पशुपतिनाथसँग शासकहरूको साइनो

सम्पदा/संस्कृति

पशुपतिनाथसँग शासकहरूको साइनो

जनतामध्येबाटै शासक हुने भएकाले तिनलाई धर्म, संस्कृतिले नछुने कुरै हुँदैन। कसैलाई बढी कसैलाई कम प्रभाव पर्न सक्छ। तर, सबैजसो शासकलाई प्रत्यक्ष/परोक्ष प्रभावले छोएकै पाइन्छ।

‘इतिहासका पाना पल्टाएर हेर्‍यौं भने प्रत्येक महत्त्वाकाङ्क्षी व्यक्तित्वको चारित्यको आरम्भ र लक्ष्य पशुपतिनाथ नै भएको तथ्य अंशुवर्मादेखि जयप्रकाश मल्लसम्मका ऐतिहासिक चरित्रहरूले सिद्ध गरेका छन्’ भनेर जगदीशचन्द्र रेग्मीले ‘पशुपति–गुहेश्वरी महात्म्य’मा लेखेको वाक्यले नेपालका शासकहरू पशुपतिनाथप्रति नतमस्तक भएको पुष्टि गर्छ। यस्तै, ‘श्री ५ पृथ्वीनारायण शाहले दिग्विजयसिद्धिको स्वरूपस्त्ययन पशुपतिनाथमै गरेका थिए’ भन्ने उनको लेखाइबाट थप आधार मिलेको छ। लिच्छवीकालीन राजा अंशुवर्मादेखि पृथ्वीनारायण शाहसम्मका राजाहरूको आरम्भ र लक्ष्य नै पशुपतिनाथ भगवान् रहेको कुरा पनि सोही पुस्तकमा प्रमाण पेस भएको छ।

पशुपतिनाथ शब्दको पहिलो प्रयोग गोपाल वंशावलीमा पाइन्छ। ‘नेप’ नाम गरेका गोपालले पशुपतिनाथलाई प्रकट गरेको कथा वंशावलीमा उल्लेख छ। लिच्छविकालमा पशुपतिनाथको महिमा ठूलो थियो भन्ने यथार्थ त इतिहासका पानाहरूमा छ नै। सोही वंशावलीमा सुपुष्पदेवले नेपालमा वर्णव्यवस्था चलाएको, पशुपतिनाथको देवालय बनाएको कुरा पाइन्छ। अझ पशुपतिनाथलाई इष्टदेवता मानेका अंशुवर्माका पालाका सबैजसो अभिलेखमै पशुपतिनाथको ठूलो महिमा भेटिन्छ। कतिसम्म भने १६ वर्ष राजकाज चलाएका अंशुवर्माले सर्वप्रथम ‘महाराजधिराज’ पदवी धारण गरेका थिए। आफ्ना सबै शिलालेखमा शिवभक्त भएको उल्लेख गर्ने अंशुवर्माले आफूलाई ‘पशुपतिभट्टारकपादानगृहीतः’ विशेषण लगाएको पाइन्छ।

शासकमा शिवभक्ति देखिएको यो इतिहासमै सर्वाधिक विशेष र महŒवको विषय हो। गोपालवंशदेखि हालसम्म नेपालमा विभिन्न वंंश तथा जातिहरूले शासन गरेको पाइन्छ। पुराणहरूमा व्याख्या गरेअनुसार नेपाल सिद्ध ऋषिमुनिहरूको क्षेत्र हो। सिद्ध ऋषि नेमुनिको क्षेत्र नेपालमा हजारौं तीर्थ र तिनका अंश साढे तीन करोड तीर्थ अनि ६४ लिङ्ग छन् भनेर हिमवत्खण्डमा वर्णन गरिएको पाइन्छ।

नेपालको सन्दर्भ र नेपाल शब्दको प्रयोग

धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिका रूपमा व्याख्या गरिएको छ। नेपालका पर्वत शृंखलाहरू १३ करोड वर्षअघि बनेको र एक करोड वर्षअघिदेखि मानवको बसोबास भएको इतिहास पाइन्छ। ‘करिब १३ करोड वर्ष अगाडि बनेका नेपालका पर्वत शृंखलाहरू र पछि आएर उपत्यकाहरूमा प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ। पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य स्पष्ट हुन्छ’ (नेपाल परिचय, २०७९ : पृ. ७७)।

