छक्क पार्ने हिमाल

पर्यावलोकन

छक्क पार्ने हिमाल

सजिलो गरी हिँडेका धेरै ठाउँमा हिमनदी भासिएर अब त ‘एंकर’को डोरीमा झुन्डिएर पार गर्नुपर्ने भइसकेछ। गोक्यो निस्कने बेलामा त मै छक्क परें।

बाहिरी आँखाले हेर्दा हिमालका चुलीहरू सधैं उस्तै देखिन्छन्। तर हिमालको फेदी सधैं चलायमान हुन्छ। हिमाल धान्ने भूगोल नै सधैं चलायमान हुने हुँदा यसका चुलीहरूको आरोहण पनि कहिल्यै खतरामुक्त हुँदैन। जमिनमा उभिएको कुनै पनि हिमाललाई धान्न जमिनभित्र झनै ठूलो हिमाल लुकेको हुन्छ।

बाहिरी तापले गर्दा हिमालको हिउँ पग्लिन्छ र त्यो पानी त्यहाँका चट्टानका छिद्रहरूमा छिरिरहन्छ। फेरि चिसो बढेपछि त्यो पानी त्यही छिद्रमा जमेर हिउँ बन्दछ। हिउँ बन्नेबित्तिकै यसको आयतन पनि बढ्छ। सयौं वर्षदेखि यही प्रक्रिया निरन्तर भइरहेको हुँदा हिमाली भूगोल क्रमशः 
छ्यान्द्रो हुँदै गएको हुन्छ।

null

सगरमाथाको आरोहण गर्ने क्रममा पनि खुम्बु आइसफलको बाटोमा हिँड्दा सूर्योदयभन्दा पहिले नै पार गरिसक्नु पर्ने, धेरै गरुंगो भारी बोकेर हिँड्नु पनि नहुने, धेरै जना एकै ठाउँमा उभिनु पनि नहुने र साँच्चै भन्ने हो भने सास पनि थोरै मात्र फेरेर सटाकसुटुक त्यहाँबाट  निस्किहाल्नु पर्ने कुराले पनि हिम–धरातलको यस्तै छ्यान्द्रोपनालाई नै संकेत गर्दछ।

हिमाली क्षेत्रमा जमिनमुनि नै हिमनदीहरू चलायमान रहिरहने हुँदा राति पालभित्र सुतेका बेला पनि भूकम्प गएजस्तो, सुतेको ओछ्यान पनि आफैं बग्दै कतै गएजस्तो, जमिनमुनिबाट पनि कुनै कर्कश आवाज आएजस्तो भइरहन्छ। हिमालका चुचुराहरूबाट हिमपहिरो खसेर भयंकर ठूलो बम विस्फोट भएजस्तो आवाज आउनु र दिउँसोको समय भए पूरै धुवाँ उडेकोजस्तो देखिनु पनि सामान्य घटना नै हुन पुग्छन् यस क्षेत्रमा।

हिमनदी भनेको आधा हिउँ र आधा बगेको पानी होइन, यो त जमिनमुनि नै दबेको र नदेखिने पनि हुन सक्छ। जब बाटोमै क्रसर उद्योगले थुपारेका जस्ता गिटी, ढुंगा र बालुवाका ठूलाठूला थुप्राहरू देखिन थाल्छन्, तब थाहा पाइहाल्नु पर्छ कि हामी हिमनदीमाथि हिँडिरहेका छौं।​​​​​​​ null

पंक्तिकार कुनै भूगर्भविद् वा भूगोलको विद्यार्थी पनि होइन। त्यसैले आधिकारिक रूपमा यस्तै हो भन्न त सक्तिनँ। तर आजभन्दा दुई वर्षअघि जब पाँचौं पटक सगरमाथाको आधारशिविर पुगें– तब हिँड्ने बाटो, सतह र हिमनदीको स्वरूप सबै सबै नै बदलिएको देखें। योभन्दा पहिले नाम्चेबाट तेङ्बोचे, दिबुचे, पाङ्बोचे, दिङ्बोचे, फेरिचे, थुक्ला, लोबुचे र गोरक्सेप हुँदै कालापत्थर वा सगरमाथाको आधारशिविरसम्म पुगिन्थ्यो। तर यसपटक बाटोमा फेरिचे आउँदै आएन।

दिङ्बोचे जाने पुरानो बाटो पनि आएन। अर्कै बाटो गइयो र फेरिचेसँग भेट नै नभई सीधै अर्कै डाँडो उक्लेर लोबुचे पुगियो। लोबुचे जाँदा बाटोमै पर्ने थुक्लाको हालत पनि धेरै नै पातलो भएको देखें। हिजो देखेका हिमनदीहरूले बगर फैलाएर बस्तीलाई खतराको घण्टी बजाइरहेको देखेको थिएँ। यसपटक तिनै हिमनदीहरू पूरै इनारा झैं भासिएको देखें।

गाउँभित्र चोक, गल्ली र सहर बढ्दै छन्। सहरमा पनि धेरै गाउँहरू छन्। काठमाडौंभित्र हाँडीगाउँ, मालीगाउँ, थापागाउँजस्ता प्रसिद्घ ठाउँ छन्, जसले गाउँको गुण र स्वभाव गुमाइसकेका छन्।

चोयु हिमालको फेदीमा रहेको गोक्यो गाउँ जाने क्रममा एक ठाउँमा त यस्तो पनि देखियो कि हिँडिरहेको बाटो पूरै धाँजा फाटेको थियो। यात्राका सहयोगी भाइले भने– ‘चाँडो चाँडो हिँडेर पार भइहालौं। यस्तो फाटेको जमिनको कुनै भर हुन्न। छेउमै बगर भासिएर त्यति गहिरो पोखरी बनेको छ। वरिपरि पूरै खतरा छ सर। भागौं, भागौं।’

नभन्दै हामीले पनि दौडेरै त्यो ठाउँ पार गर्‍यौं। अलि पर पुग्दा हाम्रो पछाडिबाट कुनै खतरनाक आवाज आएको सुन्यौं। पछाडि फर्केर हेरेको त अघि हामी हिँडेर आएको बाटो त पूरै पातालमा भासिइसकेको रहेछ। ज्यान थरर्र काम्यो। कसो बालबालले बाँचिएछ।

पहिले सजिलो गरी हिँडेका धेरै ठाउँहरूमा हिमनदी भासिएर अब त एङ्करको डोरीमा झुन्डिएर पार गर्नुपर्ने भइसकेको रहेछ। गोक्यो निस्कने बेलामा त मै छक्क परें। हिमाल भनेको सामान्य भूगोल होइन। त्यही भएर त सारा संसारले नै मान्छ नि !
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.