डा. स्वामीको त्यो आशीर्वाद

संस्मरण

डा. स्वामीको त्यो आशीर्वाद

३० वर्षे राई कनिकुथी अक्षर पढ्छन् अनि वेदमा विद्यावारिधि गरी नामअगाडि डा. स्वामी प्रपन्नाचार्य लेखाउँछन्।

‘मानिसको वर्ण (जात) गुण र कर्मका आधारमा मात्र स्थापित हुने होे, जन्मका आधारमा कदापि होइन’। श्रीमद्भगवद्गीता ४(१३), १८ (४÷४५)े ले स्पष्ट पारे झैं दृढ मान्यता राख्ने मान्छे हुँ म। इतिहास र पुराणमा यसका प्रशस्त आधार छन् ः क्षत्रीय जन्मका विश्वरथ राजा विश्वामित्र ऋषि बनेका, शुद्रजन्मा मत्स्यकन्याका पुत्र ऋषि व्यास बनेका, डाँकु रत्नाकर वाल्मीकि बनेका।

तर यही प्रसंगमा हाम्रै समयमा आफ्नै माटोमा हुर्केबढेका र आठ वर्षअघि यस धर्तीबाट बिदा भएका एक महापुरुषलाई भने बिर्सने गर्दछौं : काले राई जो अन्ततः डा. स्वामी प्रपन्नाचार्यका रूपमा ज्ञान, प्रज्ञा एवं सनातन संस्कृतिका धरोधर भए। उनीसँग बालककालदेखि नै सान्निध्य पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। उनलाई म आफ्नो जीवनको प्रेरणास्रोत नै मान्छु।

पूर्वाञ्चलमा नै पनि अति विकट क्षेत्र पाँचथरको बरडाँडामा गरिब कृषक राई परिवारमा सय वर्षअघि (१९८०) मा जन्मिएका हुन् काले राई। उनको बाल्यकाल त्यहींका डाँडाकाँडा—खेत—धूलोमाटोमा लड्दै—पढ्दै, चकचक—बिगो गर्दै, आमाबा—अभिभावकहरूको गाली—पिटाइ खाँदै बित्यो। उनको भोक कहिल्यै मेटिँदैनथियो रे। एक थुन्चे उसिनेको स्कुस होस् या तीन माना कसौंडीको चामल, एकैपटक एक्लै खाइदिन्थे रे उनी। जोसमनी सम्प्रदायमा अभ्यस्त उनको परिवार महागुरु फाल्गुनन्दको संगतमा थियो। आठ वर्षका बालक काले आमाबाका साथ त्यहाँ जाने गर्थे। गुरुको आशीर्वादले भन्दा पनि उनले दिने चिनीपापाले उनलाई तानेको थियो रे त्यो बेला। तर त्यहाँको वातावरणले उनलाई भजनकीर्तन गाउने—सिक्ने हुटहुटी भने जगाइदिएको हुनुपर्छ। अनि ज्ञानको भोक पनि सुषुप्त अवस्थामा उब्जिएको हुनु पर्दछ उनमा।

तर गरिबी अनि घरायसी धन्दामा नै पिल्सिएको परिवारमा उनी भने काम नलाग्ने नै ठहरिएका थिए। ‘यो कालेले केही गरेर खान सक्दैन’ भन्थे रे परिवारका सदस्यहरू। यही ईख (?)ले पो केही गर्‍यो कि उनको मन—मस्तिष्कमा ? त्यो बेलाको चलन मुताबिक नै पनि होला, उनी केही व्यक्तिका साथ लागेर भारततिर लागे। अकस्मात घर छोडेर हिँडेका उनले अनेक दुःखकष्ट खेपे। ती दुःख सहन नसकेर साथै गएकाहरू सबै फर्किए तर उनी भने दृढ निश्चयका साथ कर्तव्यपथमा अडिग रहे। भोकै बस्नुपर्ने, नांगै रहनुपर्ने, सडकमै सुत्नुपर्ने, अर्काको घरमा भाँडा माझ्नेजस्ता सबै किसिमका हण्डर सहे उनले। तर दैवको लीला ! यसरी घरघरै चहारेर पेट पाल्ने कामको खोजी गरिरहेका उनले एउटा शिक्षित—सुसंस्कृत परिवारमा रहने मौका पाए। ३० वर्षको उमेरमा उनले अक्षर चिन्ने अवसर पाए त्यहाँ। यसरी झन्डै एकतिहाइ आयु सकिसकेपछि उनको जीवनको अर्को अध्याय सुरु भयो।

