सरकारबाटै नयाँ आन्दोलन सुरु गरिरहेका छौं, अझै अगाडि बढाउँछौं : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट पनि नयाँ आन्दोलनको सुरू गरिसकेको बताएका छन्। पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबार कीर्तिपुरको कार्यक्रममा बोल्दै आन्दोलनको सुरू गरिसकेकाले अझै अगाडि बढाउने धारणा राखेका हुन्।
उनले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको स्पष्ट पारे। उनले भने,‘२०८४ मा हामी ६४ जस्तै जनताको पक्षमा उभिन सक्छौं कि सक्दैनौ ? हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरू गरिसकेका छौं। यसलाई अझै अगाडि बढाउँछौं।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको आरोप लगाए। उनले जनताको भरोसा र विश्वास जित्न सकिन्छ कि सकिँदैन त्यसतर्फ सोच्न कार्यकर्तालाई आग्रह गरे। उनले पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको धारणा राखे। उनले भने,‘कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु। जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य विषय हो । अर्थतन्त्रमा केही सुधार भएको छ, राजश्व पनि वृद्धि हुन थालेको छ।’
उनले अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्ने जानकारी गराए।