कोशी प्रदेशमा चाडपर्व शान्तिपूर्ण

कोशी प्रदेशमा चाडपर्व शान्तिपूर्ण

विराटनगर : कोशी प्रदेशमा यसवर्ष ठूला चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन्। हिन्दु धर्मावलम्बीहरूको महान पर्व दसैं, तिहार र छठका समयमा छिटपुटबाहेक ठूला एवं अप्रिय घटना हुन पाएनन्। 

विशेष गरेर चाडपर्वमा भारतसँग सीमा जोडिएका स्थान सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन्। नेपाल तथा सशस्त्र प्रहरीसमेतका निकायले १४ जिल्ला रहेको प्रदेशमा चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाउँदै असोज २८ देखि मंसिर ४ गतेसम्मका लागि लागू गरेका थिए। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रवक्ता एवं डीएसपी सुनील दाहालले चाडपर्व लक्षित सुरक्षा तैनाथी बढाइएका कारण दसैं, तिहार र छठमा अप्रिय घटना हुन नपाएको बताए। 

प्रदेशभरि चाडपर्वको अवधिमा ८ जनाको हत्या भएको छ। प्रहरीका अनुसार १ सय ७१ जनाले आत्महत्या गरेका छन्। कुटपिट र झैझडासँग सम्बन्धित ७४ वटा घटना भएका छन्। जुवातासका ७, जबरजस्ती करणीका १०, लागूऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएको डीएसपी दाहालले बताए। 

उनका अनुसार चाडपर्वको अवधिमा प्रदेशभरि ६ सय ५० वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परेर ४८ जनाको मृत्यु भएको छ। विभिन्न घटनामा संलग्न ४ सय ८६ जनालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको जानकारी दाहालले दिए। 

उनका अनुसार हत्यामा संलग्न १०, कुटपिट एवं झैझगडामा संलग्न ६५, जुवातास खेल्ने ५४, बलात्कारमा संलग्न ९, लागूऔषध ओसारपसार गर्ने ९२, दुर्घटना गराउने २ सय ४९, चोरीमा संलग्न ५ र हतियारसहित २ जना पक्राउ परेका हुन्। विगतमा जस्तो यसवर्ष संगठित अपराध, सामूहिक बलात्कार, लुटपाट, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना हुन नपाएको दाहालले बताए। 

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेल चाडपर्व तुलनात्मक हिसाबले शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँछन्। उनका अनुसार विगतमा जस्तो यसवर्ष मोरङमा कुनैपनि ठूला आपराधिक घटना हुन पाएनन्। अपराधिक योजना बनाएर हिँडेकालाई बेलैमा नियन्त्रणमा लिइएको एसपी पोखरेल बताउँछन्। 

दसैंका समयमा लुटपाट एवं डकैतीको योजना बनाएर हिँडेको आपराधिक गिरोहलाई प्रहरीले मोरङबाट हतियारसहित पक्राउ गरेको थियो। ‘चाडपर्वलाई लक्षित गरेर सुरक्षा सक्रियता बढाइयो। सुरक्षा व्यवस्था कडा पारियो,’ एसपी पोखरेल भन्छन्, ‘शंकास्पदहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइयो। चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सबै उपायको अवलम्बन गरिएको थियो।’ 

मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो। प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला तुलनात्मक हिसाबले यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपले सम्पन्न भएको बताउँछन्। ‘प्रहरीले चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानको निगरानी बढाएको थियो,’ उनले भने, ‘बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधी धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरूमा सुरक्षा सतर्कता बढाइएकाले चाडपर्वका बेला अपराधिक घटना धेरै भएनन्।’

विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध हुन नपाएको बास्तोलाको भनाइ छ। उनका अनुसार विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको थियो। चाडपर्वका बेला हुनसक्ने अपराध नियन्त्रणका लागि सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरिएको उनले बताए। 

संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको थियो। धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरूको भीडभाड एवं घुइँचो हुने स्थान प्रहरीको विशेष निगरानीमा थिए। डीआईजी बास्तोला मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा प्रहरीले ध्यान दिएको बताउँछन्। 

चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण नेपाल र सशस्त्र प्रहरीको प्राथमिकतामा परेको थियो। ‘जुवा, तासलगायत गैह्रकानुनी खेलहरू र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिने योजनाअनुरुप काम गरियो,’ बास्तोलाले भने, ‘उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षामा कमी भएन।’ 

उनका अनुसार शंकास्पद व्यक्तिहरू एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत आपराधिक प्रवृत्तिका मानिसहरूको पहिचान र नियन्त्रणमा प्रहरी सक्रिय थियो। चाडपर्वमा अपराध नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी बढाउँदै प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको बास्तोलाले बताए। उनका अनुसार चाडपर्वको अवधिमा भारतसँग सीमा जोडिएका स्थानमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच गरिएको थियो।

डीआईजी बास्तोलाले चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि ७ हजार ५ सय १५ जना प्रहरी परिचालन गरिएको बताए। अवाञ्छित गतिविधि रोकथाम एवं नियन्त्रण गर्दै आमनागरिकमा सुरक्षित, भयरहित, हर्ष र उल्लासका साथ पर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरीले सबै उपायको अवलम्बन गरेको उनको भनाइ छ। चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रदेशस्तरीय र १४ वटै जिल्लामा ‘कमाण्ड पोस्ट’को स्थापना गरेको थियो। 

कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल चाडपर्वका बेला सीमा अपराध नियन्त्रणका लागि नेपाली प्रहरीका साथै भारतीय ‘काउण्टर पाट्र्स’सँग समेत समन्वय र सहकार्य गरिएको बताउँछन्। उनका अनुसार सीमा नाकाबाट हुने अवैध ओसारपसारलगायतका अपराध नियन्त्रणमा सशस्त्र केन्द्रित थियो। 

सीमा क्षेत्रबाट लागूऔषध, हातहतियार एवं विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको पोखरेलको भनाइ छ। डीआईजी पोखरेलका अनुसार चाडपर्वमा सुरक्षा निकायले विशेष निगरानी बढाएकै कारण नेपाल–भारत सीमा क्षेत्रमा तनावपूर्ण अवस्थाको सामना गर्न परेन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.