जाजरकोट भूकम्प

सम्पत्ति पुरियो, कहिले हुन्छ उत्खनन ?

सम्पत्ति पुरियो, कहिले हुन्छ उत्खनन ?
जाजरकोटको भेरी नगरपालिका–३ माथिल्लो थाप्लेमा भूकम्पले भग्नावशेष बनेका घरहरू।  तस्बिर : शंकरप्रसाद खनाल
सुन्नुहोस्

जाजरकोट : थाप्ले बसपार्कबाट उकालो चढ्दै जाजरकोट दरबार जाने बाटोका कच्ची घरसोत्तर भएर ढलेका छन्। घरका काठदाउरा र ढुंगामाटोले बाटो पनि पुरिएको छ। अवशेष नाघ्दै हिँड्नुपर्छ। भाँडाकुँडा, टिभी, लुगाहरू छरपस्ट रूपमा पुरिएको देखिन्छ। भग्नावशेष अघि कुरुवा झैं घरधनी बसेका छन्। यो दृश्य भूकम्प प्रभावित जाजरकोटको भेरी नगरपालिका–३ माथिल्लो थाप्लेको हो। जहाँका स्थानीय घर भत्किएको पीडासँगै भग्नावशेषमा भएको धनसम्पत्ति संरक्षण गर्न नपाउँदा मारमा छन्। 

माथिल्लो थाप्लेकी विष्णु घर्र्तीको सिलाइ कटाइबाट जीविका चल्थ्योे। शुुक्रबार गएको भूकम्पमा उनको घर भत्कियो। सिलाइ मेसिन पनि पुरियो। उनले आफ्नै घरमा आफूखुसी मेसिन खोज्न उत्खनन् गर्न पाएकी छैनन्। भन्छिन्, ‘२० हजार नगद पनि पुरिएको छ। निकाल्न पाए राहतको आस गर्न पर्दैनथ्यो।’ यस्तो समस्या विष्णु एक्लैको मात्र छैन। माथिल्लो थाप्लेका झन्डै दुई सय घरधुरीले भोगिरहेका छन्। माथिल्लो थाप्लेकै सपना शाही पनि घर उत्खनन गर्न उद्धार टोली नआएको बताउँछिन्। उनले लगाएका बाहेकका लुगा भत्किएको घरमा पुरिएका छन्। ‘न त खान अन्न छ। न लगाउने लुगा नै छ ?’, उनी गुनासो गर्छिन्, ‘अन्न भएर भोकै र कपडा भएर पनि नाङ्गै सुत्नुपर्ने भएको छ।’

पक्की घर चर्किएका मात्र छन्। यहाँका माटोको गारो भएका, ढुंगाकोे छाना भएका अधिकांश पुराना घर भत्किएका छन्। घरको भग्नावशेष अघि कतिको खुला आकाशमा त कतिको त्रिपालमा बास छ। घरको सम्पत्ति कुरेर बसे झैं छन्, घरधनीहरू। प्रहरी आएर मुचुल्का उठाए मात्र घर उत्खनन हुन्छ। स्थानीयले आफ्नै घर आफूखुसी उत्खनन गर्न पाउँदैनन्। जसका कारण घरमा पुरिएको सामान निकाल्न सकिएको छैन। पैसा, मोबाइल, ल्यापटप, लगाउने लुगा, खानेकुरा, भाँडाबर्तन पनि निकाल्न नसकिएको भूकम्पपीडितको गुनासो छ। उनीहरू चाँडोभन्दा चाँडो घर उत्खनन गरेर सघाउन सरकारसँग आग्रह गरिरहेका छन्।

जिल्लामा भूकम्पबाट भत्किएका घरको उत्खननमा ढिलाइ भइरहेको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार भने उत्खननको काम सुरु भइसकेको दाबी गर्छन्। ‘घर भत्केर मान्छे पुरिएको छन् भन्ने कतै सूचना पाइएको छैन’, उनले भने, ‘नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र युवाहरूको सहयोगमा हामीले हिजोदेखि नै उत्खननको काम सुरु गरिसकेका छौं। काम जारी छ।’ भूकम्पले जिल्लाका भेरी र नलगाड नगरपालिकासहित ७ स्थानीय तहमा करिब एक हजार तीन सयभन्दा बढी घर भत्किएको प्रजिअ सुनारले अनुमान गरे। उनले प्रष्ट पारे, ‘अझै कति घरमा क्षति पुगेको छ भन्ने एकिन तथ्यांक आइसकेको छैन। सम्भवतः भोलिसम्म डाटा तयार होला ?’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.