उस्तै तेजिला तेजेश्वर

ह्याप्पी बर्थडे

उस्तै तेजिला तेजेश्वर

काठमाडौं : ‘करिब ९० वर्षको हाराहारीमा छु यतिबेला। उमेरकोे उकाली बैंस ! सुइय्य... लामो सुस्केरा हालेर अझै जिउने मन छ’, ८९ वर्ष टेकेका तेजेश्वरबाबु ग्वंगः जीवनको उत्तराद्र्धको यथार्थलाई शनिबार यसरी पर्गेले, ‘उमेरले सुमेरू उक्लिन थालेको छ। मन र शरीरका अंगहरूको लय भिन्दाभिन्दै छ। शरीर नलहसिएपछि मन कसरी तङ्ग्रिन्छ ? दैहिक अंग दुर्बल भइदिन्छ।’ ग्वंगःभन्दा कम उमेरका साहित्यकार अब लेख्न सक्न छोडिएछ भन्दै दिन कटाइरहँदा उनी भने प्रत्येक साताजस्तो दुई/तीन लेख परिशिष्टांकहरूमा प्रकाशन गरिरहेका छन्।

‘लेखन, चिन्तन र मनन् जीवनको प्रमुख लय बनिरहेकै छ, बनाइरहेकै छु। यो लयबाट बिमुख हुने मनस्थिति छैन मलाई’ ग्वंगः भन्छन्, ‘शरीरको उकालीले सायद मैसित ‘मन ताक्छ मुढो, बन्चरो ताक्छ घुँडो’ भन्ने उखान सार्थक हुन पुग्छ अचेल।’ यसका बावजुद हरेक दिन उनी केही दैनिक र साहित्यिक पत्रपत्रिकाका साथै खोजेर/मगाएर पुस्तक अध्ययनमा मग्न हुन्छन्।

शीर्षक दिएपछि युवा सर्जकले लेख्न नसक्ने सामग्री अनुसन्धान गरेर लेखेरै छोड्छन् उनी अझै। अझ कृति/ग्रन्थ पढेर समीक्षाहरू लेखिरहेका छन् भन्ने पुष्टि छापिएका सामग्रीले गरेका छन् आजसम्म। ‘हेतुको हरक छर्केर आफूभित्रको म र मभित्रको आफू खोज्न रूचाएको छु’ भन्ने ग्वंगः हरेक दिन ९/१० जना साहित्यकारलाई फोन गरेर साहित्यिक सत्सङ गर्छन्। कतिपय आफैं भक्तपुरको सूर्यविनायकस्थित निष्ठाछेमा ग्वंगलाई भेट्न पुग्छन् भने कतिपयलाई उनले घरमै भेट्न निम्ता गर्छन् र परिवारको सहयोगबाट विभिन्न परिकार खुवाएरै पठाउँछन्।

  •     ग्वंगः नामक दियो एउटा ननिभ्ने उज्यालो हो, जुन निरन्तर बलिरहेको छ प्रकाश छर्दै।
  •     ग्वंगः हरेक दिन ९/१० जना साहित्यकारलाई फोन गरेर साहित्यिक सत्सङ गर्छन्।
  •     निबन्ध हुन् वा लेख, साहित्यकार ग्वंगःको लेख्ने शैली अत्यन्त पृथक हुन्छ। ठेट शब्दहरूको प्रयोग उनको लेखनको मूल विशेषता हो।
  •     उनीसँग भएका अनुभव र उनले लेखेका पाण्डुलिपि राष्ट्रका सम्पत्तिा हुन्।

तिथिमितिअनुसार बनेको जन्मकुण्डलीले विक्रम संवत् १९९२ कात्तिक कृष्णद्वादशीका दिन ग्वंगःले धरती टेकेका थिए। बाल्यकालमा खेलिने खेलहरू सम्झिएर अहिले पनि मन फुरुंग बनाउँछन् ग्वंगः। ‘परम्परागत जमाना थियो तैपनि बाल्यकालमा विज्ञानमूलक खेलहरू खेल्थ्यौं’ उनी विगत सम्झन्छन्, ‘अचेल त बालबालिका घरमै बसेर डिभाइसमै खेल खेल्छन्। आधुनिक जमानाले प्राविधिक ज्ञान होला तर उनीहरूको शारीरिक, बौद्धिक तथा सामाजिक कसरत गुम्दैछ।’ 

