
२०२५ सालको सन्दर्भ हो। २२ दिनमै उनले एउटा सामाजिक उपन्यास लेखे। अवाक नामक त्यो उपन्यास उनको पहिलो कृति थियो। हर्षविभोर हुँदै उनले त्यो उपलब्धि नर्सहरूको समूहमा सुनाएछन्। ‘त्यो यति रोचक भएछ कि अझ टिनएजरहरूलाई बहुतै काम लाग्ने भएछ’, श्रीप्रसाद उपाध्याय घिमिरे कसरी एस.पी. आसा बने भन्ने सन्दर्भ उनैले तीन वर्षअघि सुनाएका थिए, ‘त्यसपछि उनीहरूले उपन्यास पढे अनि भने– अहो ! तपाईं त आशावादी भनेको त आशा नै हुनुहुँदो रहेछ।’
त्यतिबेला सबै डाक्टरले आफ्नो नाम छोटकरीमा राख्थे। उनले पनि त्यसै गरे। ‘मैले आसा उपनाममा पातलो ‘स’ राखें किनकि मोटो ‘श’ चाहिँ सबैले राख्न सक्ने आशा भयो। जागिर खाएपछि पदोन्नतिको आशा। पातलो आसा चाहिँ व्यक्तिले मात्रै राख्ने आसा’, आसामा पातलो ‘स’ राख्नुको तात्पर्य उनले यसरी खुलाएका थिए। विष्णुप्रसाद र प्रेमकुमारी घिमिरेका आठ सन्तानमध्ये जेठो छोराको रूपमा काठमाडौं सीतापाइलामा २००१ सालमा जन्मिएका थिए उनी। क्यान्सरको उपचार गराइरहेका उनको आयुप्रति चिकित्सकले आशा मार्दै गएका थिए। र, यो धरती र विज्ञानको उपचार क्षमताले उनलाई काम गर्न सकेन। गत बुधबार उनी स्वर्गे भए।
छोरी उमाका अनुसार आसा तीन वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। उपचारका क्रममा ललितपुरस्थित बीएन्डबी अस्पतालमा बुधबार उनको निधन भयो। आसाका श्रीमती र तीन छोरी छन्। साहित्य र इतिहासलाई मिसाएर कलम चलाउने स्रष्टा हुन्, एसपी आसा अर्थात् श्रीप्रसाद घिमिरे। ऐतिहासिक उपन्यासकारको बिम्ब बने उनी। नेपाली साहित्यको फाँटमा अलग र विशिष्ट पहिचान बनाउन सफल सर्जक बने उनी। जीवनमा एउटा अनवरत उद्देश्य लिएर हिँड्ने स्रष्टा हुन् उनी जसलाई उमेरले कहिल्यै छेकेन। बरु सोच र शैली युवा झैं लाग्छ भन्ने उदाहरण हुन् उनी। ‘वृद्ध बनाउने उमेरले मात्र होइन रहेछ, विचारले पनि रहेछ’, उनको बुझाइ यस्तै रह्यो। त्यही भएर सायद उनले धेरै क्षेत्रमा छरिने र सेवा गर्ने मौका पाए। विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको उपसभापति उनले देशसेवाका क्रममा प्रजातन्त्र पुनस्र्थापनामा सक्रिय ढंगले काम गरेका थिए।
चार दशक पुरानो मित्रता रहेका प्रेमप्रकाश फलारी आसाका तीन दर्जनभन्दा बढी कृति प्रकाशन गरेको र अझै एक दर्जन पाण्डुलिपि प्रकाशनका लागि बाँकी रहेको बताउँछन्। ‘आसाजीको रुचिको लेखन भनेको इतिहास नै हो’, उनी लेख्छन्, ‘म लेखकलाई भगवान् मान्ने मान्छे। मेरो मोह भनेको प्राचीन ग्रन्थहरू पढ्नु हो। आसाजीको निजी पुस्तकालयमा जति ऐतिहासिक तथा प्राचीन ग्रन्थहरू अन्त पाइन्न होला।
म साँझ–बिहान तिनै पुस्तकमा रमाइरहेको हुन्थें।’ नेपाली साहित्यमा व्यावसायिक स्रष्टा कमै पाइन्छन्। साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले आसालाई त्यो श्रेणीमा राखेको पाइन्छ। लेख्छन्, ‘सरकारी सेवा र लेखापरीक्षणमा क्रियाशील आसाको व्यावसायिक लेखनमा तत्परता थियो।’ क्यान्सर लागेपछि जोकोहीले पनि हिम्मत हार्छ अनि निराश र हताश हुन्छ तर आसाले रोगविरुद्ध जगाएको आशा उदाहरणीय थियो। बुवाको रोग र जीवनशैलीबारे छोरी विद्याले लेखेकी छन्, ‘बुवाले क्यान्सरलाई पनि सामान्य रोग बनाइदिनु भयो।’
