नेपाली संस्कृतिको सामाजिक रसायन
संस्कृतबाट नेपालीकरण गरी स्थापित भएको संस्कृति शब्दको पर्यायवाची ‘कल्चर’ शब्द अंग्रेजी भाषामा सर्वप्रथम अंग्रेज विद्वान् एडवर्ड बर्नेट टाइलरले सन् १८६५ ताका प्रयोग गरेका हुन्। नाचगान र वादन कलाकौशललाई पनि संस्कृतिभित्रै समावेश गरिएको पाइन्छ। यसअघि सीमित अर्थमा प्रयोग हुँदै आएको संस्कृति शब्दलाई व्यापक र बृहत् रूपमा प्रयोग गर्न थालिएको छ। संस्कृतिको समानान्तर शब्द सभ्यता हो। मानवको पहिलो सिकाइ वा पाठशाला नै प्रकृति हो। मानवले जीवनमा चाहिने सामग्रीको खाँचोपूर्तिका लागि विकास गरेको कुरा नै संस्कृतिका रूपमा विकास भयो। बृहत्तर मानवीय दृष्टिकोणमा संस्कृति मानवनिर्मित भौतिक कुरा हो।
मानवले प्रकृतिको भौतिक वस्तुबाट शिल्पकलाको विकास गर्यो। शिल्पकलाको क्रमिक विकास र संक्रमणपछि संस्कृतिको विकास हुन्छ। यसलाई मानव (शिल्प) सभ्यताको शैशवकाल पनि भन्न सकिन्छ। संस्कृतिको क्रमिक विकास र संक्रमणपछि सम्पदामा रूपान्तरण हुन्छ। यही मानव निर्मित सम्पदाको क्रमिक विकास र संक्रमणपछिको उच्चतम् बिन्दु नै सभ्यता हो। नेपाल सांस्कृतिक सम्पदाको अथाह भण्डार हो। मानवसभ्यताको आदिम आधारशिला नेपालका अनादिवासी रैथाने शिल्पी (कथित दलित) समुदाय हुन्। मानव र प्रकृतिको संयोगबाट संस्कृतिको विकास र निर्माण भएको हुन्छ।
पश्चिमी रसायनशास्त्रको विकास सन् १३०० देखि १६०० मा मात्रै विकसित भएको हो। तर, नेपालका कामी जातिले विभिन्न फलाम, तामा, पित्तल, सुन र काठ जोड्ने रसायनशास्त्रको विकास पहिल्यै गरिसकेका थिए। उनीहरूले प्रकृतिसँगको लामो सामिप्यता, संघर्ष र सिकाइबाट चुनढुंगा, स्वाग, आगो र पानीको मात्रा मिलाएर रसायनशास्त्रको विकास गरेका हुन्। कामी जातिकै एकथरी गहत उमालेर ढुंगामा पोख्दै ढुंगा फोर्दै हिँड्ने गहतराज भए। माघ १ गते अनिवार्य र अरू बेला पेटको पत्थरी भएको अवस्थामा गहत खाने चलन छ। रसायनशास्त्रको विकासकर्ता रसाइली कहलिए। खानीका विशेषज्ञ कामी आग्रीको नामले चिनिए।
एक बाजाको पूर्ण विकास हुन आजको भोलि सम्भव हुँदैन। कम्तीमा हजार वर्ष लाग्नसक्छ। यस्ता बाजाहरूमा–कामीको मुर्चुंगा, दमाईको पञ्चैबाजा, बिजुली, नागफेरी, हुड्को, कर्नाली र भेरी, सार्कीको मादल, बादीको मादल, टेम्की, मनरा, मसक (सारंगी बाजो) मुख्य छन्। जसमा गन्धर्वको अरबाजो र सारंगी, चमारको पिपही (सहनाई) ढोल र नरसिंगा, डोमको ओढ्नी, मुसहरको तासा, मृदंग, झर्की र कट्झाल, नेवारको धिमे, कोंचाखी पनि छन्। यस्तै, तामाङको डम्फू, गुरुङको छयाँला र मिर्दुंगा, राईको बिनायो, लिम्बुको फामुक, थारुको झाईल, मगरको झर्रा, शेर्पाको टुङ्ना र खसबाहुनको झ्याली खैजडी आदि प्रमुख छन्।
