लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा दुई प्रहरी घाइते
विराटनगर : मोरङमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा आइतबार साँझ दुई जना प्रहरी घाइते भएका छन्।
नेपाल प्रहरीका हवल्दार र सहायक हवल्दार घाइते भएका हुन्। शंकास्पद अवस्थाको एउटा मोटरसाइकललाई रंगेली–कानेपोखरी भित्री सडकखण्डअन्तर्गत रंगेली नगरपालिका–८ बेदमारी पुलबाट प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अवस्थामा रोक्न खोज्दा मे २ प १३२९ नम्बरको मोटरसाइकल प्रहरीलाई छलेर साँझ ५:४० बजेतिर फरार भयो। त्यसलाई पछ्याउने क्रममा दुर्घटनामा परेर प्रहरी घाइते भएका हुन्।
मोटरसाइकल लिएर फरार भएका लागूऔषध कारोबारीलाई पछ्याउने क्रममा प्रहरीको प्रदेश १–०२–०४१ प १०५५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी हवल्दार मनी तामाङ र सहायक हवल्दार धर्मध्वज कार्की घाइते भएका छन्।
सहायक हवल्दार कार्की मोटरसाइकल चालक हुन्। सामान्य अवस्थाका दुवै घाइतेलाई उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरिएको डीएसपी दाहालले बताए। उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ।
त्यस क्रममा प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३५ वर्षीय सविन खनाललाई नियन्त्रणमा लिएको छ। खनालको साथबाट लागूऔषध करिस्पास १ सय १९ ट्याब्लेट, नाइट्राभेट १ सय १५ ट्याब्लेट र स्कुट १८ बोतल बरामद भएको जानकारी डीएसपी दाहालले दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खनालले लागूऔषध भारतदेखि खरिद गरेर ल्याएको पत्ता लागेको छ। उनी लागूऔषधको कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार खनाल लागूऔषधका सेवनकर्तासमेत हुन्।
दाहालका अनुसार उनलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ। खनालविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।