अत्यन्तै सामाजिक लाग्छन् सर्जक ग्वंगः। त्यसैले त समाजलाई सर्लक्कै निबन्धमा उनेर पुस्तकरूपी माला गाँस्छन्। ग्वंगःका निबन्ध संग्रहहरू रंग अविज्ञान (२०७४), औकातभरिको सौगात (२०७३), संस्कृतिका आयाम (२०५२), संस्कृतिया पलं (ने.सं. १११०), अवकाशपछिका आकाश (२०६७) र चराको गुँड झैं जन्मस्थल मेरो भक्तपुर नामक कविता संग्रह (२०७३) छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले एसएलसी दिएलगत्तै ग्वंगले लेखेका निबन्धबारे २०११ सालतिरै भनेका थिए, ‘तिम्रो कलम त प्रखर रहेछ।’ निबन्ध पढेपछि वरिष्ठ साहित्यकार कमलमणि दीक्षितले ग्वंगसँगै भनेका थिए, ‘तपाईंको निबन्ध त महाकविकै ‘फ्लेभर’का 
लाग्छन् त।’
२०१० सालको सन्दर्भ हो। तेजेश्वरबाबु ग्वंगः एसएलसीको तयारीमा थिए। औपचारिक कक्षा जान नपाएका ग्वंगः काठमाडौंको डिल्लीबजारस्थित देवकोटाको कवि–कुञ्ज धाउँथे। देवकोटालाई गुरु थापेर झन्डै एक महिना उनले कुञ्जमै डेरा जमाए। 
‘एसएलसीको तयारीका लागि अरू १७ जना पनि थिए तिनले महिनाको ६०/६० रुपैयाँ तिरेका थिए तर मलाई महिनाको १६ रुपैयाँमात्र लिनुभयो देवकोटा गुरुले’, ग्वंग सम्झन्छन्, ‘असाध्यै उदार मान्छे हो उहाँ। धेरैले गरिब भन्थे तर प्रशस्तै कमाएको मान्छे हो उहाँ। धनको मात्र होइन, मनको पनि धनी लाग्थ्यो देवकोटा मलाई।’ 

महाकवि देवकोटाले घरमा आउने सबैलाई खुवाउने गरेको दृष्यले आफूलाई पनि त्यतै अभिप्रेरित गरेको ग्वंगःको भनाइ छ। एसएलसी दिँदाताका एक दिन कवि–कुञ्जमा पढिरहेका थिए ग्वंगः। देवकोटाभित्र पसेपछि ‘ए, ग्वंगःजी आउनुभएको रहेछ’ भन्दै हात समातेर ‘आउनोस्’ भन्दै काम गर्नेलाई बोलाएर भनेछन्, ‘जा, साहुनीकहाँ गएर मासु किनेर ल्या। आज ग्वंगःजीलाई मासुभात खुवाएर पठाउनुपर्छ।’ ग्वंगः सम्झन्छन्, ‘तर उहाँकी पत्नी भने हरे राम हरे कृष्णमै समर्पित देखिनुहुन्थ्यो।’

एसएलसी दिने समयताका २०१० सालतिरै आफूले महाकविको ‘निन्द्रा’ निबन्ध पढेको स्मरण गर्दै ग्वंगः थप्छन्, ‘त्यो निबन्ध पढेपछि मैले त आफ्नो दिमाग नै निदाएको पो पाएँ। अनि झल्याँस्स ब्युझिएँ। अनि त म पनि सपना देख्ने पो भएँ। देवकोटाको कलममा प्रखरता थियो उसबेलै।’ 

