‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा

‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा
सुन्नुहोस्

बागलुङ : बागलुङमा आयोजना हुन लागेको गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। 

बागलुङ क्रिकेट संघले शनिबार पत्रकार सम्मेलन गरेर यही कात्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो।

बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाको सहभागिता रहने बताए। उनले नेपाल क्रिकेट संघका सदस्य जिल्लाहरू बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्ला क्रिकेट संघले सहभागिता जनाउने बताए। 

लिगकम नकआउटका आधारमा खेलाइने खेलको शनिबार खेल तालिका समेत सार्वजनिक गरिएको छ। बागलुङ, पर्वत र कास्की जिल्ला क्रिकेट संघ समूह ‘ए’ र तनहुँ, स्याङ्जा र नवलपुर समूह ‘बि’मा रहेका छन्।

प्रतियोगितामा विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। यस्तै विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट ब्याट्सम्यान र वेष्ट बलरले ५-५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए।

संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो। नेपाल क्रिकेट संघ (क्यान)ले गतवर्ष ४५ औं सदस्य जिल्लाका रूपमा बागलुङलाई सदस्यता प्रदान गरेको थियो। प्रतियोगिता सम्पूर्ण खेल म्याटमा खेलाइने र आइसीसीको नियमानुसार नै खेलाइने संघले जनाएको छ। 

संघले प्रतियोगितामा सहभागी हुने पर्वतको टिमलाई १० हजार र बाँकी टिमलाई २५ हजार रुपैयाँका दरले उपलब्ध गराएको छ। टिमहरूले उक्त रकमबाट खाना र आवासको व्यवस्था आफै गर्नुपर्ने संघका सदस्य तथा मिडिया फोकल पर्सन अभिषेक कटुवालले बताए। 

आयोजकले प्रतियोगिता सञ्चालनका लागि १२ लाख ६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। सम्पूर्ण रकम सहयोगबाट संकलन गरिने संघका उपाध्यक्ष कमल पन्तले बताए। 

उनले प्रतियोगिता संचालनका लागि बागलुङ नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको र अन्य रकम जिल्लाका अरू स्थानीय तहसहित पूर्व खेलाडी, व्यवसायी र सहयोगीबाट संकलन गरिने बताए। 

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट संघले स्वीकृति प्रदान गरेको छ। अध्यक्ष आचार्यले क्रिकेट प्रतिको बढ्दो आकर्षणलाई ध्यान दिएर प्रतियोगिता संचालन गर्न लागिएको बताए। 

जिल्लाको टिम छनोटमा खेलाडीहरूको आकर्षक देखेर उत्साहित बनेको अध्यक्ष आचार्यको भनाइ छ। ‘अहिले क्रिकेटप्रति खेलाडीहरूको आकर्षक लोभलाग्दो छ,’ अध्यक्ष आचार्यले भने,‘प्रतियोगिताको लागि जिल्लाको टिम छनोटमा समेत भारतमा रहेका खेलाडीहरू आएर सहभागिता जनाएका छन्। जिल्लामा जन्मेर बाहिर बसेर खेलिरहेका खेलाडीहरू जिल्लाको टिम छनौटमा उपस्थित हुँदा प्रतियोगिता गर्न उत्साह थप भएको छ।’

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी अनावरण गरेका थिए। उनले अन्तर्राष्ट्रिय स्तरमा खेलकुदले देशको नाम रोशन गरिरहे पनि सरकारी पक्षबाट खेल र खेलाडीको लागि पर्याप्त बजेट विनियोजित नभएको भन्दै चिन्ता व्यक्त गरे। 

उनले स्थानीय तहले खेलकुद विभाग गठन नगर्ने र प्रदेश तथा संघ सरकारले खेलकुदमा बजेट विनियोजित नगर्दा ग्रास रुटका प्रतियोगिता सञ्चालन गर्न र नयाँ खेलाडी उत्पादनमा समस्या भएको बताए। 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्काले सहयोग संकलन गरेर जिल्लाका खेल संघहरूले खेलाडी उत्पादन गर्ने र प्रतियोगिता गर्ने गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.