दमाई जातिले बजाउने पञ्चैबाजा समूहको नगरा वा दमाहाको विकास हुन्, लामोसमय पार गर्नुपरेको छ। यो बाजा गुफा युग हुँदै जंगली युगबाट विकसित भएको मानिन्छ। सुरुमा माटो, त्यसपछि रूखको धोद्रो वा काठको डुँडमा जंगली जनावरको छालाबाट दमाहा बनाइएको इतिहास पाइन्छ। माटो र काठ दुवै टिकाउ नहुने भएकाले धातुयुगको विकासपछि तामाको दमाहा बनाउन थालिएको हो। त्यही क्रमिक विकासको निरन्तरता दमाहालाई वर्तमानसम्म देख्न सकिन्छ। चन्देश्वर दासका अनुसार चर्चित सहलेश सम्राटको जन्मजयन्तिकै दिन तराई (सहलेश–मधेस प्रदेश) मा वैशाख १ गते रैथाने शिल्पी समुदायले जुडशीतल पर्व मनाउँछन्।
मानव स्वास्थ्यभन्दा पहिले पृथ्वीकै स्वास्थ्य राम्रो बनाइनुपर्ने वर्तमान बहसमा जुडशीतल पर्वको महत्व विज्ञानसँग जोडिएको सप्रमाण पुष्टि हुन्छ। चर्को गर्मीबाट मानव शरीरलाई सुरक्षाका लागि हिलो माटो, एकअर्कामा खेलेर, दलेर मनाउँछन्। यो चाड हजारौं वर्षअघि अग्रज पूर्खाहरूले प्रकृति र कूलपितृदेव पूजाका रूपमा विकास गरेको देखिन्छ। नेपालका पछाडि पारिएको हरेक जाति, समुदायहरूको अस्तित्व, इतिहास र पहिचानको सम्मान हुनुपर्छ। यसका लागि दीर्घकालीन रूपमा जगेर्ना गर्न तीनै तहले क्रमशः रैथाने शिल्पकला तथा संस्कृति विद्यालय, रैथाने शिल्पकला तथा संस्कृति महाविद्यालय र रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्नुपर्छ। जसमा सैद्धान्तिक, व्यावहारिक, प्रयोगात्मक र उत्पादनसमेत गरिन्छ।
यसले अनुसन्धान, आविष्कार, उद्यमशीलता र समृद्धिको मार्गलाई अगाडि बढाउने लक्ष्य राखेको छ। यस्ता शैक्षिक संस्थाबाट उत्पादित सामग्रीलाई देशभर कोसेलीघर र व्यापारबाट अर्थतन्त्रमा उल्लेख्य वृद्धि गर्न सक्छ। यसका साथै स्वरोजगारी सिर्जना, सामुदायिक सशक्तीकरण र समृद्धिको आधारशीला स्थापित गर्छ। राज्यसञ्चालकहरूले यस्ता विषयलाई चासो, चिन्ता र प्राथमिकतामा राखेर कार्यान्वयन गरे समृद्धिको सपना विपनामा परिणत हुन धेरै समय कुरिरह नै पर्दैन। यसका लागि नेतृत्वमा स्पष्ट दृष्टिकोण, आर्थिक पारदर्शिता, खर्चमा मितव्ययी र भ्रष्टाचार नियन्त्रण दृढसंकल्प लिनैपर्छ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको विकास सुत्र ‘आत्मनिरर्भर र कडा परिश्रम’ छ। उनले सन् २०१३ बाट सत्ता सम्हालेको अघिल्लो दुई कार्यकालमा झन्डै १० करोड चिनियाँलाई गरिबीबाट मुक्त गरेबाट उक्त सिद्धान्त प्रमाणित भएको छ। तसर्थ समृद्धिको आधार नै उद्यमशीलता र कडा परिश्रम हो। नेपालमा पनि श्रम गर्नेहरूलाई आदर र सम्मान गर्ने संस्कृति बसाल्नु जरुरी छ। यसरीमात्र समृद्धिको राजमार्ग बन्दै जानेछ। नेपालको शिल्पकला, सम्पदा, संस्कृति र सभ्यताको विकासमा रैथाने शिल्पी समुदाय अब्बल छन्। उनीहरू शिल्प (मानव) सभ्यताका आधारशीला हुन्। राज्यले बिना कन्जुस्याइँ लगानी गर्नसकेमा यी समुदाय समृद्धिको कोसेढुंगा बन्न सक्छन्।