आगलागीबाट घाइते भएका थप एक जनाको मृत्यु
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको मृत्यु भएको हो।
अनुहार, घाँटी, छात्ती, दुवै हात र खुट्टा जलेर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा बुधबार राति १०:३५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दाहालको शव अस्पतालमै राखिएको छ।
योसँगै उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ। घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर अचानक आगलागी सुरु भएको थियो। आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। हाल २६ जना उपचाररत छन्। गम्भीर अवस्थाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो। सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो।
आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो। आगलागी नियन्त्रणमा लिने क्रममा अचानक कार विष्फोट भएको हो। कार र ग्यास शिलिण्डर विष्फोट हुँदा आगो निभाउन खटिएकाहरु घाइते भएका थिए। आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।