मृत्यु जितेका बालबालिका : गुमेका आफन्त–साथी सम्झन्छन्, रुन्छन् र बर्बराउँछन्

मृत्यु जितेका बालबालिका : गुमेका आफन्त–साथी सम्झन्छन्, रुन्छन् र बर्बराउँछन्

जाजरकोट भूकम्पका कारण १ सय ५३ जनाको मृत्यु भयो। त्यसमध्ये आधाभन्दा धेरै बालबालिका परे। सँगै सुतेका कसैले भाइबहिनी गुमाए, कसैले दाइदिदी र आफन्त। भूकम्पको झड्कासँगै मृत्यु देखेका उनीहरू अहिले सुत्न सक्दैनन्। गुमेका आफन्त–साथी सम्झन्छन्, अनि रुन्छन् र बर्बराउँछन्। विज्ञ भन्छन्, ‘यहाँ तत्काल मनोपरामर्शदाता खटाउनुपर्छ।

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेकी ११ वर्षीया बालिका सृष्टि शाहले भूकम्पमा सँगै सुतेका भाइ गुमाइन्। हिजोआज उनलाई निन्द्रा लाग्दैन। बारम्बार झस्किन्छिन्। सुतेको बेलामा पनि बर्बराउँछिन्। छिमेकीले उद्धार गरेका कारण आफ्नो ज्यान जोगिए पनि एउटै ओछ्यानमा सुतेका भाइ नबच्दा सृष्टिको मन बिछिप्त छ।

शुक्रबार राति सृष्टि, आमा अमृता र भाइ प्रचण्डजंग शाह एउटै ओछ्यानमा सुतेका थिए। भूकम्पले उनीहरू सुतेको घरै भत्कियो। छिमेकीले घर खोतलेर सृष्टि र अमृतालाई बचाए। तर, ४ वर्षीय भाइ प्रचण्डजंग भने पुरिएको अवस्थामा भेटिए। सँगै सुतेको भाइ मृत भेटिएपछि सृष्टिको कलिलो मस्तिष्कमा त्रास मात्र भरिएको छ। त्यसयता उनी चयनसँग बस्न र सुत्न नसक्ने भएकी छन्। आफैंसँग खेल्दै हुर्किएको भाइलाई गुमाउँदा उनीमा भूकम्प भन्ने डराउँछिन्।

थाप्लेकै १२ वर्षीय बालक गिरिशजंग शाह, १७ वर्षकी प्रकृति शाह र उनकी दिदी १९ वर्षीया प्रतीक्षा शाहले भूकम्पमा बल्लतल्ल ज्यान जोगाए। उनीहरूको पनि सुतिरहेको अवस्थामा घर भत्कियो। घरले थिचेपछि उनीहरू बाहिर निस्कन पाएनन्। तर, आफन्त र छिमेकीले करिब २ घण्टा लगाएर उनीहरूलाई सकुशल भत्किएको घरबाट बाहिर निकाले। प्रकृतिको खुट्टामा चोट लागेको छ। बल्लतल्ल ज्यान जोगिए पनि उनीहरूको मानसिक अवस्था बिग्रेको छ। १२ वर्षका गिरिशजंग भन्छन्, ‘हामी निदाएका थियौं, भूकम्प आएको थाहा नै पाएनौं। घरले थिचेपछि निद्रा खुल्यो, तर बाहिर निस्कन सकेनौं।’

उनले छिमेकीको सहयोगमा बाहिर निस्कन सफल भए पनि त्यो रात सम्झँदा अहिले पनि मन आत्तिने सुनाए। पहिलेको जस्तो खान र खेल्नसमेत मन नलाग्ने गरेको उनको भनाइ छ। अहिले रातको समयमा सुत्नसमेत डर लाग्ने गरेको उनले बताए। भने, ‘भूकम्प भन्ने त सुनको थिएँ, तर यसरी घर भत्काउँछ भन्ने देखेको थिएनँ। हामी त बाँच्यौं, तर हाम्रा धेरै साथीहरू गुमे।’ 

nullभूकम्पको त्रासमा आमासँग झुम्मिएर बसेका बालबालिका। तस्बिर : राजेन्द्र कार्की

जाजरकोट भूकम्पका कारण हालसम्म १ सय ५३ जनाको मृत्यु भएको छ। त्यसमध्ये आधाभन्दा धेरै बालबालिका परेका छन्। भूकम्पबाट अधिकांश बालबालिका घाइते बनेका छन्। तर, भूकम्पमा बाँच्न सफल भएका बालबालिकाहरूमा हिजोआज मानसिक समस्या देखिन थालेको छ। भेरी नगरपालिका–३ कै जानुका सिंहका १० वर्षका छोरा सुजन केसी र ७ वर्षका सुशान्त केसी पनि भूकम्पमा बाँच्न सफल भए। 

