टीट्वेन्टी विश्वकपको एसिया फाइनल : रोहित र गुल्सनको अर्धशतक
ओमानविरुद्ध नेपालले दियो १८५ रनको लक्ष्य
काठमाडौं : नेपालले ओमानलाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट फाइनल खेलमा नेपालले ६ विकेटको क्षतिमा ओमानविरुद्ध १८४ रन बनाएको हो।
टस जितेसँगै नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। निर्धारित ओभरको खेलमा पौडेल र गुल्सन झाले अर्धशतक बताए।
नेपालका लागि पौडेल र करण केसी अविजित रहे। पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। पौडेलले २ छक्का र ५ चौका प्रहार गरे। केसीले ६ बलमा २० रन बनाए। उनले २ छक्का र १ चौका प्रहार गरे।
त्यस अगाडि गुल्शन झाले २५ बलमा ५४ रन बनाएका थिए। झाले ४ छक्का र ५ चौका प्रहार गरे। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए।

त्यसैगरी कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाए। उनले २ छक्का र ३ चौका प्रहार गरे।
सन्दीप जोरा १३ बलमा १० रन बनाएर आउट भए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
नेपालको टीम : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने।
प्रतिक्रिया दिनुहोस !