सप्तकोसी नदीमा गोताखोरको उद्धार अभ्यास (फोटाहरूसहित)

सप्तकोसी नदीमा गोताखोरको उद्धार अभ्यास (फोटाहरूसहित)
सप्तकोसी नदीमा उद्धार अभ्यास गर्दै गोताखोर। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : सशस्त्र प्रहरीका गोताखोरले उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोसी नदीमा शुक्रबार उद्धार अभ्यास गरेका छन्। 

गोताखोरले विपद् खोज तथा उद्धार अभ्यास (डेमो) प्रदर्शन गरेका हुन्। उद्धार अभ्याससहित गोताखोर तालिमको समापनसमेत गरिएको छ। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वय एवं सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकली सुनसरीले तालिमको आयोजना गरेको थियो। 

null

विपद् खोज तथा उद्धार कार्यका लागि विशिष्टकृत मानिने उक्त तालिममा सशस्त्र प्रहरीका १८ जना र नेपाल प्रहरीका २ जना गरेर २० जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए। 

पानीभित्र गहिराइमा पुगेर खोज तथा उद्धार कार्य गर्ने उपकरणसहितको विशिष्ट तालिम प्राप्त जनशक्तिलाई गोताखोर भनिन्छ। विभिन्न नदीनाला, तालतलैया, पोखरीजस्ता स्थानमा डुबेकाहरूलाई गोताखोरको सहायताले बाहिर निकाल्ने गरिन्छ। 

null

विशिष्ट प्रकारको उपकरणको प्रयोग गरी पानीभित्र जीवित तथा मृतकहरूको खोज तथा उद्धारमा गोताखोरको प्रयोग गरिन्छ। सप्तकोसी नदी र फेवा तालको गहिराइमा अभ्यास गर्दै खोज तथा उद्धार सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक विषयमा प्रशिक्षण दिएर तालिम सञ्चालन गरी गोताखोर जनशक्ति तयार गरिएको बाहिनीका प्रवक्ता एवं सशस्त्रका एसएसपी रविनराज कर्णजितले जानकारी दिए। 

null

उनका अनुसार विपद् खोज तथा उद्धारका लागि तालिम अति नै महत्वपूर्ण छ। गोताखोर तालिम प्राप्त गरेकाहरूले अब नदीको ७० फिट गहिराइसम्म पुगेर उद्धार गर्न सक्ने कर्णजितको भनाइ छ। 

बाहिनीपति एवं सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलका अनुसार देशभर हुनसक्ने विपद्का घटनामा प्रभावकारी परिचालन गर्ने उदेश्यले जनशक्ति थप गर्नका लागि नेपालमै पहिलोपटक गोताखोर तालिम गरिएको हो। गोताखोर अभ्यास प्रभावकारी भएको उनको भनाइ छ। 

null

तालिमप्राप्त गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थानअनुसार १६० फिट गहिराइसम्म लगातार १ घण्टासम्म खोज तथा उद्धार गर्न सक्ने पोखरेलले बताए। तालिमले प्रदेशकै विपद प्रतिकार्य क्षमतामा थप टेवा पुगेको र आगागी दिनहरूमा समेत कोशी प्रदेशको विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि दक्ष जनशक्ति निर्माणमा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने डीआईजी पोखरेलले बताए। 

null

गत भदौदेखि सञ्चालित ३६ दिने तालिममा सशस्त्र प्रहरी जवान दिनेशबहादुर शाही सर्वोत्कृष्ट भएका थिए। शाहीसहित सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार विपद्को बेला जनताको सारथि भएर उभिने प्रतिबद्धता जनाए। ‘नदीलाई सदुपयोग गर्दा यसबाट लाभ लिन सकिन्छ। सही सदुपयोग गर्दा नदी जीवन हो। तर, दुरुपयोग गर्दा नदीले ज्यान पनि लिन्छ,’ कार्कीले भने। उनले खासगरी विपद्को बेला समाजसेवी धारीले पीडित परिवार र बस्तीमा पुगेर चाउचाउ बाँड्ने र फोटो खिचाउने प्रचलन रहेकाले त्यसलाई चिर्नका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे। 

बाढी, पहिरोलगायतबाट ज्यान जान नदिनका लागि विभिन्न निकाय र जिल्ला विपद् व्यवस्थापनसँग सहकार्य गरेर काम गरिने कार्कीको प्रतिबद्धता छ। ‘विपद् हुनसक्ने ठाउँको नक्साकंन गरियो भने पूर्वतयारी गर्न सकिन्छ,’ उनले भने, ‘सशस्त्र प्रहरीले देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा सँगसँगै विपद् व्यवस्थापनमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गरिरहेको छ।’ निरन्तरताका लागि प्रदेश सरकारबाट सशस्त्रलाई पूर्ण साथ रहने कार्कीको भनाइ छ। 

तालिम समापन कार्यक्रममा प्रदेश सरकारका मन्त्री रामबहादुर राना मगर, प्रदेशका प्रमुख सचिव, विभिन्न पालिकाका प्रमुखहरू, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरू उपस्थित थिए। त्यस अवसरमा विपद् खोज तथा उद्धारका क्रममा सशस्त्रले प्रयोग गर्ने विभिन्न आधुनिक उपकरण प्रदर्शनीसमेत गरिएको थियो। 

उपकरणहरूका बारेमा जानकारी दिँदै विभिन्न विधिद्वारा गरिने खोज तथा उद्धारका बारेमा जानकारी समेत गराइएको थियो। उद्धार अभ्यासको प्रदर्शनसमेत गरियो। 

डीआईजी पोखरेलका अनुसार नेपालका ठूला नदीहरू सप्तकोसी, कर्णाली नारायणी, त्रिशूली, गण्डकीलगायत सेती नदीको गहिरो खोंचदेखि समुन्द्री सतहबाट करिब ४ हजार ७ सय मिटर उचाइमा रहेको गोक्यो ताल तथा सामान्य नदी तालतलैया एवं पोखरीहरूमा गोताखोरले  खोज तथा उद्धार गर्दै आएको छ। 

विक्रम संवत २०६९ सालमा यूनडीपीको सहयोगमा बंगलादेशमा आयोजित गोताखोल तालिममा २५ जना सशस्त्र प्रहरी सहभागी भएका थिए। बंगलादेशमा तालिम लिएर फर्किएपछि उनीहरू नेपालका विभिन्न भागमा उद्धारमा सहभागी भएका थिए। यसअघि सशस्त्र प्रहरीसँग ७४ जना गोताखोर रहेका थिए। पछिल्लो तालिमपछि सशस्त्रको गोताखोर संख्या ९२ पुगेको डीआईजी पोखरेलले बताए। 

उनका अनुसार हालसम्म मुलुकभरका २ सय ५८ घटनामा सशस्त्रका गोताखोरहरू खोज तथा उद्धारमा सहभागी भइसकेका छन्। गोताखोरले विभिन्न घटनामा परेकामध्ये ३२ जनाको जीवितै उद्धार गरेको र २ सय ५८ जनाको शव नदी, तालतलैया तथा पोखरीबाट बाहिर निकालेको जानकारी पोखरेलले दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.