नेपालमा एक करोड वर्षदेखि मानवको बसोबास भएको पाइन्छ भनिए पनि शासकहरूले भने केही हजार वर्षदेखि मात्र शासन गरेको इतिहास भेटिन्छ। ‘गोपाल राजवंशावलीकारले कलियुगको उठानदेखि अर्थात् पाँच हजार जति वर्षअघिदेखि नेपाल उपत्यकामा बस्ती बस्न सुरु भएको कुरा अनुश्रुतिका आधारमा लेखेका छन्’ (धनबज्र बज्राचार्य, पूर्णिमा : वर्ष ५ अङ्क १ लेखे पनि मिति उल्लेख छैन)। ईस्वीको पाँचौं शताब्दीदेखि मात्र प्राचीन नेपालको इतिहास विश्वासिलो भएको आभास हुन्छ। यसरी अभिलेखलाई आधार मान्दा नेपालको उद्भव वि.सं. ५६९ नै हो भन्न सकिन्छ। ‘नेपालका शिलालेखहरूमा भने ५६९ सालको टिस्टुङ अभिलेखमा पहिलोपटक नेपाल शब्द उल्लेख छ’ (नेपाल परिचय, २०७९ : पृ. ७७)।

भाषागत र जातिगत आधारलाई नेपालको नामकरणको आधार लिइएको पाइन्छ। यकिन तिथिमिति नपाइए पनि प्राचीन नेपालमा गोपालवंशी शासकहरू, महिषपालवंशी राजाहरू, किराँतवंशी राजाहरू र लिच्छविकालीन राजाहरूले शासन चलाएको पुष्टि अभिलेख, वंशावली आदिले गरेका छन्। त्यसपछि मध्यकालमा मल्ल राजाहरू र आधुनिककालमा शाहवंशीय राजाहरूले नेपालको राज्य सञ्चालन गरेका थिए। प्राचीन नेपालसँगै पशुपतिनाथको उत्पत्ति भएको सन्दर्भमा गोपालवंशदेखि हालसम्मका शासकको पशुपतिनाथसँगको सम्बन्ध देखिन्छ। नेपालको जुनसुकै शासन प्रणालीले पशुपतिनाथलाई आफ्नो संरक्षक मान्दै आएको पाइन्छ।

गोपालवंशको शासन व्यवस्था

नेपालका प्रथम राजाहरू गोपालवंशी थिए। गोपाल भन्नाले गाईपालक समुदाय बुझिन्छ। काठमाडौंको पानी चोभारको डाँडो काटेर बाहिर बगाएपछि उपत्यका मानव जातिका लागि बसोबास गर्न योग्य भयो। त्यसपछि दक्षिणतर्फका ‘नीप’ जातिका गोपालवंशीहरू यो जमिन देखेर आकर्षित भए। उनीहरूले स्थानीय ‘नाग’ जातिलाई युद्धमा पराजित गरे। त्यसपछि काठमाडौं उपत्यकामा राज्य सञ्चालन गर्न थाले। यसरी नेपालका पहिलो राजा गोपालवंशका थिए।

नेपालको उत्पत्तिसँग पशुपतिनाथको उद्भवको सम्बन्ध पनि जोडिएको घटनालाई गोपाल राजवंशावलीले यसरी प्रमाणित गरेको छ : ‘वंशावलीहरूमा उल्लेखित कथाअनुसार यिनीहरूको एउटा बहुह्री नाम गरेको गाईले सधैं वाग्मतीतिरको एक ठाउँमा गएर दूध चढाउने गर्थिन्। सो स्थल खनी हेर्दा पशुपतिको ज्योतिर्लिङ्ग उत्पन्न भयो। त्यसपछि टेकु दोभानमा तपस्या गरी बस्ने ‘ने’ मुनिले गोपालवंशका भुक्तमान (भूमिगुप्त)लाई राजा बनाए। यिनी गोपालवंशका संस्थापक मात्र नभई नेपालका प्रथम राजा पनि भए। गोपालवंशी आठजना शासकहरू (भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जीनगुप्त)ले करिब ५/५ वर्ष शासन गरे’’ (नेपाल परिचय, २०७७ : पृ. ८२)।

सरकारले प्रकाशित गरेको पुस्तकबाटै यी गोपालवंशीहरूको इतिहास, नेपालको उत्पत्ति र पशुपतिनाथको उद्भव एकआपसमा जोडिएको देखिन्छ। वंशावली कथालाई आधार मान्दा बागमती नदी किनारमा एउटा गाईले सधैं दूध चढाऐको देखेपछि उक्त स्थान खन्दा ज्योतिर्लिंग भेटिएको सन्दर्भले पशुपतिनाथसँग घनिष्टता भएको पुष्टि हुन्छ। जसमा पशुपतिनाथ र गोपालवंशी शासकबीच पारस्परिक सम्बन्ध देखिन्छ।

