रोचक प्रतिस्पर्धा : नेपाललाई मौका
आईसीसी टीट्वेन्टी विश्वकप : नेपालले एसिया क्षेत्रको उपाधिका लागि आज ओमानसँग खेल्दै
काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधिका लागि नेपालले ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको फाइनल खेल आज बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
शुक्रबार घरेलु मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा छनोट भएको हो। मूलपानी मैदानमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा जित निकालेको हो। योसँगै नेपाल एक दशकपछि टीट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भएको छ।
शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको भिडन्त पक्का गरेको हो।
आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। नेपालका लागि घरेलु दर्शअघि ओमानविरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने मौका रहेको छ।
कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।
विश्वकपको गत संस्करणको छनोट प्रतियोगितामा नेपाल सेमिफाइनलमा यूएईसँगै पराजित भएर विश्वकप पुग्नबाट रोकिएको थियो। यसअघिको त्रिकोणात्मक शृंखलामा पनि नेपाल यूएईसँग पराजित भएको थियो।

एक दशकको प्रतीक्षा
नेपालले दोस्रो पटक विश्वकपमा स्थान बनाएको हो। यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकप खेलेको थियो। त्यो विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।
घरेलु टोली बंगलादेशसँग पराजय बेहोर्दा सुपर १० मा भने पुग्न सकेन। सन् २०१४ को विश्वकपमा नेपालले हङकङलाई ८० र अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो। बंगलादेशसँग भने आठ विकेटको हार बेहोरेको थियो।

पहिलो विश्वकप खेलेको एक दशकपछि नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो। सन् २०१६ को टीट्वेन्टी विश्वकपको लागि २०१५ मा भएको ग्लोबल छनोट नेपालमा नेपालले खराब प्रदर्शन गरेको थियो। नेपाल ग्लोबल छनोटबाटै घर फर्किएको थियो।
सन् २०१९ को एसिया क्षेत्र छनोटमा पनि नेपालले प्रभावशाली प्रदर्शन गर्न सकेन। यस पटक पनि नेपालले छनोट चरण पार गर्न सकेन। गत वर्ष अस्ट्रेलियामा भएको टीट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पनि नेपालको प्रदर्शन सन्तोषजनक हुन सकेन। सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएपछि दोस्रो पटक विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो।
१८ टोली छनोट
अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टीट्वेन्टी विश्वकपमा पहिलो पटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन्। सन् २०२४ को जुन ४ देखि ३० सम्म आयोजना हुने विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पहिलो पटक २० टोली पुर्याएको हो।
आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि विश्वकप खेल्ने १८ टोलीको टुंगो लागिसकेको छ। वेस्ट इन्डिज र अमेरिका आयोजकका रूपमा स्वतः छनोट भएका छन्। सन् २०२२ को टीट्वेन्टी विश्वकपमा शीर्ष आठमा रहेका अस्ट्रेलिया, साबिक विजेता इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भएका छन्।
टीट्वेन्टी विश्वकपपछिको वरीयताका आधारमा बंगलादेश र अफगानिस्तानले पनि अमेरिका र वेस्ट इन्डिजको टिकट सुरक्षित गरिसकेका छन्।
आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत युरोप छनोटबाट आयरल्यान्ड र स्कटल्यान्ड, इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवान्युगिनी र अमेरिकी छनोटबाट क्यानडाले टीट्वेन्टी विश्वकपमा स्थान पक्का गरिसकेका छन्। आगामी नोभेम्बर २२ देखि ३० सम्म नामिबियामा हुने अफ्रिकी क्षेत्र छनोटबाट दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्।
झन्डै एक महिनासम्म सञ्चालन हुने टीट्वेन्टी विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। हरेक समूहमा पाँच टोली रहनेछन्। समूह चरणको खेलपछि हरेक समूहबाट दुई/दुई टोलीले सुपर आठमा स्थान बनाउने छन्। सुपर आठमा पुगेका टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। सुपर आठको खेलपछि चार टोली सेमिफाइनलमा पुग्नेछन्।
प्रतिक्रिया दिनुहोस !