काले राईलाई संस्कृत पढेर विद्वान् बन्नु थियो। तर सानो शरीर, चिम्सो आँखा, बल्लबल्ल अक्षर खुट्ट्याउन सक्ने भएका उनलाई त्यो लक्ष्य भेट्टाउन ‘फलामको चिउरा चपाउन’भन्दा कठिन थियो। तर न त उनले हिम्मतै हारे, न त विद्याको सहर काशीले नै उनलाई निराश पार्‍यो। अन्ततः उनले उद्देश्य प्राप्ति गरेरै छोडे। सानै उमेरमा नेपाल घर छाडेका, ३० वर्षको उमेरमा बल्ल अक्षर चिनेका काले राई, झन्डै ६० वर्षको उमेरमा स्वदेश फर्कंदा डा. स्वामी प्रपन्नाचार्य भइसकेका थिए।

विचार गरौं त ! स्वामी भन्नासाथ ‘चुच्चो नाक, ठूलो कद, बाटुला आँखा, ब्राह्मण कुल जन्म’ आदि बाहिरी अवयवहरूतिर मात्र ध्यान जाने हाम्रो समाजलाई ‘चेप्टो नाक, छोटो कद, चिम्सा आँखा, राई वंशज’ कालेलाई त्यो समयमा ‘स्वामी’का रूपमा स्थापित गराउन ठूलै छाती चाहिएन होला त ? हुन पनि हो, आफूलाई सर्वश्रेष्ठ जातिका रूपमा मान्ने, वेदपुराण, धर्मसंस्कृतिका ठेकेदार ठान्ने ब्राह्मण समुदायले त उनको विद्वत् पहिचानलाई रुचाएन नै, आफूलाई सदा ‘दलित’कै रूपमा खुम्च्याएर राख्ने उनका राई—किराँत बन्धुहरूले समेत उनलाई बाहुनवादतिर लहसिएको आरोप लगाए।

भारतमा विभिन्न आश्रम अनि मठको अधिकारी भएर रहन पाउने अनेक किसिमका प्रस्ताव—प्रलोभनको बेवास्ता गरी स्वदेशमा नै सनातन संस्कृति, वेदज्ञानको उत्थान अनि अभ्युदयको सपना देखेर घर फर्केका स्वामीलाई दुवैतर्फबाट अस्वीकृतिको पीडा झेल्नुपर्‍यो। तर पनि अनवरत रूपमा कर्मयोगमा नै डटिरहे उनी। नेपाली, हिन्दी, संस्कृत, किराँत चार भाषामा करिब ६० कृति प्रकाशित भए उनका। वेदान्तमा विद्यावारिधि गरेका उनको ‘वेदमा के छ ?’ भन्ने कृति सर्वलोकप्रिय नै रह्यो। करिब १२ वर्षअगाडि २०६८ मंसिरतिर चिकित्सकको हैसियतमा उनको स्वास्थ्य परीक्षण गर्न मृगस्थलीस्थित उनको आश्रम पुगेको थिएँ। उनको सानो अनि परम्परागत शैलीको निवासमा उनले पाएका प्रमाणपत्र, सम्मानपत्र, तस्बिरहरू यत्रतत्र छरिएर रहेका थिए।