त्यसलगत्तै ग्वंगःले निबन्ध लेखे। गुरु देवकोटालाई देखाउँदा ग्वंगःले त्यो कलिलो उमेरमै उहाँबाट धाप पाएका थिए। कनिष्ठ र सिकारुले त्यति वरिष्ठ साहित्यकारबाट निबन्ध लेखन प्रखर रहेछ भन्दै स्याबासीसहित धाप मारेपछि ग्वंगःले निबन्ध लेखनलाई पूर्ण आत्मसात गरेको पाइन्छ। निबन्ध हुन् वा लेख, साहित्यकार ग्वंगःको लेख्ने शैली अत्यन्त पृथक लाग्छ। ठेट शब्दहरूको प्रयोग उनको लेखनको मूल विशेषता हो। लेख्ने कर्म त गर्छन् नै तेजेश्वरबाबु, सँगै उनले लेख्नेहरूलाई पनि ‘प्रेरणा’ प्रदान गर्न थालेका छन्।

साहित्यमा केही योगदान गर्नुपर्ने दायित्व अनुभूति गरेरै हुनुपर्छ २०५० सालमा साहित्यिक सम्मान संगम स्थापना गरेका छन् उनले। यो स्थापनाको पनि सन्दर्भ गजब नै रहेछ, ‘तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति राजा महेन्द्रले जनताका छोरा कविवर केदारमान ‘व्यथित’लाई पहिलो कुलपतिमा मनोनीत गरे। उक्त कार्यको ऐतिहासिक तथ्य रहेको छ। 

‘व्यथित’जीको कुलपति अवधिलाई सगर्व सम्मान गर्न एकल प्रयासमा मैले भक्तपुरका साहित्यकारका सहमतिमा नामकरण गरिएको संस्थागत स्वरूप नै साहित्यिक सम्मान सङ्गम – २०५० हो।’ ग्वंगःको अन्तिम धोको यो संस्थालाई आफ्नो जीवनपछि पनि निरन्तरता दिने देखिन्छ। भन्छन्, ‘आगामी पुस्तासित साउती गर्छु यही ग्वंगः सिरपाःका माध्यमबाट ! यो साहित्यिक संस्था संगमबाट प्रदान गरिने ‘ग्वंगः सिरपा सम्मान’को राशि ८ लाख रुपैयाँको छ। दस लाख पु¥याउने धोको छ।’ सिरपा सम्मानका संरक्षक ग्वंगःले यो मोटो रकमको कोष साहित्यकारका नाताले पाएका पुरस्कार, सम्मान आदिवापतको रकम र विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखवापतको पारिश्रमिकले नै हो।

‘झरेको पात टिपेर सिंगो वृक्षको विवेचना खोज्ने चेष्टा राखेर बाँच्ने युगको पाइला हो। हाम्रो हुनुले कहाँ पु¥याउँदो हो ? हामीले सोच्ने त आआफ्नो थाप्लोको नाम्लो न हो ? आफूभित्रको म। मभित्रको आफ्नो चिनारी।’ जीवन र साहित्य जोडेर यस्तै सोचिबस्छन् तेजेश्वरबाबु ग्वंग यो वृद्ध उमेरमा पनि। भन्छन्, ‘जीवन जिउने क्रममा भोगेका सारा कुरा नयाँ पुस्ताका लागि काम लाग्न पनि सक्ला भन्ने लाग्छ मलाई।’ त्यसैले पनि उनी लेख्छन्, लेखिरहन्छन्। तर उनीसँग भएका कैयौं विषय जुन अभिलेखीकरण गरिनुपथ्र्यो त्यो काम कुनै सर्जकबाट हुन सकेको छैन। जसरी शताब्दी पुरुष सत्यमोहन जोशीबाट लिएर केही इतिहास पुस्तकाकार रुपमा कोर्ने काम भयो त्यस्तै अथाह सागरबाट मोती टिप्ने काम ढिलो भइरहेको छ।

