एमाले सचिव योगेश भट्टराई चढेको गाडी तोडफोड
![एमाले सचिव योगेश भट्टराई चढेको गाडी तोडफोड](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_8wXf1hkaCV_utoWjCQNOC.jpg)
ताप्लेजुङ : नेकपा एमालेका सचिव योगेश भट्टराई चढेको गाडीमा पहिचानवादीले ढुंगा प्रहार गरेका छन्। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा फुङलिङ-४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन्।
७/८ जनाको समूहले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए। भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कटिङमा लगिएको थियो। गाडीमा क्षति भएपनि मान्छेलाई केही नभएको एमालेले जनाएको छ।
यसअघि मध्यान्ह एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो। भट्टराईको निवास अगाडि उनीहरूले प्रदर्शन समेत गरेका थिए। दसैं, तिहार, छठ, नेपाल सम्वत जस्ता चाडपर्वका अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरू उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले चियापान कार्यक्रम आयोजना गरेका थिए।
दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले बताए। प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन्।
यसअघि एमालेकै प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादीका इन्द्र आङवो लगायतका नेतामाथि यही क्षेत्रमा आक्रमण गरिएको थियो। पहिचान पक्षधरले एमालेले गर्ने मध्यपहाडी यात्रामा समेत अवरोध गर्ने दावी गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)