काठमाडौं : भूकम्पमा परी घाइते भएका २८३ जना डिस्चार्ज भएका छन्। विभिन्न अस्पतालमा उपचारत उनीहरू निको भएपछि घर फर्किएका हुन्। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ३७२ जना घाइते भएका थिए।
घाइतेमध्ये २८३ जना उपचारपछि स्वास्थ्य लाभगरी घर फर्किएको प्रहरीले बताएको छ। घाइतेमध्ये ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइते १ जनाको ट्रमासेन्टर काठमाडौंमा, १० जनाको टिचिङ अस्पताल काठमाडौं,३४ जनाको भेरी अस्पताल नेपालगञ्ज,२१ जनाको प्रदेश अस्पताल सुर्खेत र १२ जनाको जाजरकोट जिल्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उपचारत घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ४२ जना मध्यम र ३९ जना सामान्य अवस्थाका घाइतेको उपचार भइरहेको छ।
भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको छ। हजारौं भौतिक संरचना भत्किएका छन्। भूकम्प पीडितहरुका राहत,उद्दार र पुनरस्थापनाका लागि विभिन्न राजनीतिक दल, स्थानीय तह,संघसंस्था र दातृनिकायले सहयोगको घोषणा गरिरहेका छन्।
पीडितहरूको उद्धार कार्य र राहत वितरण जारी छ। तर राहत नपाएका कतिपय भूकम्पपीडितले खुला ठाउँमा भोकै रात कटाउन बाध्य भएको गुनासो गरेका छन्।
भूकम्प गएको एक हप्ता वितिसक्दा भूकम्पपीडितहरूले पर्याप्त मात्रामा राहत नपाएको दु:खेसो पोखेका छन्। अत्यावश्यक सामग्री नपाउँदा कतिपय भूकम्पपीडित बिरामी पर्न थालेका छन्।