विपत्तिले गिज्याइरहेको अमानवीयता
अर्तीपछि दिउँला, अहिले सकेसम्म आपसी हातेमालो गरेर बाढीको विपद्मा परेकाहरूको उद्घार र व्यवस्थापन गरौं।
हालैको अविरल वर्षाकृत बाढीपहिरोबाट देशका विभिन्न भागमा गरी दुई सयभन्दा बढी व्यक्तिको दुःखद् निधन भयोे। अझै केही सम्पर्कविहीन छन्, सम्भवतः जीवित नरहेको आशंका छ। थुप्रै परिवारको सपना उजाडियो, जीवन बाँच्ने आधार खोसियो। हजारौं यात्रु बीचबाटोमै अलपत्र भए।
सार्वजनिक भौतिक संरचना र व्यक्तिका निजी सम्पत्तिमा भएको क्षतिको पूर्ण लगत आएको छैन। सामाजिक सञ्जालका अप्रमाणित सूचना, बाढीपहिरोका श्रव्यदृश्य सामग्रीहरूको आधारमा अनुमान मात्र गर्दा पनि अगणित भौतिक विनाश भएको स्पष्ट हुन्छ। राजधानी र मोफसललाई जोड्ने अधिकांश सडक सञ्जाल बन्द भए र अहिले पनि पूर्ण निर्भयतासाथ सञ्चालन हुन सकेको छैन। जिल्ला सदरमुकाम र विभिन्न गाउँको सडक सञ्जालसमेत केही हदसम्म अवरुद्ध छन्।
थुप्रै ठाउँमा विद्युत्, सञ्चारलगायतका सेवा अझै सुचारु हुन सकेको छैन। कतिपय गाउँबस्तीमा खाद्यान्न तथा औषधिजन्य संकट छ। बिजुलीका पोल तथा रुख घरमाथि बजारिएका छन्। धन, जन विनाशको यो विकराल तथा अत्याशलाग्दो त्रासदीसँगै तनाव व्यवस्थापन अर्को चुनौती बनिरहेको छ। अठारौं शताब्दीका विख्यात लेखक थोमस रोबर्ट माल्थसले सन् १७९८ मा प्रसिद्घ एक अवधारणा ‘द प्रिन्सिपल अफ पपुलेसन’ प्रकाशित गरे। त्यसले प्राकृतिक विपत्तिलाई एउटा आवधिक नियमितता मान्छ। मानवले नचाहेर पनि सामान्यतया २५ वर्षको चक्रीय हिसाबमा सबै क्षेत्रमा कुनै न कुनै विपत्ति भोग्नुपर्ने दाबी गरिएको छ।
सबै प्रकारका भू–वनावटमा छुट्टाछुट्टै खालका विपत्तिको जोखिम रहन्छ। नदीतट तथा समतल क्षेत्रमा बाढी, पहाडमा पहिरो तथा भूक्षय, हिमालमा हिमपात विश्वव्यापी चरित्र हुन्। सबै मिलेर विपत्तिसँग जुध्नुपर्छ, आपूm बाँच्नुपर्छ र अरूलाई बचाउनुपर्छ। यद्यपि विपत्तिलाई मौकाको फाइदा उठाउने अवसर खोज्ने अथवा मानव भएर गर्नुपर्ने सामान्य मानवीय दायित्वसमेत बहन गर्न नखोज्नेहरूको संख्या पनि बाक्लै देखियो। यस विपत्तिमा देखिएका कम्तीमा आधा दर्जन सन्दर्भले समाज ढोंगी, असहयोगी, अवाञ्छित फाइदा केन्द्रित, स्वार्थपरक एवं अभिमानी हँुदैछ र समाजबाट मानवीयता हराउँदैछ भन्ने छर्लंग पारिदयो।
पहिलो, बेलैमा यस्तो विपत्को सूचना थियो, मौसमविद्हरूले यो विध्वंशको सम्भावना बताएका थिए तर सरकारले खासै सुरक्षा सतर्कता र विपत् व्यवस्थापन रणनीति अपनाउन सकेन। अभिभावकीय नेतृत्व लिन सरकार चुक्यो। दुई तिहाइको बलियो र देशका सबैभन्दा पुराना भनिएका दलको संयुक्त सरकार बलियै र ठूलै अक्षमताको मानक बन्यो। अलिकति लेदो नपन्छाइदिएका कारण लामो समय ‘होल्ड’ हुनुपर्दा झ््याप्ले खोलाको पासोमा ३५ भन्दा बढी व्यक्तिको ज्यान गयो। लेदो पन्छाइदिन बेलैमा अनुरोध गर्दा यात्रुमाथि नै दुव्र्यवहार भएको घटनाले राज्यले पनि मानवीयता गुमाएको देखाउँदैन र ?