महिषपालवंशको शासन व्यवस्था

नेपालको इतिहासमा गोपालवंशी शासनपश्चात् महिषपालवंशीले शासन सञ्चालन गरेको पाइन्छ। गोपालवंशका जिन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासन नियन्त्रणमा लिए। त्यसबेला गाई पाल्नेलाई गोपाल भने झैं भैंसी पाल्नेलाई महिषपाल भन्ने गरिन्थ्यो। केही इतिहासविद्ले चाहिँ गोपाल र महिषपाल एउटै वंशका भएका र पेसागत आधारमा मात्र दुई समुदायमा विभाजित भएको तर्क गरेको पाइन्छ।

नेपाल परिचय नामक कृतिले उक्त कुरालाई यसरी पुष्टि गरेको छः ‘कर्कप्याट्रिकको वंशावलीमा आभिरहरू राजपूत उत्पत्तिका ग्वालाहरू भएका र सिम्रौनगढ–जनकपुरबिचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठूलो संख्यामा भैंसी पाल्ने गरेकोमा पछि उपत्यका प्रवेश गरी गोपालवंशी राजालाई हराई शासनमा नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ। यस वंशका प्रथम राजा वरसिंह हुन्। गोपाल वंशावलीअनुसार यस वंशका तीन शासकहरू वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना र ४१ वर्ष गरी १६१ वर्ष २ महिना शासन गरेका थिए’’ (नेपाल परिचय, २०७७ : पृ. ८२)। महिषपाल शासकहरूको सम्बन्ध भने पशुपतिनाथसँग भएको सम्बन्धमा खासै तथ्यप्रमाण भेटिएको छैन।

किराँतवंशी शासन व्यवस्था

महिषपालवंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किराँतवंशी राजा यलुङ वा यलम्बरले नेपालको शासन प्रारम्भ गरेको तथ्य पाइन्छ। नेपालको सन्दर्भमा यो शासन व्यवस्थादेखि मात्रै ऐतिहासिक घटनाक्रमको सुरुआत भएको भेटिन्छ। ‘नेपालको इतिहासमा किराँतवंशका २९ पुस्ताका ३२ राजाले झन्डै १५०० वर्ष शासन चलाएको पाइन्छ’ (नेपाल परिचय, २०७७ : पृ. ८२)। यस वंशका राजाहरू यलम्बर, हुमती, जितेदास्ती र स्थुंको आदि प्रमुख थिए। पशुपतिनाथसँग किराँतवंशहरूको सम्बन्धमा भने लिखित दस्तावेज खासै पाइँदैन। ‘किराँतकालको सङ्केत दिने पशुपति आर्यघाटपारिको किराँतेश्वर महादेव नामक शिवलिङ्ग तथा पशुपति आर्यघाटमा रहेको विरूपाक्ष वा कलि नामले चिनिने मूर्तिहरूमा लिच्छवीकालका प्रचलित मूर्तिहरूमा भन्दा भिन्न प्रकारको विशेषता पाइने हुनाले तिनीहरूको निर्माणमा किराँतकालको प्रभाव पर्नु धेरै सम्भव भएकाले किराँतकालिक नेपालमा कलाकौशलको विकास भएको मान्न सकिन्छ’ (धनबज्र बज्राचार्य, २०२५ : पृ. १–८)। वज्राचार्यको यो लिखतले किराँती शासक पशुपतिनाथसँग जोडिएको पुष्टि हुन्छ।

यसैगरी, किराँतकालीन समयमा भारतमा नन्दवंश र मौर्यहरूको शासन व्यवस्था थियो। ‘पशुपतिनाथको प्रादुर्भाव नेपालमा भएको र त्यसको प्रभाव जनजीवनमा अत्यधिक परेकाले शैव धर्मको उत्थान राम्रोसँग भएको पाइन्छ। किराँतहरूलाई भगवान् शिवको अनन्य भक्त बताइएको उल्लेख पाइन्छ’ (मधुसूदन, २०२९ : पृ. १२५)। किराँतहरू शिवका भक्त भएको यो प्रसङ्ग बलियो प्रमाण बनेर उभिएको छ। तत्कालीन समयमा पशुपतिनाथको प्रभाव भारतमा परेको र सोही कारण नेपालमा पनि शैव धर्मको विकासमा केही काम भएको भन्ने बुझिन्छ। किराँतकालीन समयका राजाहरूले पनि शैव धर्म मान्थे र त्यतिबेला शिवलाई नै मुख्य देवताका रूपमा पूजा गर्थे भन्ने कुरा माथिको भनाइबाट पुष्टि हुन्छ।

