अभिव्यक्ति स्वतन्त्रता भर्सेस डिजिटल अराजकता
सोसल मिडिया समाजको वास्तविकता र विकृतिसमेत देखाउने ऐना हो, आफैंमा खराब प्रविधि होइन। ऐना कुरुप देखिँदैमा त्यसलाई फुटाउनु मूर्खता हो। त्यसैले, समस्या प्रविधिमा नभई हाम्रो मानसिकता र प्रयोग गर्ने शैलीमा भएकाले आत्मसुधार गर्नु नै बुद्धिमानी हुन्छ।
इन्टरनेट र सामाजिक सञ्जालको विकासले संसारलाई डिजिटल गाउँमा रूपान्तरण गर्दै नागरिकको हातमा शक्तिशाली माध्यम थपिदिएको छ। यसले विचार अभिव्यक्तिको पुरानो बाध्यता हटाउनुका साथै सीमान्तकृतका आवाज बुलन्द गर्न, अन्यायविरुद्ध जनमत सिर्जना गर्न र संकटमा राहत तथा उद्धारका लागि अभूतपूर्व सहयोग पुर्याएर नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको छ। सुरुमा सम्बन्ध जोड्ने माध्यम बनेको सोसल मिडिया अचेल मानसिक तनाव, घृणा र सामाजिक विद्वेष फैलाउने कारखाना बनेको छ। बिहानैदेखि मोबाइल स्क्रिनमा देखिने नकारात्मकता र गालीगलौजले समाजमा सद्भावभन्दा विकृति बढाएको छ। मानिसबीच दूरी र संशय बढाउँदै निराशाको विष घोल्ने यो प्रवृत्ति प्राविधिक समस्यामात्र नभई सामाजिक मनोविज्ञान, सांस्कृतिक मूल्य–मान्यता र लोकतान्त्रिक परिपाटीमाथिको गम्भीर चुनौती हो।
नेपालमा इन्टरनेटको पहुँच गाउँगाउँसम्म पुगेसँगै सोसल मिडिया प्रयोगकर्ताहरूको संख्या करोडौं नाघिसकेको छ। स्मार्टफोनको सुलभता र सस्तो डाटा प्याकका कारण आज सहरका महलदेखि गाउँका झुपडीसम्मका मानिसहरू डिजिटल संसारमा जोडिएका छन्। टिकटकमा भिडियो बनाउने, फेसबुकमा स्टाटस लेख्ने वा युट्युबमा भिडियो हेर्ने कुरा नेपालीको दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ।
नेपालको डिजिटल स्पेसमा जे कुरामा पनि खोट लगाउने र नकारात्मकता मात्र देख्ने ‘नेगेटिभिजम’को संस्कृति हाबी भएको छ। यहाँ नयाँ प्रतिभालाई सुरुमा अत्यधिक प्रशंसा गर्ने र सानो गल्तीमै कडा प्रहार गरी सिध्याउने आत्मघाती खेल खेलिन्छ। रचनात्मक आलोचना हुनुपर्ने कमेन्ट बक्सहरू अचेल मानिसको रूप, रङ, जात, लिंग र व्यक्तिगत जीवनमाथि हिलो छ्यापेर मानमर्दन गर्ने ‘वधशाला’ जस्तै बन्न पुगेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको छ।
लोकतन्त्रको सुन्दरता नै यही हो कि यहाँ नागरिकले राज्यका नीति, नेता, सार्वजनिक पदाधिकारी वा समाजका कुनै पनि विषयमाथि असहमति राख्न र आलोचना गर्न पाउँछन्। तर, अभिव्यक्ति स्वतन्त्रताको अर्थ अरूको आत्मसम्मानमा ठेस पु¥याउने, चरित्र हत्या गर्ने वा गालीगलौज गर्ने अधिकार होइन भन्ने कुरा डिजिटल स्पेसमा बिर्सिइएको छ।
स्वस्थ आलोचना र साइबर बुलिङबीचको रेखा मेटिँदा अचेल विचारको खण्डन तर्कले नभई व्यक्तिगत गालीगलौज र लाञ्छनाले गरिन्छ। यसको सिकार विशेषगरी महिलाहरू भइरहेका छन्, जसका पोस्टमा क्षमताभन्दा चरित्र र शारीरिक बनावटमाथि केन्द्रित अश्लील टिप्पणी गरिन्छन्। यसले समाजको संकीर्ण र पितृसत्तात्मक मनोविज्ञानलाई छर्लंग पार्छ। विचार राख्दा हुने यस्ता अभद्र व्यवहार अभिव्यक्ति स्वतन्त्रता नभएर डिजिटल भिडले गर्ने सामूहिक हिंसा हो। सोसल मिडियामा यो तहको नकारात्मकता फैलिनुमा केवल मानिसको स्वभावमात्र जिम्मेवार छैन, यसको पछाडि यी प्लेटफर्महरू सञ्चालन गर्ने बहुराष्ट्रिय कम्पनीहरूको व्यापारिक रणनीति र उनीहरूको ‘अल्गोरिदम’ले पनि ठूलो भूमिका खेलेको छ। फेसबुक, टिकटक वा युट्युबजस्ता कम्पनीहरूको मुख्य आम्दानीको स्रोत भनेकै प्रयोगकर्ताले उनीहरूको प्लेटफर्ममा बिताउने समय हो।