दुई, हवाईसेवा प्रदायकहरूले टिकटको भाडादर अचाक्ली महँगो गरेर निर्ममतापूर्वक यात्रुहरूको शोषण गर्दैछन्। नजिकिएका चाडपर्व लक्षित बाक्लो र बाध्यात्मक आवागमनबाट अकुत कमाउने अभिलाषा देखिन्छ। भूकम्पको विपत्तिमा नेपाल टेलिकमले केही दिन नागरिकलाई निःशुल्क फोन सुविधा दिएको थियो। व्यावसायिक घरनाको व्यावसायिक सार्वजनिक दायित्व (कर्पोरेट सोसल रेस्पोन्सिविलिटी) भन्ने पनि हुन्छ। तर यहाँ त आपत्मा सहयोग र सहजीकरण गर्न छाडेर कमाउने मौका बनाउँदैछन्।
तीन, बिचल्लीमा परेका यात्रुहरूको बाध्यतालाई खिल्ली उडाउँदै सडक नजिक भएका पसलहरूमा खाद्यवस्तुको अस्वाभाविक मूल्य लिइयो। सबैजना केवल आफ्नो सुविधाअनुसार फाइदाका पछि थिए, स्वार्थ लक्षित थिए। सेवाभाव त केवल समान पीडामा रहेकाबीच मात्र सीमित थियो। समाजसेवाका नाममा पीडितमाथि भद्दा मजाक गर्नेहरूको आगामी दृश्य त सायद आउनै बाँकी होला।
चार, आफूलाई विज्ञ त्यो पनि नवीनतम् अवधारणाको बुज्रुक मान्ने एकथरी मानिस जलवायु परिवर्तनको हुँकार लाउँदै थिए। तापमानमा निरन्तर वृद्घि, बढ्दो कार्बन उत्र्सजन, समुद्र सतहको बढ्दो उचाइ, ऋतुसँग असंगतिपूर्ण मौसम र हावापानी, अनि विभिन्न खालका विपत्हरूले विश्वलाई नयाँ चुनौती थप्दैछ। मानिसले वातावरण विरोधी कार्यको फल पाएको भनेर अरूहरूको दुःखमा बोझ बोकाउने अशोभनीय हर्कत पनि देखियो। कारण जेसुकै होस्, विपत्तिमा पहिले उद्धार, राहत अनि व्यवस्थापन सकेपछि मात्र बाँकी कुरामा विमर्श गर्नु स्वाभाविक हो। विपत्ति कहिल्यै पनि उत्सवको विषय हुन सक्दैन। देशमा ५५ वर्षपहिले पनि यत्तिकै विशाल वर्षाद् तथा समान तवरको क्षति भएको तथ्यांक रहेछ। कसरी यो विपत्ति केवल जलवायु परिवर्तनको मात्र उपज हुन सक्छ र? उनीहरूको उष्ण विश्लेषणप्रेमी आचरणभित्र मानवीयता भने मरणासन्न भइसकेको थियो।
पाँच, केही मानिस प्रधानमन्त्री केपी ओली र काठमाडौं महानगरका मेयर बालेन साहका परस्परविपरीत अडान तथा सर्वोच्च अदालतका पैmसलालाई लिएर एकअर्कालाई घोचपेच गरिरहेका थिए। खोलाले कति ठाउँ चाहिन्छ भन्ने आफैं बताइसकेको स्थिति छ। को नेता सही कि गलत भनेर महिमामण्डन अथवा भक्तिभजनमा समय खेर फाल्नै पर्दैन। छ, केही व्यक्ति भने बस्तीमा खोला पसेको नभै खोलामा बस्ती बसेकाले यस्तो भएको भनेर हाँसीमजाक पनि गर्दै थिए। खोलाका छेउमा बस्ती बस्ने कुरा सभ्यताको अभिप्राय पनि हो। ईशापूर्व १२औंदेखि नवौंसम्मको ग्रिक सभ्यता र विकास, ईशापूर्व २७ बाट सन् ४७६ सम्मको प्रसिद्घ रोमन सभ्यतालगायत पछि आएका इजिप्सियन, मेसोपोटामिया, ह्वांगो उपत्यकालगायत सिन्धु घाँटी सभ्यता तथा विकासहरू नदी अनि समुद्र तटका क्षेत्रहरूबाट सुरुवात भएको इतिहास लेखिएको छ।
