काठमाडौं : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि - २० विश्वकप एसिया फाइनल छनोटको दोस्रो खेलमा मलेसियाले उत्कृष्ट सुरुवात गरेको छ।
टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाले ६ ओभरको समाप्ति १ विकेटको क्षतिमा ६० रन बनाएको हो। जुबैदी जुलकिफ्लेले १६ बलमा २४ रन बनाएर आउट भए। उनी अविनाश बोहोराको बलमा कुशल मल्लको हातबाट समातिए।
पावर प्लेको समाप्तिमा मलेसियाका लागि ओपनरद्वय सायद अजिजले २० बलमा २३ रन बनाए। कप्तान कप्तान फायज अहमद १ बलमा २ रन बनाएर खेलिरहेका छन्। यस अगाडि पाचौं ओभरमा नेपालका कप्तान रोहित पौडेलले क्याच ड्रप गर्दा नेपालले विकेट लिने अवसर गुमाएको थियो।
बलिङतर्फ नेपालका करण केसी र सोमपाल कामीले २/२ ओभर बलिङ गर्दै २० र १८ रन खर्चिए। कुशल मल्लले एक ओभरमा १० रन र अविनाश बोहोराले एक ओभरमा ६ रन दिए।
नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो। कप्तान अहमदका अनुसार आजको म्याचमा अहमदसँगै धिरानदीप सिंह, सायद अजिज, विजय उन्नी, मुहमद अमिर, आइनोस हफिज, पवनदीप सिंह, जुबैदी जुलकिफ्ले, स्याजरुल इद्रुस, सार्भिन मुनियान्डी र फित्री साम छन् ।
नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ।
नेपालले बिहीबार ओमानसँग खेल्नेछ। कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।
प्रतिक्रिया दिनुहोस !