विद्यार्थी पलायन हुँदा देशको युवा जनशक्ति र ढुकुटी बाहिरियो : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र नभई ढुकुटी पनि बाहिरिएको बताएका छन्। मंगलबार दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी—२०२३ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाउनुपर्ने आवश्यकता भएको बताएका हुन्।
उनले भने,‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरुसँगै बाहिरिँदै गएको छ। त्यसैले पनि छिटोभन्दा छिटो यस पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुनेछ। यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन। तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर यस दिशामा ठोस परिणाम हासिल हुन सम्भव हुनेछ।’
उनले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको हाम्रो महत्वपूर्ण सरोकारको विषय भएको बताए। ‘उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेसिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ। यसै यथार्थलाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको विषय यहाँहरुलाई अवगत नै छ।’ उनले भने,‘शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने हामीले बुझेका छौँ। विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालयहरु खाली हुँदै जाने डरलाग्दो स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती हो। यस विषयमा सम्पूर्ण बौद्धिक समुदायले गम्भीरतापूर्वक सोच्नुहुनेछ भन्ने मेरो विश्वास छ।’
उनले सरकारको नीति, नियम र संविधान तथा कानुनको दायरामा रही निजी व्यवसाय गर्ने व्यवसायीलाई आर्थिक विकासको हिस्सेदार पक्ष मानेर अघि बढ्नुपर्ने धारणा राखे ।प्रचण्डले सरकारको अथक प्रयासका कारण अर्थतन्त्रमा सुधार आए पनि दवाबमुक्त भइ नसकेको उनको भनाई छ। उनले भने,‘कोभिड महामारी, विश्वव्यापी ध्रुवीकरण र द्वन्द्व, हाम्रो आफ्नै संरचनागत प्रणाली, क्षमता र कार्यसम्पादन आदि कारणले राष्ट्रिय अर्थतन्त्रले दवावको महसुस गरिरहेको छ।’