विभिन्न मनोवैज्ञानिक अनुसन्धानहरूले के देखाएका छन् भने, मानिसहरू सकारात्मक वा सामान्य सामग्रीभन्दा रिस, आक्रोश, विवाद र नकारात्मकता फैलाउने सामग्रीमा बढी आकर्षित हुन्छन् र त्यसमा बढी प्रतिक्रिया दिन्छन्। सोसल मिडियाको अल्गोरिदमले यही मानवीय कमजोरीलाई क्यास गर्छ। जस्तै कुनै पोस्टमा आक्रोशपूर्ण कमेन्ट वा विवाद बढ्छ, अल्गोरिदमले त्यसलाई झन् बढी मानिसको फिडमा पु¥याइदिन्छ। यही प्राविधिक संरचनाका कारण आजभोलि ‘भाइरल’ हुने र ‘भ्युज’ कमाउने होड चलेको छ।
‘कन्टेन्ट क्रिएटर’ले सबैको ध्यान कसरी हुन्छ मानिसको ध्यान तान्ने भन्नेमा मात्र केन्द्रित छ। शीर्षक जति बढी सनसनीपूर्ण र भ्रामक भयो, भिडियो जति बढी विवादास्पद भयो, त्यति नै धेरै भ्युज र पैसा आउने भएपछि समाजलाई सकारात्मक दिशा दिने सामग्रीहरू ओझेलमा परेका छन्। परिणामस्वरूप, क्षणिक चर्चा र आर्थिक लाभका लागि समाजमा भ्रम, घृणा र नकारात्मकता फैलाउने कार्यले संस्थागत रूप पाइरहेको छ। कमेन्ट बक्समा देखिने यो कुरुपता आखिर समाजको कुन रोगको लक्षण हो ? यसको पछाडि गम्भीर सामाजिक र मनोवैज्ञानिक कारणहरू लुकेका छन् :–
गुमनामताको शक्ति : भौतिक संसार जस्तो पहिचान खुल्ने डर नहुँदा, डिजिटल माध्यममा नक्कली आईडीको आडमा मानिसले सुरक्षित महसुस गर्छ। यही ‘गुमनामता’ का कारण उसभित्रको आदिम हिंस्रक र अराजक प्रवृत्ति बाहिर आउँछ।
सामूहिक कुण्ठा र सामाजिक निराशा : नेपालमा राजनीतिक अस्थिरता, बेरोजगारी र सुशासनको अभावले व्याप्त निराशाका कारण युवा पुस्ता आत्तिएका छन्। फलस्वरूप, उनीहरूले राज्यप्रतिको आक्रोश र आफ्नो कुण्ठा पोख्न सोसल मिडियालाई माध्यम बनाएका छन्।
ईर्ष्या र हीनताबोध : सोसल मिडियामा प्रदर्शन गरिने कृत्रिम सुखद जीवन देखेर मानिसमा हीनताबोध र ईष्र्या जन्मिन्छ। यही ईष्र्या रिसमा बदलिँदा उनीहरू अरूको सानो गल्तीमा पनि कमेन्ट बक्समा आक्रोश पोख्न पुग्छन्।
भिड मानसिकता : डिजिटल स्पेसमा पनि भौतिक संसारझैं भिड मानसिकता चल्छ। सत्यतथ्य नबुझी भिडमा सामेल हुँदा व्यक्तिगत उत्तरदायित्व समाप्त हुने भएकाले, मानिसहरू विवेक गुमाएर अरूमाथि निकृष्ट शब्दमा सामूहिक गाली बर्साउन पुग्छन्।
प्रत्यक्ष प्रभाव : सोसल मिडियाको यो विषाक्त वातावरणले नेपाली समाजलाई कुन दिशातिर लैजाँदैछ भन्ने कुरा निकै चिन्ताजनक छ। यसको असर केवल अनलाइन स्क्रिनमा मात्र सीमित छैन, यसले हाम्रा घर–परिवार र वास्तविक जीवनलाई समेत प्रत्यक्ष प्रभावित पारिरहेको छ।
मानसिक स्वास्थ्यको संकट : लगातारको साइबर बुलिङ, ट्रोलिङ र नकारात्मक टिप्पणीका कारण मानिसहरू डिप्रेसन, एन्जाइटीजस्ता गम्भीर मानसिक समस्याको सिकार भएका छन्। यसकै तनाव सहन नसकेर कतिपयले आत्महत्या गर्नेसम्मका दु:खद् घटना घटेका छन्।
भाषिक र सांस्कृतिक अधोगति : शालीनता र सुसंस्कारयुक्त नेपाली समाजको भाषा सोसल मिडियाको कमेन्ट बक्समा अत्यन्तै कुरूप र अमर्यादित बनेको छ। परिवारसँग बसेर पढ्नै नसकिने गरी झरेको गालीगलौजको यो स्तर र भाषाको अधोगतिले नयाँ पुस्ताको संस्कारमाथि नै गम्भीर चिन्ता थपिदिएको छ।
