऐतिहासिक महत्व, ती स्थानको मुख्य आकर्षणहरू, स्थानीय चालचलनका बारेमा जानकारी बटुल्नुपर्छ।
दसैं र चंगा एक अर्काबीच पर्यावाची जस्तै बन्दै आएको छ। बालबालिकाहरूका लागि त चंगा उडाउनु सबैभन्दा प्रिय खेल मानिन्छ। चंगा उडाउँदा निकै सावधानी अपनाउनुपर्छ। जस्तै बार या रेलिङ नभएको घरको छत, बार बन्देज नगरिएको अग्लो ठाउँ तथा धारिलो सामग्रीहरू राखेको ठाउँ वरिपरि कहिल्यै चंगा उडाउनु हुँदैन। एक तथ्यांकअनुसार विश्वमा प्रत्येक वर्ष चंगा उडाउने क्रममा ३७ हजारभन्दा बढी मानीसको मृत्यु हुन्छ। चंगा उडाउँदा धागोमा माड लगाउनुहुँदैन। यस्तो धागोले हाम्रो वरिपरिको आकाश असुरक्षित बनाउँछ। जसले गर्दा पुतली, साना चराचुरुंगीहरूको अकालैमा ज्यान जाने गर्छ। त्यस्तै चंगा उडाउँदा उत्तेजित भई अपशब्दहरू बोल्नुहुँदैन। अरूले बोलेको सुनेमा त्यस्ता शब्दहरूको अनुशरण गर्नुहुँदैन्।
घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म दिनदिनै शक्तीपठहरूको दर्शन गर्ने चलन छ। यसरी मन्दिरमा जाँदा पशुपक्षीको बलि दिएको दृश्य जही तही देखिन्छ। बलि दिएको दृश्य हेर्दामा आफूलाई अप्ठेरो महसुस हुन्छ भने त्यस्ता क्रियाकलापबाट टाढै बस्नुपर्छ। आफ्ना अभिभावकलाई पशुपक्षीको साटो नरिबल, कुभिन्डोको बलि दिन सकिने कुराको जानकारी गराउनुपर्छ।
दसैं–तिहारको प्रमुख आकर्षणमध्ये पिङ पनि एक हो। लिंगेपिङ, जातेपिङ, रोगटेपिङ जस्ता परम्परागत पिङ खेल्दा–खेल्दा खसेर हातखुट्टा भाँचिने, घाइते हुने सम्भावना धेरै रहन्छ। त्यसैले पिङ खेल्दा सावधानी अपनाउनुपर्छ।
तिहारको बेला दियो बत्तीको नजिकै धेरै समय बिताउनु पर्ने भएकाले सकभर सम्हाल्न सजिलो र आगोले झट्टै टिप्न नसक्ने कपडा लगाउनुपर्छ। ठूलो आवाजमा बिस्फोट हुने पड्का, सुतरी बम, रकेट, झिरझिरेलगायतका बिस्फोटक सामग्रीको प्रयोग गर्नुहुँदैन। मनोरन्जनका लागि प्रयोग गरिने यस्ता सामग्रीले बालबालिका, वृद्धावृद्ध, मुटुका बिरामीहरूलाई नकारात्मक असर पुर्याउँछ। वरिपरिको वातावरण दूषित बनाउँछ। साथै आगोका झिल्काहरू आँखामा पर्न गएमा जीवनभर दृष्टिविहीन हुने जोखिम हुन्छ। केही मानिसहरू कुकुरको शरीर, पुच्छरमा पट्का बाँधेर आगो लागाई दिने गर्छन्। यो कार्य अमानवीय भएकाले कहिल्यै गर्नुहुँदैन। कहीँ कतै यस्ता दृश्य देखेमा कुकुरमाथि हामी जघन्य अपराध गरिरहेका छौ भन्ने कुरा सम्झाउनुपर्छ।
चाडपर्वको बेलामा घरको काम महिलाले मात्रै गर्ने र पुरुषहरू रमाइलोमा बिताउने प्रचलन हामी कहाँ अलि बढी नै छ। यसले चाडपर्वका अवसरमा आमा, दिदीबहिनीहरूलाई रमाइलोको साटो कामको भारीले थिच्ने गर्छ। यो क्रमलाई रोक्नका लागि घरका सबै सदस्यहरू मिलेर आफूले सकेको काम गर्नुपर्छ। बालबालिकाहरू पनि आफूले सकेअनुसारको काममा सहयोग पुर्याउनुपर्छ। यसले गर्दा चाडपर्व झन रमाइलो हुन्छ।
मोबाइल वा टेलिभिजनबाट टाढा रहेर चाडपर्वको धार्मिक तथा साँस्कृतिक पक्षका बारेमा बढीभन्दा बढी जानकारी लिनुपर्छ। आज हामी जे सिक्छौं भोलि त्यही कुरा हामीले आफ्ना सन्ततीलाई पनि सिकाउनुपर्छ । आफूभन्दा ठूलाले जे गर्छन् त्यही नै सानाले पनि देखेर अनुशरण गर्ने भएकाले हाम्रो मौलीक संस्कृतिलाई बचाइ राख्न पनि उत्तिकै सघाउँछ।
दसैंमा मान्यजनको हातबाट टीका लगाउन जाने चलन छ। आफूभन्दा ठूलाबडाको हातबाट विजया दशमीको टीका थापी आशीर्वाद लिने गरिन्छ। यसरी आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउने र आशीर्वाद लिन पाउनु पनि हामी भाग्यमानी हौ। तसर्थ मान्यजनको हातबाट टीका लगाउन अस्वीकार गर्नुहुँदैन। परिवारका नजिकका सदस्यहरू, मान्यजनहरू को–को हुन भन्ने सबै थाहा पाउने अवसर पनि दशै नै हो।
दिसु भण्डारी मानन्धर