नृसिंहधाम : प्रकृतिको काख, धार्मिक साख
नेपालको राजधानी काठमाडौंबाट करिब १२० किलोमिटर उत्तर–पश्चिम, धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा बुढीगण्डकी र नेत्रावती नदीको संगममा श्री नृसिंहधाम अवस्थित छ। यस पवित्र भूमिमा भक्तशिरोमणि प्रह्लादले तपस्या गरी भगवान् श्री नृसिंहदेवको दर्शन पाएको किंवदन्ती छ। धादिङ जिल्लाको सल्यानटार आफैंमा पनि ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक रूपमा महत्वपूर्ण स्थान हो। पुरातत्वविद्हरूका अनुसार खोज–अनुसन्धानका क्रममा यस स्थानमा लिच्छविकालीन बस्ती रहेको पाइएकाले पनि यो स्थल ऐतिहासिक रूपमा विशेष मह्रत्वपूर्ण मानिन्छ।
वैदिक सनातन शास्त्रमा भगवान् नरसिंहदेवका विभिन्न १२ वटा प्राकट्यस्थल र १२ वटा नरसिंह पीठमध्ये यस स्थानलाई पनि एक पीठका रूपमा वर्णन गरिएको छ। शास्त्रीय हिसाबले यी दुई नदी नेत्रावती र बुढीगण्डकीलाई यशोधरा, विश्वधारा वा नारसिंही र ब्राह्मी भनेर स्कन्दपुराण तथा पद्मपुराणमा व्याख्या गरिएको छ।
गण्डकीका सातैवटा धाराको बेग्लाबेग्लै नाम छ :– धर्मधारा, यशोधरा, विश्वधारा, शीतप्रभा, रत्नधारा, सुवर्णाभा र कृष्णाभा। महेश्वरी, ब्राह्मी, नारसिंही, वैष्णवी, कौमारी, कालिका र गंगा नै क्रमैसँग गण्डकीका रूप हुन्। अत्यन्त पुण्यदायक यी नदीहरूको पारस्परिक संगममा स्नान गर्नाले करोडौं गुणाफल प्राप्त हुने विश्वास गरिन्छ। श्वेतवराह कल्पमा भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहदेव जुन नदीबाट प्रकट भई दर्शन दिनुभयो, त्यस नदीको नाम ‘नारसिंही’ रहन गयो। उक्तनदी नै ‘वृद्धार गंगा’ हुँदै अहिले बुढीगण्डकीका नामले चिनिन्छ।
अर्कातर्फ, नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेको आँसुबाट उद्भव भएको जनविश्वास छ। बुढीगण्डकी सप्तऋषिको आ श्रमबाट प्रवाहित गंगाका अनेक धारामध्ये एक हो भने नेत्रावती भगवान् शिवले उत्तरतर्फ यात्रा गर्नुभएको बखत उहाँको नेत्रबाट प्रकट भएको मानिन्छ। यी दुई नदीको संगममा स्नान तथा श्राद्ध गर्नाले पितृहरूको मोक्ष हुने र कर्ताको जीवनसमेत सफल हुने धार्मिक आस्था छ।
समग्रमा श्री नृसिंहधाम क्षेत्रलाई ‘हरिहर क्षेत्र’ पनि भन्न सकिन्छ। नेत्रावतीका रूपमा प्रवाहित उमापति भगवान् श्रीसदाशंकर र गण्डकी स्वरूपमा कमलनयन श्रीपति भगवान् श्रीहरिको मिलन स्थल नै नृसिंहधाम क्षेत्र हो। पूर्वकल्पमा नृसिंहदेवले लीला गरेका विभिन्न स्थानहरू— जस्तै फटिक खम्बा (सल्यानटारको शिर), होलिका दहन गरिएको स्थान (अगिञ्चोक), भगवान्ले हात पखालेको स्थान (हेपिंगे खोला) लगायत श्रीनृसिंहदेवसँग सम्बन्धित अनेकौं क्षेत्रहरूको दर्शन गर्नाले पुण्य प्राप्त हुन्छ।
यशोधरा र विश्वधारा नदीको संगम स्थललाई प्राचीन कालदेखि नै भगवान् श्री नरसिंहदेवको क्रीडास्थलका रूपमा लिइन्छ। हाल बुढीगण्डकी र आँखुखोलाका नामले चिनिने यी दुई नदीको संगम गोरखा र धादिङ जिल्लाको सिमानाअन्तर्गत धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १, सल्यानटारमा पर्दछ। केही दशकअगाडि शास्त्रीय प्रमाण, जन श्रुति र प्राप्त भग्नावशेषका आधारमा स्थापना गरिएको यहाँको मन्दिर २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो।
त्यसपछि विभिन्न सन्त–महन्त, स्थानीय बासिन्दा तथा मन्दिर संरक्षण विकास समितिको सक्रियतामा यस क्षेत्रको स्तरोन्नति गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यका साथ काम अगाडि बढाइएको छ। हाल यहाँ मन्दिरका अतिरिक्त गुरुकुल भवन, छात्रावास, अतिथि निवास, सन्त आवास गृह, प्रसादी गृह र गौशालालगायतका भौतिक संरचनाहरू समेत निर्माण भइसकेका छन्। यहाँ प्रत्येक महिनाको शुक्ल चतुर्दशी र कृष्ण चतुर्दशीका दिन विशेष अभिषेक तथा नृसिंह यज्ञको आयोजना हुने गर्दछ।
उक्त चतुर्दशी तिथिमा समस्त बिघ्नबाधा हटाई मनोकामना पूर्ति गर्ने हेतुले भक्तहरू ‘सर्वविघ्नविनाशक श्री नृसिंह यज्ञ’मा सहभागी हुन र भगवान्को अभिषेक दर्शन गर्न ठूलो भिड लाग्ने गर्दछ। प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशी तथा पुरुषोत्तम महिनाभरि विशेष यज्ञ, अभिषेक, भगवत् कथा, भजन–कीर्तन एवं नृसिंह भगवान्सँग सम्बन्धित विविध झाँकी, नाटक र नृत्य प्रदर्शन आदि कार्यक्रमहरू आयोजना हुन्छन्। हाल यस क्षेत्रमा दैनिक सयौं भक्तजन पुग्छन्। यसै सन्दर्भमा जेठ १ देखि ३१ गतेसम्म श्री नृसिंहधाममा ‘पुरुषोत्तम महा–महोत्सव महायज्ञ’ सञ्चालन भइरहेछ।