ग्वंगःको भक्तपुर सूर्यविनायकस्थित निष्ठा छेँका दुई तला पूरै पुस्तकालयले भरिपूर्ण छन्। ती ऐतिहासिक पुस्तकहरूबाट मन्थन गरेर आफ्नो विवेक घोलेर तयार पारिएका कैयौं पाण्डुलिपी प्रकाशकहरूको आँखामा पर्न नसकेर यसै गुम्सिएरै रहेका छन्। जसले युगकै आवाज बोलिरहेका छन्। ती लेखनी हिलोमा फुलेको कमलको फूल झैं भएका छन्।

युवा स्रष्टा एवं सञ्चारकर्मी जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगःसँग वार्ता गरेर तयार पारेका छन्, ‘युगको तेज’नामक पुस्तक। जसमा ग्वंगःलाई ‘चिन्तनको महासागर’ भनिएको छ। लेखिएको छ, ‘उमेरको उकालो। जीवनको चौडाइ। भोगाईको समुद्र। कर्मको आकाश। समाजको पहरेदार। चेतनाको ज्योति। चिन्तनको महासागर। जीवनलाई जो यो फराकिलो संसारमा आफूलाई उभ्याएर जताततै चेतनाको प्रकाश छर्न सफल हुन्छ, त्यही नै एउटा तेज बन्छ युगको। तेज हो चेतनाको। जुन तेजले युगको अँध्यारो चिर्ने काम गरेको छ। तेजेश्वरबाबु ग्वंगः यो युगकै चिन्तक र चेतनाका तेज लाग्छन् मलाई।’

ग्वंगः नामक दियो एउटा ननिभ्ने उज्यालो हो भन्न सकिन्छ। जुन निरन्तर बलिरहेको छ प्रकाश छर्दै। खासमा उनीसँग भएका अनुभव र उनले लेखेका पाण्डुलिपी राष्ट्रका सम्पत्ति हुन्। तिनलाई सार्वजनिक गर्ने वातावरणको खाँचो छ यतिबेला। सरकारले संस्था बनेका यस्ता व्यक्तित्वबाट धेरै लिनुपर्ने हो र दिनुपर्ने हो आमनागरिकलाई तर त्यसो हुन सकेको छैन। शब्द संयोजनको अनुपम कलाकारिता छ तेजेश्वरबाबुमा। सम्भवतः उनको संगत साहित्यिक बढी नै भएर हो। जसले महाकवि देवकोटा, केदारमान व्यथित, कविशिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम, कृष्णचन्द्रसिंह प्रधान, निबन्धकार शंकर लामिछाने, कवि भूपि शेरचन, युगकवि सिद्धिचरण श्रेष्ठ, लोकगायक धर्मराज थापा, मोहनहिमांशु थापा, वासु शशि आदि अनेक वरिष्ठ, चर्चित र कालजयी सिर्जनाका धनीहरूसँग संगत गर्न पाए ग्वंगःले। 

२०१२ सालतिरको एउटा साहित्यिक कार्यक्रम। ज्ञान विकास मण्डल भक्तपुरले जिल्लामा आयोजना गरेको बृहत् साहित्य गोष्ठीमा युगकवि श्रेष्ठले ग्वंगःलाई एकटकले हेरेछन्। भनेछन्, ‘बाबु, मलाई त आकाश मनपर्छ।’ त्यो पल सम्झँदै ग्वंगः सुनाउँछन्, ‘लाग्छ आकाश मनपर्ने सिद्धिचरणलाई हावा मनपर्दो हो, युगीन हावा। बादल पनि जसले वर्षा गराउँछ। माटो रसिलो बनाउँछ र धरतीसँगै सम्पूर्ण वातावरण हराभरा बनाउँछ। हरियाली मनपर्ने यी कविलाई ‘नयाँ नेपाल निर्माण’को काव्यिक कल्पनाका मूर्तरूप कोर्न रुचाउँछ। ‘नयाँ नेपाल’ कविता यिनकै सबुत साक्षी छ।’ ग्वंगः पनि नेपालको मुहार नयाँ भएको हेर्न आतुर छन्, जीर्ण हुँदै गरेको शरीर साँचेरै भए पनि। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.