लिच्छवीकालीन शासन व्यवस्था

किराँतवंशपछि नेपालमा लिच्छवीहरूले शासन चलाएको पाइन्छ। यिनीहरूको शासन व्यवस्था भने पशुपतिनाथसँग अनन्य ढंगले जोडिएको छ। पशुपति अभिलेखमा लिच्छवी राजाहरूको सुरुदेखिकै वंशावली लेखिएको छ। जसका आधारमा सन् ४६४ मा चाँगु अभिलेख स्थापना गर्ने राजा मानदेव लिच्छवी वंशका ३९औं राजा रहेको देखिन्छ। ‘लिच्छवीकालीन शासन व्यवस्था ईसापूर्व २९६ मा सुरु भएको र लिच्छवीकालीन समयमा सुपुष्प, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव र जयदेव द्वितीय आदि राजाहरूले राज्य गरेको कुरा इतिहासमा उल्लेख छ’ (नेपाल परिचय, २०७७ : पृ. ८३–८८)।

लिच्छवीकालको धार्मिक परम्परा स्वतन्त्र किसिमको थियो। यस समयमा एकाघरका सदस्यहरूले पनि विभिन्न धर्म मान्न पाउने छुट थियो। यस समयमा मानिसले शैव, वैष्णव, बौद्ध आदि धर्ममा आस्था राखेको पाइन्छ। यस कुरालाई धनबज्र बज्राचार्यले यसरी पुष्टि गरेका छन् : ‘लिच्छवीकालमा धार्मिक स्वतन्त्रता थियो। राजा तथा प्रजा आफ्नो श्रद्धाअनुसार विभिन्न धर्ममा लाग्न सक्थे। यसैले लिच्छवीकालमा एउटै परिवारमा पनि कोही कुनै धार्मिक सम्प्रदायमा श्रद्धा राख्ने, कोही कुनै धार्मिक सम्प्रदायमा श्रद्धा राख्ने पनि देखिएका छन्। पतिको जुन धर्ममा श्रद्धा त, पत्नीले पनि त्यही धर्ममा श्रद्धा राख्नुपर्छ भन्ने बन्देज थिएन। अझ एउटै व्यक्तिले पनि विभिन्न धार्मिक सम्प्रदायमा श्रद्धाभक्ति राख्न सक्दथे। लिच्छवीकालका प्रसिद्ध शासक मानदेव, अंशुवर्मा र नरेन्द्रदेवहरूको धर्मप्रतिको भावना मात्र केलाएर हेरे तापनि उक्त कुरा सजिलैसँग थाहा पाउन सकिन्छ। मानवदेवको व्यक्तिगत रूपमा वैष्णव धर्ममा श्रद्धा थियो। अंशुवर्माको पनि व्यक्तिगत रूपमा शैवधर्ममा श्रद्धा रहेको थियो तर शासकको हैसियतले उनले शैव, वैष्णव, बौद्धधर्मलाई समकक्षामा राखी आदर देखाएथे। यो हाँडीगाउँको अभिलेखबाट थाहा पाइन्छ’ (बज्राचार्य– ऐजन, २०३० : पृ. २९७)।

लिच्छवीकालका सबैभन्दा महŒवपूर्ण राजा भनेका अंशुवर्मा हुन्। नेपालका एक राष्ट्रिय विभूतिसमेत रहेका अंशुवर्माले पशुपतिनाथलाई प्रमुख आराध्यदेव भगवान्का रूपमा पूजा गर्ने गरेको कुरा नेपालका प्राचीन अभिलेखहरूमा उल्लेख छ। उनको उदयसँगै शैव धर्मले पर्याप्त स्थान पाएको देखिन्छ। यसको पुष्टि पनि धनबज्र बज्राचार्यले गरेका छन् : ‘अंशुवर्माले एक्लै शासन चलाउन थालेपछिका उनका अभिलेखमा त सबैमा ‘भगवान् पशुपतिनाथको पाउको अनुग्रह पाएका’ भन्ने भावको विशेषण रहेको पाइन्छ। तर, शिवसँगै रही संयुक्त शासनकालमा गरिएका अभिलेखमध्ये खोपासीको यस अभिलेखमा पशुपतिनाथको स्मरण गर्नामा विशेष कारण थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ। यति कुरा गर्नाका तात्पर्य द्वारोद्घाटन यात्रा र कैलाश यात्राको सम्बन्ध पशुपतिनाथसँग थियो भन्ने हो, पशुपतिनाथको मन्दिरको द्वारको उद्घाटनको उपलक्ष्यमा गरिने यात्रा ‘द्वारोद्घाटनयात्रा’ र पशुपतिनाथको मन्दिरसँगै रहेको कैलाश थुम्कोमा गरिने यात्रा कैलाश यात्रा हो किजस्तो मलाई लाग्छ भनेका छन्’ (बज्राचार्य– ऐजन, २०३० : पृ. २७७)।