विश्वमा सूचना र सञ्चार जगत्मा २१औं शताब्दीमा देखिएको द्रुत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको छ। विकसित मुलुकहरूले मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिरहेका छन् भने विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएका छन्। यस शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिका साथै सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य
आर्थिक वृद्धि हासिल गर्दै आएका छन्।
आआफ्नो देशमा उपलब्ध प्राकृतिक स्रोत–साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा एवं व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक तथा भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेका छन्। विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले पनि आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालनमार्फत उपलब्धि हासिल गरिरहेको देखिन्छ।
देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु मानिएका युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु आजको पहिलो आवश्यकता हो। नेपालको प्राकृतिक भू–धरातल, वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोग गर्दै, सामाजिक सेवामूलक व्यवसायमा जोड दिई पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ।
तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान तथा सेवामूलक पर्यटन उद्योगको विकासबाट नेपालले आर्थिक–सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई ठूलो सहयोग पुर्याउन सक्ने सम्भावना प्रस्ट छ। नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि सबैभन्दा उपयुक्त साधनका रूपमा रहेको छ, जसबाट नेपाली जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ।
तर, यस क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवद्र्धनको अभावमा अपेक्षित सफलता प्राप्त हुन सकिरहेको छैन। पर्यटन विकासको प्रचुर सम्भावना बोकेको नृसिंहधाम क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसात् गर्नुपर्ने हो, सोको निक्र्योल हुनुपर्ने देखिन्छ। यसका लागि योजनाबद्ध र दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने हुनाले, सम्बन्धित क्षेत्रका विज्ञहरूको सुझावका आधारमा दीर्घकालीन योजना कार्यान्वयन गर्नु आवश्यक छ।
नेपालको बागमती प्रदेशमा अवस्थित धादिङ जिल्लाको नृसिंहधाम क्षेत्र भू–बनोट, प्राकृतिक सुन्दरता र ऐतिहासिक एवं सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय छ। यो क्षेत्र मनोरम प्राकृतिक सौन्दर्य, वातावरणीय तथा जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ। साथै, यो मनोरम सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वको संगमस्थल पनि हो। यिनै सुन्दर प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदाका कारण यस क्षेत्रले भविष्यमा आन्तरिक एवं बाह्य पर्यटकलाई व्यापक रूपमा आकर्षित गरी पर्यटकको आगमनमा वृद्धि गर्न सक्नेछ।
धार्मिक पर्यटनको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्नुका साथै स्थानीय बासिन्दाको चाहनाअनुरूप पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो। यद्यपि, एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा गाउँपालिकामा हाल यत्रतत्र छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई प्रभावकारी
बनाउन सकिएको स्थिति देखिँदैन।
नृसिंहधाम क्षेत्रमा पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थलहरू खण्डित अवस्थामा छन् र त्यहाँ पर्याप्त पर्यटकीय सेवा–सुविधा दिने वातावरण बनिसकेको छैन। यो क्षेत्र कमजोर व्यवस्थापन र अपर्याप्त पूर्वाधारबाट ग्रसित छ, जसका कारण यहाँका बासिन्दाले खासै आर्थिक फाइदा लिन सकेका छैनन्। त्यसैले, नृसिंहधाम क्षेत्रका लागि प्रभावकारी रूपमा पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ। यस क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना कार्यक्रमहरूलाई एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ।
पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको रक्षासम्बन्धी कार्यलाई ठोस कार्यक्रमका साथ अगाडि बढाउनु पर्छ। त्यसैगरी, यस क्षेत्रको समग्र विकासका लागि पर्याप्त खानेपानीको उपलब्धता, बाटोघाटोको सुधार, पदमार्ग (ट्रेकिङ रुट) को सम्भाव्यता अध्ययन, गुणस्तरीय होटल तथा होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना र जनचेतना अभिवृद्धि गर्दै यसलाई एक ‘नमुना धार्मिक पर्यटन क्षेत्र’का रूपमा विकास गर्नु नै आजको मुख्य आवश्यकता हो।
प्रतिक्रिया दिनुहोस !