भूकम्पबाट २ अर्ब बढीको आर्थिक क्षति

भूकम्पबाट २ अर्ब बढीको आर्थिक क्षति
भूकम्पका कारण जाजरकोटमा भत्किएका घरहरूको उत्खनन गर्दै नेपाली सेना।
सुन्नुहोस्

सुर्खेत : भूकम्पका कारण कर्णालीमा दुई अर्बभन्दा बढीको आर्थिक क्षति भएको छ। यही कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण कर्णालीमा २ अर्ब २४ करोडबराबरको आर्थिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा जाजरकोट र रुकुमपश्चिममा यो क्षति भएको उल्लेख छ। 

भूकम्पका कारण भएको क्षतिको विवरण संकलन हुने क्रम जारी नै रहेको भन्दै मन्त्रालयले शुक्रबारसम्मको तथ्यांकअनुसार प्रभावित जिल्लामा २ अर्ब २४ करोड रूपैयाँबराबरको आर्थिक नोक्सान भएको अनुमान गरेको हो। जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको ज्यान गएको भूकम्पमा ठूलो भौतिक क्षति भएको छ। भौतिक क्षतिको अन्तिम विवरण आउन बाँकी रहे पनि मन्त्रालयले आर्थिक क्षतिको मात्रा बढ्न सक्ने अनुमान गरेको छ। मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायाका अनुसार भूकम्पका कारण सबैभन्दा क्षति जाजरकोट र रुकुमपश्चिममा भएको छ। भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, जुम्ला र दैलेखमा गरी १३ हजार १ सय २४ वटा घर पूर्णरूपमा क्षति भएका छन्। ११ हजार १ सय ९३ वटा घरमा आंशिक क्षति पुगेको छ। 

मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार जाजरकोटमा ९ हजार ७ सय ९४ वटा घरहरू पूर्णरूपमा ध्वस्त भएका छन्। यस्तै, त्यहाँ २४ हजार ७ सय ७ वटा घरहरूमा आंशिक क्षति पुगेको छ। त्यसैगरी रुकुमपश्चिममा ३ हजार १ सय ७४ वटा घरहरू पूर्णरूपमा क्षति भएका छन्। त्यहाँ ८ हजार ३ सय ५८ घरमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार भूकम्पमा परी ३ सय ७२ जना घाइते भएको मन्त्रालयको भनाइ छ।

यस्तै, भूकम्पका कारण १ सय ६ वटा विद्यालयमा क्षति पुगेको छ। मन्त्रालयका अधिकृत रोकायाले भने, ‘भूकम्प प्रभावित जिल्लामा निजी घरहरूसँगै विद्यालयका भवनहरू पनि भत्किएका छन्। १७ वटा विद्यालयहरू पूर्णरूपमा भत्किएका छन्। ८९ वटा विद्यालयहरूमा आंशिक क्षति पुगेको छ भने केही सरकारी कार्यालयका भवनहरू पनि भत्किएका छन्।’ उनका अनुसार ३१ वटा सरकारी कार्यालयका भवनहरूमा क्षति पुगेको छ। ६ वटा सरकारी कार्यालयहरू पूर्णरूपमा भत्किएका छन् भने २५ वटा कार्यालयका भवनहरूमा आंशिक क्षति पुगेको छ। सरकारी कार्यालयहरू भत्किएका कारण सेवा प्रवाह प्रभावित बनेको मन्त्रालयले जनाएको छ। 

भूकम्पका कारण प्रभावित भएका जिल्लाहरूमा १३ हजार नागरिक विस्थापित भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार घरबारविहीन बनेपछि १३ हजार १ सय २४ जना नागरिक विस्थापित भएका हुन्। उनीहरू हाल त्रिपालको सहारामा रहेको मन्त्रालयको भनाइ छ। यस्तै भूकम्पका कारण हालसम्म ११ हजार १ सय ९३ जना नागरिक भने प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.