मध्यकालीन शासन व्यवस्था

९३६ सालदेखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्मको समयलाई नेपाली इतिहासमा मध्यकाल नामले सम्बोधन गरिएको पाइन्छ। ९०० वर्षको लामो यस समयमा सर्वप्रथम मल्ल वंशका राजाले शासन गरेका थिए। मल्लवंशीय राजाले विभिन्न ठाउँमा विभिन्न ससाना राज्य खडा गरेर शासन चलाउन सुरु गरेको इतिहास छ। यस कालमा आफ्नै किसिमबाट शैव धर्मको विकास भएको पाइन्छ। जसमा सबैभन्दा महŒवपूर्ण घटना पशुपतिसंवत्सरको थालनीलाई लिइन्छ।

‘मध्यकालका राजा राघवदेवले पशुपतिसंवत्सरको प्रारम्भ गरेका हुन् भन्ने केसर पुस्तकालयमा भएको एउटा वंशावलीमा ‘राजा श्रीराघवदेव वर्ष ६३ मास ६।। श्रीपशुपतिभट्टारके संवत्सरप्रवृत्र्तिः कृता’ (धनबज्र बज्राचार्य र अन्य, सन् १९८५ : पृ. ५३) भन्ने कुरा उल्लेख भएबाट मध्यकालमा पशुपतिनाथको महŒव अधिक रहेको स्पष्ट हुन्छ। पशुपतिनाथमा कुनै धार्मिक कृत्य गरी पशुपतिसंवत्सर चलाइएको र पछि त्यही संवत्सर नेपाल संवत् नामले प्रसिद्ध भयो। जसबाट यस कालका शासकवर्गमा पशुपतिनाथप्रति असीम श्रद्धा रहेको देखिन्छ।

‘मध्यकालमा स्थापना भएका शिलालेखहरूमा शैव धर्मसँग सम्बद्ध मूर्तिहरू यत्रतत्र रूपमा पाइन्छन्। मध्यकालका प्रसिद्ध राजा गुणकामदेवले पशुपतिनाथ मन्दिरमा एघार कोष चढाउनुका साथै देवपत्तनस्थित इशानेश्वरको मन्दिरमा तामाको छाना चढाएको उल्लेख छ। यसका साथै उनले यस सोही ठाउँमा लामो पाटी तथा सुन्धारा बनाई कोटीहोम पनि गरेका थिए’ (ऐजन, सन् १९८५ : पृ. ७९)। अर्का राजा शिवदेवले पशुपतिनाथको मन्दिर पुनर्निर्माण गरेको पाइन्छ। ‘चाँदीको कमलको पिण्डिका चढाउनुका साथै पशुपतिनामाङ्कित मुद्राको प्रभावले श्रीशिव अङ्कित शिवाङ्क नामको सुनको सुकीसमेत चलाएका थिए। यस कालमा कुनै ठाउँलाई शिव ग्वल नामकरण गरी भगवान् शिव र शैव धर्मप्रति आस्था बढाउने काम पनि गरेको पाइन्छ’ (डा. जगदीशचन्द्र रेग्मी, २०३० : पृ. २)।

यसरी मध्यकालमै पशुपतिसंवत्सरको थालनी हुनुले यसकालमा शासकहरू पशुपतिनाथसँग नजिक थिए भन्ने स्पष्ट हुन्छ। मध्यकालमै स्थापना भएका शिलालेखहरूमा शैव धर्मसँग सम्बद्ध मूर्तिहरू यत्रतत्र रहेकाले पनि तत्कालीन शासकको पशुपतिनाथसँगको घनिष्टता झल्किन्छ। यस कालको सबैभन्दा महŒवपूर्ण सन्दर्भ त के छ भने राजा शिवदेवले पशुपतिनाथको मन्दिर पुनर्निर्माण गरी चाँदीको कमलको पिण्डिका चढाए। साथै पशुपतिनामाङ्कित मुद्राको प्रभावले श्रीशिव अङ्कित शिवाङ्क नामको सुनको सुकीसमेत चलाएको पाइन्छ।

मल्लकालमा पशुपतिनाथसँगको सम्बन्ध

मल्लकालमा साहित्य, संस्कृति, सिर्जना र कला एवम् वास्तुकलाका माध्यमबाट शैव धर्मको जगेर्ना गरेको पाइन्छ। शाहकाल सुरु हुनुअघि बनेका मठमन्दिर एवम् स्तुप र विहारहरू मल्लकालकै देन हुन्। मल्लकालमा खासगरी शासकहरूले पशुपतिनाथप्रति अनन्य श्रद्धा र भक्ति देखाएको पाइन्छ।

