किन भत्किए धेरै घर ?

किन भत्किए धेरै घर ?
सुन्नुहोस्

सुर्खेत : एक महिना अगाडि मात्र बझाङमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गयो। गत असोज १६ गतेको उक्त भूकम्पका कारण बझाङमा एक जनाको मृत्यु भयो। केही घरहरू भत्किए। यस्तै एक वर्ष अगाडि मात्र डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भयो। २०७९ कात्तिक २२ गते डोटी केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। 

यस्तै अघिल्लो वर्षको माघ १० गते बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पका कारण डोटीमा एक जनाको मात्र ज्यान गएको थियो। केही घरहरू चर्किएका थिए। भूकम्प मापन केन्द्रको तथ्यांकअनुसार शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प र यसअघि बझाङ, बाजुरा र डोटीमा भएका भूकम्पका धक्काहरू हाराहारीकै हुन्। तर, जाजरकोटमा गएको भूकम्पको धक्काका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

जाजरकोटमा ६ दशमलव ४ रेक्टर स्केल मापन भएको भूकम्पका कारण आइतबार बेलुकीसम्म १ सय ५७ जनाको ज्यान गएको छ। करिब १ हजार घरहरू पूर्णरूपमा भत्किएको अनुमान गरिएको छ। करिब २ सय जना घाइते भएका छन्। यसकारण पनि हाराहारीकै धक्का मापन भएको भूकम्पमा पनि अन्य जिल्लाको तुलनामा जाजरकोटको भूकम्पमा धेरै क्षति भएपछि भूकम्पविद्हरू पनि आश्चर्यमा परेका छन्। आखिर सुदूरपश्चिमको तुलनामा कर्णालीमा किन धेरै मानवीय तथा भौतिक क्षति बढी भयो त ? यसको उत्तर भूकम्पविद्हरूले खोज्न थालेका छन्। 

एक महिना अगाडि बझाङमा गएको ६ दशमलव ३ रेक्टर स्केल भूकम्पभन्दा शुक्रबार राति जाजरकोटमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धेरै धनजनको क्षति हुनुमा भौगोलिक बनावट र परम्परागत तथा कच्ची घरहरू रहेको विज्ञहरूको दाबी छ। बझाङमा दिउँसोको समयमा भूकम्प आएका कारण कम मानवीय क्षति भए पनि भौतिक क्षति पनि जाजरकोटको तुलनामा निकै कम थियो। तर, जाजरकोट भूकम्पमा बझाङको तुलनामा धेरै घरहरू ढलेका छन्। धेरै घरहरू ढलेको र रातको समय भएकाले पनि जाजरकोटको भूकम्पमा धेरै नागरिकको ज्यान गएको हो। अर्कोतर्फ जाजरकोट र रुकुमपश्चिम भिरालो जमिनमा बस्ती हुनु, परम्परागत र कच्ची घरहरू धेरै भएका कारण पनि क्षति धेरै भएको विज्ञको भनाइ छ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिम नेपालमा चारवटा ठूला भूकम्प गएका छन्। उही हाराहारीका ती भूकम्पमध्ये जाजरकोटको भूकम्पमा बढी नोक्सान हुनुमा रातिको समयमा भूकम्प जानु, बस्तीनजिक नै भूकम्पको केन्द्रबिन्दु हुनु, भौगोलिक अवस्था र परम्परागत शैलीका पुराना घर मुख्य कारण रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुखसमेत रहेका भूकम्पविद् बलबहादुर तामाङले बताए। उनले भने, ‘एक महिना पहिला मात्र बझाङमा गएको भूकम्प र शुक्रबार राति जाजरकोटमा गएको भूकम्प लगभग उही हैसियतका हुन्, तर जाजरकोटको भूकम्पमा धेरै घरहरू ढलेका छन्। यसको मुख्य कारण नै यहाँका घरहरू पुराना, कच्ची र परम्परागत शैलीका हुनु हो, अर्कोतर्फ जाजरकोटमा बस्तीनजिकै भूकम्पको केन्द्रबिन्दु भएकाले पनि ठूलो नोक्सान भयो।’

जाजरकोट र रुकुमपश्चिमका धेरै बस्तीहरू भिरालो जमिनमा भएका कारण पनि धेरै घरहरू भूकम्पका कारण गएको पहिरोसँगै बगेको उनको अनुमान छ। भूकम्प प्रतिरोधी संरचना नभएका कारण पनि धेरै घरहरू भत्किएको र त्यसले धेरै नागरिकको ज्यान गएको विज्ञको भनाइ छ। नेपालमा २०७२ सालयताकै घातक परकम्पका रूपमा शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पलाई लिइएको छ। 

यो भूकम्पले जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा धेरै घरहरू भत्किएका छन्।  

भूकम्पबाट ३ हजार घर पूर्णरूपमा ध्वस्त

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण कर्णालीमा ३ हजार घर पूर्णरूपमा ध्वस्त भएका छन्। यो समाचार तयार पार्दासम्म जाजरकोट र रुकुमपश्चिममा गरी ३ हजार १ सय ३६ वटा घर पूर्णरूपमा ध्वस्त भएको प्रारम्भिक तथ्यांक आएको छ। जसमा रुकुमपश्चिममा मात्र २ हजार १ सय ३६ वटा घर पूर्णरूपमा ध्वस्त बनेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए। 

यस्तै जाजरकोटमा १ हजार घर पूर्णरूपमा ध्वस्त भएको प्रारम्भिक अनुमान गरिएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले घरको क्षतिबारे विवरण संकलन भइरहेको भए पनि हालसम्मको विवरणमा १ हजार घर पूर्णरूपमा ध्वस्त भएको बताए। विवरण संकलन भइरहेकाले यो संख्या अरू बढ्ने उनको भनाइ छ। भूकम्पका कारण जाजरकोटमा करिब ३ हजार घरमा आशिंक क्षति भएको अनुमान गरिएको छ। यस्तै रुकुमपश्चिममा भने २ हजार ७ सय ९२ घरमा आंशिक क्षति पुगेको छ। 

यस्तै रुकुमपूर्वमा १९ घरमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ। यसैगरी दैलेखमा एउटा घरमा पूर्ण र एउटा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्युठानमा २९ वटा घरमा आंशिक क्षति पुगेको छ। भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएका गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको तथ्यांकमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.