स्याङ्जामा सुन्तला उत्पादन घट्यो
स्याङ्जा : स्याङ्जामा सुन्तला उत्पादन घटेको छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष करिब २५ प्रतिशत कम उत्पादनमा भएको हो।
गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको किसान र सुन्तलाका क्षेत्रमा कार्यरत सरकारी कार्यालयको प्रारम्भिक आकलन छ।
सुन्तला उत्पादनमा कम भए पनि मूल्यमा भने कम नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाका अध्यक्ष तारा अर्यालको भनाइ छ।
जिल्लाभर २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ। ती मध्ये १ हजार ३ सय हेक्टर उत्पादनशील बगैंचा छन् भने ३ हजार ५ सय जना सुन्तला व्यवसायी किसान छन्।