‘‘देशमा दुर्भिक्ष, अनिकाल, प्राकृतिक प्रकोप आदिजस्ता घटनाहरू नहुन् भनी पशुपतिनाथमा लक्ष्यहोम तथा पूजादि गर्ने व्यापक चलन रहेको देखिन्छ। त्यस्तै ध्वजारोहन गर्ने, कोष चढाउने, पूजाआजा गर्ने, मन्दिरको जीर्णाेद्धार गर्ने गरेको कुरा वंशावलीमा प्रशस्त उल्लेख पाइन्छ’ (बज्राचार्य र अन्य– ऐजन, सन् १९८५ : पृ. ७७–८०)। मल्लकालमा राजाहरू आपूmलाई शैवधर्मप्रति आस्थावान् भएको देखाउन चाहन्थे। अरि मल्ल प्रथमलाई पशुपतिनाथसँग जोडेर हेरिएबाट यसको पुष्टि हुन्छ। अरिमल्लका बारेमा भनिएको छ : ‘ने.सं. ३३६ अर्थात् १२७३ को जेष्ठ कृष्ण सप्तमीको अमृतेश्वर पूजानामक हस्तलिखित ग्रन्थमा अरि मल्ल प्रथमलाई ‘परममाहेश्वरश्रीपशुपतिभट्टारकावधानाद्भक्तिजलप्रक्षालितान्तःकरण’ विरुदावलीका साथ उल्लेख गरेको पाइन्छ’’ (लुसिआनो पेटेच, सन् १९८७ : पृ. ८२)।

जयभीमदेवलाई ने.सं. ३८० अर्थात् १३१६ चैत्रको महालक्ष्मीव्रत नामक हस्तलिखित ग्रन्थमा ‘परममाहेश्वर’ भनी शैव धर्ममा आस्था भएका राजाका रूपमा उल्लेख छ। उक्त ग्रन्थमा जयभीमदेवलाई ‘परमसौगत’ भन्ने विरुदावली दिएको कुराबाट त्यसबेलाका शासक पनि पशुपतिनाथप्रति विशेष श्रद्धा र विश्वास राख्थे भन्ने देखिन्छ। त्यसरी नै यसैकालका अर्का राजा जयारी मल्ल (१३७७–१४०१ साल) लाई पनि महीरावणवधनाटक नामक ग्रन्थमा ‘परमभट्टारक परमेश्वर परमवैष्णव परमदेवताधिदेव परममाहेश्वर रघुकुलतिलक भूपालपरम्परापरिणमितमौलिशिष्य पशुपतिपादारविन्द श्रीपशुपतिदेवतावरलब्धप्रसादैकमहाराजधिराज’ भनी एकसाथ शैव र वैष्णव धर्ममा आस्था भएका व्यक्तिका रूपमा परिचय दिएकाले मल्लकालका यी राजामा शैव धर्मप्रतिको आस्था गहिरो थियो भन्ने बुझिन्छ’’ (पेटेच– ऐजन, सन् १९८४ : ११२)।

मध्यकालको सबैभन्दा महत्तवपूर्ण सन्दर्भ भनेकै राजा शिवदेवले पशुपतिनाथको मन्दिर पुनर्निर्माण गरी चाँदीको कमलको पिण्डिका चढाए। साथै पशुपतिनामाङ्कित मुद्राको प्रभावले श्रीशिव अंकित शिवांक नामको सुनको सुकीसमेत चलाए।

मल्लकालीन समयमा शैव धर्मको प्रचार–प्रसार पनि सक्रिय रूपमा व्यापक ढंगले भएको पाइन्छ। त्यतिबेलाका शैवाचार्यहरूमा तन्त्रको लगाव भएको पाइन्छ भन्ने कुरालाई पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन ग्रन्थमा यसरी उल्लेख गरिएको छ : ‘‘शैवाचार्यहरूको तन्त्रका ग्रन्थहरूपट्टि लगाव भएको देख्दा तन्त्रको माध्यमबाट शैव धर्मको प्रचार–प्रसारमा उनीहरू संलग्न रहेको बुझ्न सकिन्छ। शैव धर्ममा तन्त्रको गहिरो प्रभावका कारण नै कतिपय साधनाहरूमा तान्त्रिक प्रभाव प्रत्यक्ष रूपमा पर्न गएको छ। त्यो प्रभाव अहिलेसम्म पनि कतिपय शैव मूर्ति, मन्दिरहरूका पूजापद्धतिमा पाइन्छ। पशुपतिनाथमा श्रीयन्त्रपूजाविधानमा महास्नानको अवसरमा बलि दिने चलन यसैको प्रभाव हो भन्नेमा सन्देह छैन। पछिल्लो मल्लकालमा शैव धर्मको उत्थानमा सहयोग पुग्ने अनेकौं क्रियाकलापहरू भएका पाइन्छन्’’ (डा. गोविन्द टण्डन, २०५३ : पृ. ४४)।

