वीरगन्ज महानगरले नारायणी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने
वीरगन्ज : वीरगन्जको नारायणी क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नति गर्न महानगर आफैं अघि सरेको छ। संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनर्निर्माणका लागि उपेक्षा गरेकाले महानगर आफैंले रंगशाला व्यवस्थित बनाउने जमर्को गरेको हो।
बिहीबार महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थलगत निरीक्षण गर्दै नारायणी क्रिकेट रंगशालाको स्तरोन्नति अब महानगरले गर्ने बताए। रंगशालामा अभ्यासका लागि मुख्य मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउने गरी आवश्यक काम अघि बढाउन उनले मातहतका कर्मचारीलाई निर्देशन समेत दिए।
मेयर सिंहले तत्काल रंगशालाले ओगटेको जग्गाको नापजाँच गरेर घेराबेरा गर्ने र अभ्यासका लागि छुट्टै स्थान बनाउने गरि काम अघि बढाउन टोलीलाई निर्देशन दिए। नारायणी रंगशालाको स्तरोन्नती नहुँदा यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन सकेको छैन। अहिले पर्सा क्रिकेट संघको अगुवाईमा अन्तर्राष्ट्रिय स्तरको ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करणको प्रतियोगिता गर्ने तयारी भइरहेको छ।
त्यसैलाई मध्यनजर गर्दै महानगरले रंगशाला स्तरोन्नतीका साथै आवश्यक काम अघि बढाउने जमर्को गरेको हो।