नदी छेउमा बस्दा उत्पादन राम्रो हुने, बस्तु ढुवानी तथा विनिमय सहज बन्ने, जलशक्तिबाट सञ्चालित औजार तथा उपकरणको प्रयोगका कारण जीवन सरल बन्ने हुन्थ्यो। क्रिस्टोफर स्मलको अनुसन्धान ‘अ ग्लोबल एनालिसिस् अफ ह्युमन सेटलमेन्ट इन् कोएस्टल जोन’ र वाइन ब्लेडसोइको पुस्तक ‘द अडभेन्ट अफ सिभिलाइजेसन’ले यस तथ्यलाई प्रस्ट पारेको छ। नाइल सभ्यताका बारेमा त हामी सबैसँग थोरबहुत अध्ययन छ। त्यही भएर नदीतटको बस्ती चाहिँ सदैव अदूरदर्शी लहड र अवैज्ञानिक कदम नै हो भन्ने तर्कसमेत आग्रहपूर्ण फलेसी (सुन्दा सही जस्तो लाग्ने प्रस्ट भ्रम अथवा कुतर्क) पनि हो। यद्यपि प्रकृति सबैभन्दा अनीतिक्रम्य र सर्वजितचाहिँ छिन्।
कसैको पनि पीडामा हर्ष प्रदर्शन र बाध्यतामा अनुचित लाभ अक्षम्यमात्र होइन कि संघीन मानवीय अपराध नै हो। विपत्ति आइसकेपछिको समयमा उद्धार, राहत तथा व्यवस्थापन पहिलो प्राथमिकता एवं मुख्य कार्यभार हुन्। युट्युबहरूको भीडभाड र सतही प्रचारबाजीमा कति पनि लालयित नभई सेनालगायतका सुरक्षा निकायले आफ्नो ज्यानबाजीमा लगाएर बिचल्लीमा फसेकाहरूको अहोरात्र उद्धार गरिरह्यो। उनीहरूलाई सम्मान। पीडितहरूको विचलित मनोविज्ञान अनि स्वाभाविक छट्पटाहट कम्ती हृदयविदारक छैन।
अफसोस्, सके सहयोग गर्ने, नसके पनि दुःख महसुस गर्ने र पीडा साट्न खोज्नुपर्ने मानवीयताबाट समाज, सरकार र सरोकारवाला हामी सबै निकै पर भाग्दैछौं। पीडितहरूको आँटमा सकेको मलम लगाउने, रोदनमा सहानुभूति देखाउने धर्मको सट्टा उनीहरूको बाध्यता र असहजतालाई पासो थापेर मौकाको गलत फाइदा लिनु अथवा हासिमजाकमा उत्रनु शोभनीय हँुदैन, भएन पनि। तर असंख्य मानिसको ध्यान यतापट्टि मोडिएको छ।
बहस पछि गरौंला, अहिले सहयोगी व्यवहार देखाऔं। अर्ती पछि दिउँला, अहिले सकेसम्म आपसी हातेमालो गरेर विपत्मा परेकाहरूको उद्धार र व्यवस्थापन गरौं। जीवन सहज बनाइदिनेतिर लागौं। मृत्युमा उत्सव र पीडामा हाँसीमजाक कुनै पनि बहानामा क्षम्य तथा स्वीकार्य हुँदैन। मानव बनौं, मानव सेवामा समर्पित होऔं। सके सहयोग गरौं, नसके पनि शोषण नगरौं। यस चराचर जगत्मा सृष्टि भएका सबै प्राणीमध्ये हामी स्वयं मानवलाई उच्च दर्जाको ठान्दछौं। त्यसो भए, सामान्य मानवीयताको समेत धज्जी उडाउने गरी अमानवीय चाहिँ नबनौं, बन्दै नबनौं।
कसैको पनि पीडामा हर्ष प्रदर्शन र बाध्यतामा अनुचित लाभ अक्षम्यमात्र होइन कि संघीन मानवीय अपराध नै हो। विपत्तिा आइसकेपछिको समयमा उद्धार, राहत तथा व्यवस्थापन पहिलो प्राथमिकता एवं मुख्य कार्यभार हुन्।