यसरी मध्यकालमा विशेषगरी शैव धर्मप्रति विशेष आस्था रहेको पाइन्छ। मल्लकालका राजाहरूमा भगवान् शिव र पशुपतिनाथप्रति श्रद्धा, आस्था र विश्वास प्रशस्त देखिन्छ भने यसको प्रभाव तात्कालिक जनजीवनमा पनि परेको पाइन्छ। अरि मल्ल प्रथम, जयभीमदेव, जयारि मल्ल आदिलाई पशुपतिनाथसँग जोडेर विरुदावली दिएबाट मल्लकालीन शासक पशुपतिनाथका अनन्य भक्त थिए भन्ने पुष्टि हुन्छ। पशुपतिनाथलाई नै मुख्य देवता मानेर पशुपतिकै नामबाट मुद्रासमेत चलाएकाले त्यसबेलाका राजाहरूमा पशुपतिनाथप्रति सद्भाव, आस्था र विश्वास प्रगाढ रहेको प्रमाणित हुन्छ।

शाहकालसँग पशुपतिनाथको सम्बन्ध

नेपालको इतिहासमा १६१६ भदौ २५ द्रव्य शाह गोरखाका राजा भए। सोही समयदेखि नेपालमा शाह वंश उदय भएको मानिन्छ। उक्त समयमा नेपालमा बाइसे–चौबिसे राज्यहरू सञ्चालन गरी पृथ्वीनारायण शाहको उदयभन्दा पूर्व नौजना राजाहरूले राज्य गरे। १७९९ सालमा पृथ्वीनारायण शाह राजा भए। उनले नेपालको एकीकरण गरेर साहसिक कार्य गरे। शाहकालका सबैभन्दा महŒवपूर्ण राजा पृथ्वीनारायणमा सनातनी धर्मप्रति उदार दृष्टि थियो। यिनले शैव धर्मको उत्थानमा सहयोग पुग्ने केही कार्य गरे। पशुपतिनाथमा पञ्चामृतस्नान गर्ने गुठी, वक्रेश्वर महादेवको पूजाआजा गर्ने गुठी, भ्रमरकोट महादेवको गुठी थामिदिएका घटना यसका उदाहरण हुन्।

शाहकालमा पशुपतिक्षेत्रलाई केन्द्रबिन्दु बनाई अनेकौं मठ, मन्दिर र मूर्तिहरू स्थापना गरिएका छन्। भगवान् पशुपतिनाथ तथा यहाँ स्थापित अन्य मन्दिरको सुव्यवस्थित सञ्चालनका लागि निश्चित आयस्रोत आउने गरी गुठीहरू राखेको पाइन्छ। यसै कालमा पाशुपतक्षेत्रमा सबैभन्दा बढी शिवालय स्थापना भएका छन्। शाहकालिक राजाहरूमा श्री ५ राजेन्द्रवीरविक्रम शाहदेखि श्री ५ त्रिभुवनविक्रम शाहसम्म नाममा अलगअलग शिवमन्दिरहरू स्थापना गरिएको घटनालाई हेर्दा शैव धर्मको विकासमा उनीहरूले पुर्‍याएको योगदान बुझिन्छ। ‘आफूलाई शिवजीका पाउरूपी कमलका धूलाले पवित्र भएको भनी लेखाएकाले उनी भगवान् शिवलाई मान्थे भन्ने देखिन्छ। यस्तै, पृथ्वीपति शाहले गोरखा पोखरीथोकको अभिलेखमा शिवजीको भजन गरिरहेको भनी आफूलाई बताएका छन्’ (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, २०३७ : पृ. २१)।

नेपाल एकीकरणअघि कारणवश काठमाडौं बाहेकका भक्तजनले पशुपतिनाथ प्रवेश नपाउने अवस्था रहेको इतिहासमा पाइन्छ। सनातनी धर्मप्रति उदार दृष्टि राखेका पृथ्वीनारायणले एकीकरणपछि सबैलाई खुला गरेको पाइन्छ। राजा वीरेन्द्रले त रानी ऐश्वर्य समेतको नाम जोडेर पशुपतिनाथ मन्दिरको गर्भगृहमाथिको बाहिरी प्रदक्षिणपथको पहिलो तलाको दलिनमा ताम्रपत्रमा ‘श्री ५ वीरेन्द्र र श्री ५ ऐश्वर्य च’ भुइँतलाको वरिपरि नै लेखिएको पाइन्छ। गर्भगृहलाई चारैतिर घेरिएका चारै पर्खालमा ‘श्री पशुपतिशरण चरणैं’ लेखिएको छ।

