तिहारमा कुचोको महत्त्व अझै उच्च

तिहारमा मात्रै १० करोडको कुचो बिक्री

तिहारमा मात्रै १० करोडको कुचो बिक्री
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङबाट संकलन गरी झापाको बिर्तामोडस्थित हेवन वार्टर पार्क नजिकै ल्याएर सुकाइ राखिएको अम्रिसोको कुचो । रासस फाइल

काठमाडौं : तिहारमा लक्ष्मीपूजाको विशेष महत्त्व छ। धनकी देवी लक्ष्मीको पूजाका लागि घर, अफिसका कुना–कुना सफा गर्ने गरिन्छ। माता लक्ष्मी खुसी पार्नका लागि सुन, चाँदी, तामा, पित्तललगायतका सामानहरू जोड्ने चलनमा पनि छ। यीसँगै माता लक्ष्मीको प्रिय वस्तु कुचो किन्ने पनि प्रचलनमा छ। अन्य धातुका सामान किन्न नसके पनि लक्ष्मीपूजाका लागि भनेर नयाँ कुचो किन्ने संस्कृति रहेको छ।

कुचोको शास्त्रीय महत्त्व रहेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन्। लक्ष्मी पूजाको दिन कुचो भए पनि किन्नु र लक्ष्मी पूजा गर्दासँगै राखेर पूजा गर्नुभन्ने मान्यता रहेको उनी बताउँछन्। 

नेपालमा करिब २ अर्बको कुचो उत्पादन हुने गरेको छ। सधैंजसो कुचोको महत्त्व भए पनि अन्य समयको भन्दा तिहारमा कुचो माग बढी हुने गरेको संघको तथ्यांक छ। वार्षिक रूपमा करिब १ अर्ब रुपैयाँको कुचो आन्तरिक रूपमा खपत हुने गरेको छ। तिहारको समयमा मात्रै करिब १० करोडको कुचोको किनबेच हुने गरेको कार्कीको भनाइ छ। अम्रिसो प्रतिकिलोग्राम मूल्य करिब १२० रुपैयाँ छ। एउटा कुचो बनाउन २ सयदेखि ३ ग्राम अम्रिसो चाहिन्छ। कुचोमा नेपाल आत्मनिर्भर छ। आत्मनिर्भर मात्रै नभई करिब १ अर्ब बराबरको कुचोे भारत निर्यात गर्ने गरिएको संघ अध्यक्ष कार्कीले जानकारी दिए। 

‘कुचो पनि निर्यात गर्छौँभन्दा अचम्म लाग्न सक्छ। केही वर्ष अघिसम्म भारत, चीनबाट नै कुचो आयात हुने गरेको थियो। तर, अहिले हामी कुचोमा आत्मनिर्भर भएका छौं,’ उनी भन्छन्। गत आर्थिक वर्षमा १ अर्ब बराबरको कुचोको कच्चापदार्थ अर्थात् अम्रिसो भारत निर्यात भएको छ। अघिल्लो वर्ष करिब ७० करोड अम्रिसो भारत निर्यात भएको थियो। कुचोले विदेशी मुद्रा कमाइरहेको कार्की बताउँछन्।

  • लक्ष्मी पूजाको दिन कुचो भए पनि किन्नु र लक्ष्मी पूजा गर्दासँगै राखेर पूजा गर्नुभन्ने मान्यता रहेकाले पनि बिक्री बढेको व्यवसायीको भनाइ।
  • नेपालमा वार्षिक करिब २ अर्बको कुचो उत्पादन हुन्छ। र, वार्षिक करिब १ अर्ब रुपैयाँको कुचो आन्तरिक रूपमा खपत हुन्छ। 
  • तिहारको समयमा मात्रै करिब १० करोडको कुचोको किनबेच हुने नेपाल कुचो संघको दाबी। कुचो बनाउने सिजनमा करिब १० हजारले प्रत्यक्ष रोजगारी पाउने।

निर्यातजन्य उद्योगमा शून्य भन्सार नीति र भारतले पनि भन्सार छुट दिएकाले त्यहाँ निर्यात बढेको हो। बंगलादेशमा पनि भन्सार नै महँगो भएकाले बजार विस्तार गर्न नसकिएको कार्कीले बताए। नेपालमा विशेष गरी अम्रिसो भन्ने घाँसबाट बनेको कुचोको प्रयोग बढिरहेको छ। गाउँघरदेखि सहरसम्म र पूर्वदेखि पश्चिमसम्म नै कुचोको महत्व छ। 

अम्रिसो बहुउपयोगी पनि छ। अम्रिसो स्थानीय रूपमा उपलब्ध हुन्छ भने यसको फूलबाट कुचो र डाँठ तथा पात गाईवस्तुलाई खुवाउँदा दूध बढ्ने बताइन्छ। साथै वातावरणनीय हिसाबले पनि अमरिशोको महत्व छ। डाँडा पखेरामा लगाइने भएकाले पहिरोको जोखिमलाई पनि यसले न्यूनीकरण गर्छ। 

अम्रिसोको कुचो स्थानीय कच्चा पदार्थ र सीपमा आधारित छ।  यसले विशेष गरी महिला, अशक्त, पिछडिएको वर्ग तथा विपन्नलाई उद्यमीसमेत बनाएको छ। अम्रिसो हिउँ र तुसारो नपर्ने पहाडका डाँडा पाखामा सजिलै उत्पन्न हुन्छ। नेपालमा विशेषगरी इलाममा व्यावसायिक खेती गरिएको छ भने मुलुकका करिब ४३ जिल्लामा अमरिशोको खेती हुने गरेको संघको तथ्यांक छ। 

कुचो कृषकको जीवन पद्धतिसँग नै जोडिएको छ। अहिले कुचोको व्यावसायिक उत्पादनका लागि कारखाना नै खोलेर काम भइरहेको छ। करिब १५ कारखाना कुचोको व्यावसायिक उत्पादनका लागि भनेर संघमा दर्ता भएको अध्यक्ष कार्की बताउँछन्। काठमाडौं, भैरहवा, विराटनगर, वीरगन्जलगायतका सहरमा कारखाना दर्ता भएका छन्। विशेष गरी महिला, पिछडिएका वर्गलाई कुचो उत्पादनको सिप सिकाएर व्यावसायिक उत्पादन गरिँदै आइएको छ भने गाउँघरमा पनि आफूले चाहिने कुचो उत्पादन गर्ने गरिन्छ। बजारमा ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्मका कुचोहरू पाउन सकिन्छ। 

अम्रिसो वर्षेबाली हो। माघ, फागुनमा अम्रिसो काटेर त्यसलाई घाममा सुकाइन्छ। सुकेपछि त्यसको फूलबाट कुचो बनाइन्छ। नेपालमा करिब १ लाख किसान प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसमा जोडिएका छन्। कुचो बनाउने सिजनमा करिब १० हजारले प्रत्यक्ष रोजगारी पाउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.