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. दानराज रेग्मी भने सर्जक आसा नेपाली भाषाका सच्चा सेवक रहेको बताउँछन्। उनी लेख्छन्, ‘नेपालको सरकारी कामकाज भाषा, नेपालीको सम्पर्क भाषा र आदिकवि भानुभक्त आचार्यले रामायण लेखेको भाषा नेपाली भाषालाई उहाँले आफ्नो विचार, अनुभूति र दृष्टिकोणलाई पाठकसमक्ष सम्प्रेषण गर्ने माध्यमका रूपमा प्रयोग गर्नुभएको थियो।’ प्राध्यापक डा. इन्दिरा शर्माले उपन्यासकार आसाको व्यक्तित्वबाट आफू निकै प्रभावित भएको बताएकी छन्। डा. अम्बिका रेग्मी आसालाई हिन्दु संस्कृतिका अनुसन्धाताका रूपमा बुझ्छिन्। भन्छिन्, ‘आसा संस्कृत, नेपाली र अंग्रेजी तीनवटै भाषामा प्रवीण देखिनुहुन्थ्यो। यही सबलताको उपयोग गरेर उहाँ संस्कृत र अंग्रेजी भाषामा लेखिएका खुराकलाई नेपाली समाजको परिवेशमा उतार्न खप्पिस हुनुहुन्थ्यो।’
आसाको बाल्यकाल पनि रोचक देखिन्छ। भाषा पढ्दा बुवाकै खप्की खेपेका उनले कसरी आफूलाई यति प्रखर साहित्यकार बनाए ? प्रश्न उब्जनु स्वाभाविकै हो। ‘त्यतिबेला कस्तो थियो भने हामी बाहुनका छोरा। बाले भाषा पढेको देख्नुभयो भने तँ भाषा पढ्ने हो ? भनेर गाली गर्नुहुन्थ्यो’, आसाले निधनअघि सुनाएका थिए, ‘यो घटना त नेपाली भाषाको मात्र हो, अंग्रेजी भाषाको त कुरै नगरौं।’
ब्राह्मण परिवारका उनले ११ वर्षसम्म जजमानी पनि गरेको पाइन्छ। त्यसकारण उनले नेपाली भाषाभन्दा सनातन धर्म ग्रन्थहरू बढी पढ्नु परेको रहेछ। भाषाप्रतिको उनको मोह कति रहेछ भन्ने घटना त अचम्मकै रहेछ। ‘२०११ सालमै खाली खुट्टा भीमढुंगा भन्ने ठाउँसम्म संस्कृत पढ्न पुग्थें’, आसाले भनेका थिए। उनको विवाहको सन्दर्भ पनि रोचक छ। पछिल्ला दशक हराउँदै गएको छ, कुम्ले विवाह संस्कृति। उनले भने कुम्ले विवाह गरेका थिए। उनकै मुखले सुनाएको यो सन्दर्भ, ‘कुम्लो बोकेर बास बस्दै बेहुली लिन जाने भएकाले कुम्ले विवाह भनिन्थ्यो।’ साहित्यकार आसाले काव्य र नाटकका साथै सामाजिक र जासुसी उपन्यास पनि लेखे। उनका प्रकाशित उपन्यासहरूमा ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ‘चीत्कार’, ‘सेरोफेरो’ छन्।
यसैगरी, ‘पृथ्वीनारायण शाह’ धारावाहिक प्रकाशन गरेका उनले ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, ‘लोकतन्त्रअघिको महाभारत’, ‘नेपालको पहिलो कोतपर्व’जस्ता महŒवपूर्ण कृति नेपाली साहित्यलाई उपहार दिएर गएका छन्। त्यसो त जसले गर्छ, उसलाई पनि गर्नेहरूको खाँचो हुँदैन। आसाका बारेमा नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले शोध गरेको पाइन्छ। साथै आसाकै साहित्यिक जीवनलाई आधार बनाएर विभिन्न स्रष्टाले पुस्तकसमेत लेखेको देखिन्छ।
प्रायः निधनपछि मात्र गुनगान गाउने चलन नेपाली समाजको देखिन्छ। तर आसाको हकमा निधनअघि नै केही भयो। २०७९ सालमै आसाका नाममा आसा प्रज्ञान केन्द्र स्थापना भएको पाइन्छ। बसोबास रहेको नगरपालिका नागार्जुनको सहयोगमा गतवर्ष नै केन्द्रबाट स्रष्टा एस.पी. आसाको सम्मानमा ‘स्मृतिग्रन्थ’ प्रकाशित भइसकेको छ। केन्द्र कति सक्रिय छ भन्ने अर्को उदाहरण पनि छ जसले आसाले तयार पारेका पाण्डुलिपिहरूलाई प्रत्येक वर्ष एक–एक कृति प्रकाशन गर्ने घोषणा गरिसकेको छ। त्यसैले सर्जक आसा यस धरतीमा नरहे पनि उनको नामको संस्थाले उनलाई सदा जीवित बनाइराख्नेमा ढुक्क हुन सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