तर, उनीहरूको बाल मस्तिष्कमा डर पैदा भएको छ। जानुका भन्छिन्, ‘भूकम्पले बालबालिकाहरूमा धेरै समस्या देखियो, बारम्बार झस्किरहन्छन्। टोलाउने र रातको समयमा बर्बराउने गर्छन्, उनीहरूले पढ्न सक्ने अवस्था पनि छैन।’ उनका अनुसार भूकम्पमा बाँचेका बालबालिकाहरू पनि सँगैका साथीहरू गुमाएका कारण भूकम्प भन्नेबित्तिकै डराउने गरेका छन्। 

८२ बालबालिकाले गुमाए ज्यान

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ। त्यसमध्ये जाजरकोटमा मात्र ५१ जना बालबालिकाको मृत्यु भएको छ। 

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार २९ जना बालक र २२ जना बालिकाको भूकम्पमा ज्यान गएको छ। यस्तै रुकुमपश्चिममा भने ३१ जना बालबालिकाको ज्यान गएको छ। रुकुमपश्चिममा जम्मा ५२ जनाको ज्यान गएकोमा ३१ जना बालबालिका छन्। 

भूकम्पमा परी ठूलो संख्यामा बालबालिकाको ज्यान गएको र धेरै जना घाइते भएका छन्। यद्यपि घाइते भएका बालबालिकाहरूको एकीन तथ्यांक आउन सकेको छैन। तर, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले भने भूकम्पमा घाइते भएकाहरूमा आधाभन्दा धेरै बालबालिकाहरू नै भएको बताएका छन्।

‘तत्काल मनोपरामर्शदाता खटाउँछौं’

बालबालिकामा मानसिक समस्या देखिन थालेपछि सरोकारवालाहरूले तत्काल परामर्श आवश्यक रहेको बताएका छन्। भूकम्पका कारण बालबालिकामा डराउने, त्रसित हुने, टोलाउने, झस्किने र बर्बराउने समस्या देखिएको भन्दै उनीहरूले तत्काल मनोपरामर्श सेवा उपलब्ध नभए गम्भीर मानसिक समस्या उत्पन्न हुने बताएका हुन्।

लामो समयदेखि मनोपरामर्श सेवा प्रदान गर्दै आएकी सञ्चिता कुइँकेलले भनिन्, ‘भूकम्पको प्रभाव सबैभन्दा धेरै बालबालिकामा देखिएको छ, सँगै खेल्ने र रमाउने साथीहरू गुमाउँदा उनीहरूमा त्रास पैदा भएको छ। 

बाँच्न सफल भएकाहरू पनि अहिले त्रसित छन्, उनीहरू रातमा निदाउन नसक्ने अवस्था छ।’ यो समस्यालाई समयमै सम्बोधन नगरेमा बालबालिकाहरूमा गम्भीर मानसिक समस्या देखिने उनको भनाइ छ। मानसिक अवस्था बिगँ्रदै गएमा उनीहरूको शारीरिक अवस्था पनि बिग्रने र पढाइ पनि बिग्रने बताइन्।

बालबालिकाहरूमा देखिएको यो समस्या समाधानका लागि स्थानीय सरकारले चासो दिएर काम गर्ने बताएका छन्। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बालबालिकामा भूकम्पका कारण ठूलो मानसिक समस्या देखिएको भन्दै तत्काल दक्ष मनोपरामर्शदाता आवश्यक रहेको बताए।

उनले भने, ‘यो भूकम्पले बालबालिकामा गहिरो डर भरेको छ, यस्तो अवस्थामा उनीहरूलाई सामान्य अवस्थामा फर्काउने चुनौती छ। यसका लागि नगरपालिकाले तत्काल दक्ष मनोपरामर्शदाता परिचालन गर्ने योजना बनाएको छ, हामी विभिन्न संस्थाहरूसँग मिलेर तत्काल परामर्शदाता खटाएर बालबालिकामा देखिएको मानसिक समस्या समाधान गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.