तत्कालीन राजा वीरेन्द्रले पाशुपत क्षेत्रको गुरुयोजनामा निकै चासो राखेका थिए। पशुपतिनाथ मन्दिरको प्रवद्र्धनका लागि अपरीहार्य गुरुयोजनालाई अन्तिम रूप भरत शर्माले गरेका थिए। २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्था आएपछि उक्त कार्य यसै गुपचुप रह्यो। राष्ट्राध्यक्ष राजा वीरेन्द्र र संरक्षक रहेकी रानी ऐश्वर्यको पशुपति क्षेत्रमा लागू गर्न तयार पारिने गुरुयोजनाप्रतिको लगाव साँच्चै प्रशंसनीय थियो। ‘गुरुयोजना बनाउने जिम्मा लगाएपछि राजा वीरेन्द्रले आफ्नो पूर्व सोच लाद्ने काम गरेनन्। रानी ऐश्वर्यले पनि कुनै हस्तक्षेप गरिनन्। मलाई स्वतन्त्र रूपमा गुरुयोजनाकारको भूमिका निर्वाह गर्न दिए’ (प्रा.डा. भरत शर्मा, २०७६ : पृ. ७०)।

२०४६ पछिको राज्यसत्ताा कालसँगको सम्बन्ध

शाहवंशीय र राणाकालीन समयका राजाहरूले विभिन्न समयमा आराध्यदेव पशुपतिनाथको पूजाआजा गर्ने गरेको परम्परालाई गणतन्त्र आएपछि देशको प्रमुखको हैसियतले राष्ट्रपतिले पनि विभिन्न समयमा पूजाआजा गर्ने गरेको पाइन्छ। वर्तमान समयमा नेपालका सर्वाेच्च देवताका रूपमा पशुपतिनाथमा विभिन्न चाडपर्वमा देशका राष्ट्राध्यक्ष र मन्त्रीहरूसमेतले दर्शन, पूजाआजा गर्ने गरेको प्रसङ्गबाट अहिलेको समयमा समेत राज्यसत्ताको पशुपतिनाथप्रति अगाध आस्था रहेको स्पष्ट हुन्छ। २०७६ फागुन ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति र प्राणप्रतिष्ठामा १०८ किलो सुनको जलहरी राखिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्न ३० करोड रुपैयाँ बजेट विनियोजन गरेर असिम श्रद्धाभाव व्यक्त गरेका थिए। करिब ८५ करोड लागेको सुनको यो जलहरी अघि चाँदी र त्यसअघि तामाको जलहरी प्रयोगमा थियो।

यसैगरी, बर्सेनि देशविदेशका भक्तजनहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन्। भारतका प्रधानमन्त्री, राष्ट्रपति, विदेशमन्त्री र उच्चपदस्थ अधिकारीहरू विगतदेखि नै पटक–पटक नेपाल आएर पशुपतिनाथको दर्शन र पूजाआजा गरेको पाइन्छ। यसले पनि पशुपतिनाथको महŒव देखिन्छ भने झन्डै एक अर्ब भारतीयमाझ पशुपतिनाथ चर्चाको विषय बन्ने गर्छ।

संविधानसभामार्फत बनेको नेपालको संविधान २०७२ मा नेपाल धर्म निरपेक्ष राज्य भनेर उल्लेख गरिए पनि राष्ट्राध्यक्षका हैसियतले राष्ट्रपतिले विभिन्न चाडपर्वमा पशुपतिनाथमा पूजाआजा र दर्शन गर्नुले संघीय राज्यमा पनि सरकारलगायत यससँग सरोकार राख्ने विभिन्न व्यक्तिको पशुपतिनाथप्रतिको आस्था उत्तिकै रहेको देखिन्छ। यसबाट के पुष्टि हुन्छ भने पशुपतिनाथ नेपालका आराध्यदेव हुन्। उनकै छत्रछायामा नेपाल विश्वमा चिनिन सफल भएको छ।

निष्कर्ष

हरेक मानिसमा प्रत्यक्ष एवं परोक्ष ढंगबाट धर्म जोडिएको हुन्छ। यसलाई मानव जीवनको अभिन्न अंग मानिन्छ। मानिस आफ्नो देशको सभ्यता र संस्कृतिबाट अछुतो रहन पनि सक्दैन। नेपालको एक मात्र हिन्दू अधिराज्य भनी विश्वभर चिनिएको नेपाल धर्म निरपेक्ष राष्ट्र भएको डेढ दसक मात्र हुँदैछ।

नेपालको उत्पत्तिसँगै इतिहास जोडिएको पशुपतिनाथको उत्पत्ति नै नेपालमा धर्मको प्रादुर्भाव भएको आधार मान्न सकिन्छ। अर्थात् पशुपतिनाथको प्रादुर्भाव नै नेपालमा शैव धर्मको मूल आधार हो भन्ने यथेष्ट प्रमाण छन्। जनतामध्येबाटै शासक हुने भएकाले तिनलाई धर्म, संस्कृतिले नछुने कुरै हुँदैन। कसैलाई बढी कसैलाई कम प्रभाव पर्न सक्छ। तर, सबैजसो शासकलाई प्रत्यक्ष/परोक्ष प्रभावले छोएकै पाइन्छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.