न्याय नपाए अदालत जानू

न्याय नपाए अदालत जानू
सर्वोच्च अदालतको फैसलापछि अनसन तोड्दै भारती शेर्पा ।
सुन्नुहोस्

संविधानसभाबाट बनाइएको नेपालको संविधानले प्रस्तावनामै ‘सामाजिक न्याय’ को सुनिश्चितता गरेको छ । तर, त्यही संविधानका परिपालकहरूबाट संविधान दिवसकै साइतमा जब निर्धा, निमुखा र पीडितमाथि अन्याय भयो, अदालतले देखाइदियो– ‘न्याय नपाए आउनुस्, ढोका खुला छ ।’ नेपालगन्जका चेतन मानन्धरलाई हतियार प्रहार गरी सार्वजनिक स्थलमा रिगल भनिने योगराज ढकालले हत्या गरेका थिए । उनलाई अदालतले आजीवन काराबास तोकेको थियो । राजनीतिक आस्थाका आधारमा शक्ति र पहुँच भएका उनले गत असोज ३ गते राष्ट्रपतिबाट ६० प्रतिशत हाराहारी कैद छुट पाई बाहिर निस्कने अवसर पाए । यसको तीव्र विरोध भयो । चेतनकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिइन् । पटक–पटक अचेत हुँदै न्यायको संघर्षस्वरूप आमरण अनशन बसिन् । अन्ततः हिजो सर्वोच्च अदालतको पूर्ण इजलासले उनलाई न्याय दिएको छ । त्यतिमात्र होइन, ‘खबरदार ! यो देशमा कसैले अन्याय गर्न पाउँदैन’ भन्ने गतिलो सन्देश दिएको छ ।

धन्न न्यायालय छ र सत्ता र शक्तिका तुजुक हुनेहरूबाट निरीह सर्वसाधारण जोगिन पाएका छन् । नत्र कति चेतनहरू यसरी निहत्था मारिएका मारियै हुने थिए । निरंकुश शासनको दबदबामा समेत नझुकेको, नडराएको इतिहास छ हाम्रो अदालतसँग । २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएसँगै राजनीतिक प्रतिरोध गर्नेहरूलाई ठेगान लगाउन ‘भ्रष्टाचारविरुद्ध’ भन्ने नाममा पूर्वसचिव भक्तप्रसाद कोइरालाको अध्यक्षतामा शाही आयोग बनाए । त्यसविरुद्ध परेको रिटमा न्यायाधीशहरू केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठको इजलासले उक्त आयोग खारेज गरिदियो । ‘नेपाल अधिराज्यको संविधानले भ्रष्टाचार सम्बन्धमा अनुसन्धान, तहकिकात गर्ने निकाय र मुद्दा हेर्ने निकायको छुट्टाछुट्टै व्यवस्था गरेकोमा छानबिन कारबाही गर्ने र सजाय गर्ने समेतको कार्य एउटै निकायलाई तोक्ने कार्य संविधानको उद्देश्य र भावनाअनुकूल रहेको भन्न मिल्नेसमेत देखिन आएन,’ भनेर सर्वोच्चले राजाको अभीष्ट पूरा हुनबाट रोकेको थियो ।

सर्वोच्च अदालतले सुरुबाटै न्यायमा सर्वोच्चता प्रदर्शन गर्दै आएको छ । पहिला प्रधानन्यायाधीश हरिप्रसाद प्रधानसहितको इजलासले गरेको एउटा राजनीतिक प्रतिशोधविरुद्धको फैसला इतिहासमा उस्तै प्रशंसनीय छ । राजाको लालमोहरमा प्रधानमन्त्री बनेका राष्ट्रिय प्रजा पार्टीका अध्यक्ष मातृकाप्रसाद कोइरालाले २०१० असोज ४ गते राजाकै इशारामा आफ्नै भाइ नेपाली कांग्रेसका सभापति बीपी कोइरालालाई काठमाडौं उपत्यकाको चार भन्ज्याङ कट्नबाट प्रतिबन्ध लगाएका थिए । गृह मन्त्रालयमार्फत जारी गरिएको उक्त आदेशविरुद्ध बीपी रिट लिएर सर्वोच्च पुगे । प्रधानन्यायाधीश प्रधानसहित, प्रकाशशमशेर जबरा, भैरवराज पन्त, महेन्द्रबहादुर महत क्षत्री र भगवतीप्रसाद सिंहको पूर्ण इजलासले २०१० कात्तिक २६ मा गृहको उक्त आदेश गैरकानुनी भनी खारेज गरेको थियो । राजाको चाहनाविपरीत त्यस कालखण्डमा समेत अदालत उच्च विवेक प्रयोग गर्न निडर बनेको थियो ।

गत असोज ३ गते देशले संविधान दिवसको उत्सव मनाइरहँदा राष्ट्रपति रामचन्द्र पौडेलबाट अनुमोदन भएको कैद छुटका निर्णयले धेरै न्यायप्रेमीको मन रोएको थियो । ती रोएका मनलाई सर्वोच्च अदालतले मल्हम लगाइदिएको छ । वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडासहित सपना मल्ल प्रधान र डा. कुमार चुडालको पूर्ण इजलासले गरेको निर्णयले सरकारको अन्यायपूर्ण स्वेच्छाचारितालाई लगाम लगाइदिएको छ । साथै, नवनिर्वाचित राष्ट्रपतिको नैतिकतामा गम्भीर प्रश्नसमेत उब्जाएको छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा न्यायालयले साख बढाउने कार्यसमेत गर्दै आएको छ । यस्ता फैसलाले राज्यमा न्यायालयको औचित्य पुष्टि गर्छन् । र, अदालत जनताको भरोसा बन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.