अन्ततः गुण र कर्मका आधारमा ब्राह्मणको श्रेणी प्राप्त गरेका उनको कदर गर्न बाध्य भयो समाज। तत्कालीन राजपरिवारले राजसभा स्थायी समितिमा मनोनीत नै गरेको थियो उनलाई। उनले गरेका सामाजिक कार्यहरू पनि उल्लेखनीय नै छन्। व्यक्ति निर्माणको पवित्र उद्देश्य लिएर स्थापित मातृभूमि सेवक संघको संस्थापक एवं संरक्षकका रूपमा अनि सोही संघले आयोजना गर्ने शिक्षण शिविरहरूमा सर्वाधिकारीका रूपमा उनको उपस्थिति सदा सम्झन्छु म। अनि त्यही संघको सनातन धर्मसंस्कृतिको चेतना दिने लक्ष्य मुताविक उनकै प्रस्तावमा स्थापित भएको हिन्दू विद्यापीठ नेपालको स्थापनाकालदेखिकै विद्यार्थी हुँ म।

डा. प्रपन्नाचार्यको आशीर्वादले मेरो जीवन उज्जिल्याएको अर्को प्रसंग पनि छ। २०५५ सालको चैत्र महिना, हिन्दु विद्यापीठ बालकुमारीमा मातृभूमि सेवक संघको शिक्षण शिविर लागेको थियो। त्यसका सर्वाधिकारी स्वामी प्रपन्नाचार्य अनि म सहभागी स्वयंसेवक। बिहानी शुभ–मुहूर्तमा स्वामीजीको पाउमा दण्डवत् गरें मैले। ‘डाक्टरै बन्छस् तँ’ यस्तो आशीर्वाद दिए उनले। २०५४ भदौमा आईएस्सी पास भएदेखि नै मेडिसिनको छात्रवृत्तिका लागि व्यक्तिगत लडाइँ चालू थियो मेरो। अनेकतिर इन्ट्रान्स जाँचको अनुभव भइसकेको तर कतैबाट सफलता आइनसकेको त्यो निराशाको क्षण। अन्ततः शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा एमबीबीएस पढ्न पाइयो २०५६ मंसिरमा। लाग्छ, नौ महिना अगाडिको स्वामीजीको शुद्ध हृदयबाट प्राप्त आशीर्वादले पक्कै नै काम गरेको हुनुपर्छ यो सफलतामा।

समावेशिता र जातपातका नाममा फैलाइएका आजका बेथिति र विध्वंशलाई सजिलै माथ दिन्छ उनको अनुपम जीवनकथाले। ३० वर्षे राई ठिटो कनिकुथी अक्षर जानेर पढ्छन् अनि वेदमा विद्यावारिधि गरी नामअगाडि ‘डाक्टर स्वामी’ लेखाउँछन्। किराँत संस्कृतिको इतिहास अन्वेषण गर्छन्। अनवरत अनुसन्धानरत रहन्छन्। पशुपति क्षेत्रको सानो कुटीमा बसेर विश्वव्यापी खोजकृति प्रकाशन गर्छन्। आफूलाई वेदाधिकारी मान्ने ब्राह्मणहरूले 
गर्न नसकेको कार्य एउटा ‘काले राई’ले गरेर देखाउँछन्। योभन्दा ठूलो योगदान के होला ?

आठ वर्षअघि आफ्नै विद्यावारिधिसँग सम्बन्धित अध्ययन कार्यका लागि नर्वेमा रहँदा २०७२ भदौ ४ मा उनको परिनिर्वाणको समाचार आयो। उनको भौतिक देहको अन्तिम दर्शन गर्न त पाइएन तर आध्यात्मिक रूपमा उनको आशीर्वाद, प्रेरणा, प्रोत्साहन र मार्गनिर्देशनले जीवनभरि नै ऊर्जा प्रदान गरिरहेछ मलाई। यही नै छ मेरो दृढ विश्वास। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.