युवा पुस्तामा विकृत मानसिकताको विकास : इन्टरनेटको संसारमा हुर्किरहेको नयाँ पुस्तामा गाली र अपमान गरेरै चर्चा पाइने गलत बुझाइ संस्थागत हुँदैछ। सोसल मिडियाका कारण अभद्रतालाई नै क्रान्तिकारिता मान्ने र शिष्ट बौद्धिक बहसलाई काँतरता ठान्ने विकृत भाष्य निर्माण हुनु समाजको भविष्यका लागि ठूलो खतरा हो।
तथ्य र सत्यको अवसान : होहल्ला, अफवाह र घृणाको तीव्र प्रवाहका कारण सत्य र तथ्य ओझेलमा पर्ने गरेका छन्। सोसल मिडियामा भावना र उत्तेजनाका भरमा बहस हुँदा सही सूचना प्रवाहित हुन पाउँदैन र समाज भ्रमको सिकार बन्छ। सोसल मिडियाको विकृति रोक्न विश्वभर डिजिटल स्पेसलाई सुरक्षित बनाउने प्रयास भइरहेका छन्। युरोपेली युनियनले ‘डिजिटल सर्भिसेज एक्ट’ मार्फत घृणास्पद अभिव्यक्ति र भ्रामक सूचना हटाउने कानुनी दायित्व तोकेको छ भने अस्ट्रेलिया, दक्षिण कोरिया र सिंगापुरले साइबर बुलिङ विरुद्ध कडा कानुन बनाएका छन्। कतिपय देशमा अनलाइन दुव्र्यवहार रोक्न एकाउन्ट खोल्दा वास्तविक पहिचान अनिवार्य गर्नेसम्मका बहस चलिरहेका छन्।
नेपालमा साइबर अपराध नियन्त्रणका लागि कानुनी व्यवस्थाहरू भए पनि तिनको कार्यान्वयन झन्झटिलो छ। कानुनी नियन्त्रणका नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने वा राज्यको आलोचना दबाउने कार्य लोकतन्त्रमा स्वीकार्य हुँदैन। त्यसैले, कानुनको दायरा घृणास्पद अभिव्यक्ति र साइबर बुलिङ नियन्त्रणमा मात्र स्पष्ट हुनुपर्छ। सोसल मिडिया नियन्त्रणका जटिलताबाट तंग्रिँदै गरेको अवस्थामा यसको कार्यान्वयन निकै सुझबुझका साथ गरिनुपर्छ। यो भयानक बन्दै गएको डिजिटल क्यान्सरबाट समाजलाई जोगाउन अब केवल चिन्ता गरेरमात्र पुग्दैन, बरु बहुआयामिक र ठोस कदमहरू चाल्नुपर्ने बेला भइसकेको छ। यसका लागि राज्य, नागरिक समाज, मिडिया र स्वयं प्रयोगकर्ताको सामूहिक प्रयास आवश्यक छ :–
व्यापक डिजिटल साक्षरता : हाम्रो शिक्षाले प्रविधिको सीप सिकाए पनि अनलाइन अनुशासन सिकाएन। अब पाठ्यक्रममै ‘डिजिटल साक्षरता’ समावेश गरी सानै उमेरदेखि प्रविधिको सही प्रयोग, फेक न्युजको पहिचान र अनलाइन नैतिकता सिकाउनु आवश्यक छ।
स्वत: नियमनको संस्कृति : कानुनी नियमभन्दा मानवीय चेतना र आत्मसुधार ठूलो हो। प्रत्येक प्रयोगकर्ताले कुनै पनि सामग्री सेयर वा कमेन्ट गर्नुअघि त्यसको सत्यता, आवश्यकता र प्रभावबारे सोच्ने बानी बसाल्नुपर्छ। चित्त नबुझेका कुरालाई गाली गर्नुको साटो बेवास्ता गर्ने वा शिष्ट भाषामा असहमति जनाउने विवेकपूर्ण डिजिटल संस्कारको सुरुवात हामी आफैंबाट हुनु जरुरी छ।
मिडिया र कन्टेन्ट क्रिएटरहरूको उत्तरदायित्व : सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरू भ्युज र डलरको पछाडि दौडने तथा सनसनीपूर्ण शीर्षक राख्ने प्रवृत्ति बन्द हुनुपर्छ। आफ्ना पोस्टमा आउने हिंस्रक र अश्लील कमेन्टहरू ‘मोडरेट’ गर्ने वा हटाउने जिम्मेवारी सञ्चालक स्वयंले लिनुपर्छ।
प्रभावकारी र द्रुत कानुनी संयन्त्र : साइबर बुलिङ र अनलाइन उत्पीडनका मुद्दा सम्बोधन गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रविधिमैत्री र साधनस्रोत सम्पन्न बनाउनुपर्छ। फेक आईडीमार्फत अपराध गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई दण्डहीनताको सोच अन्त्य गरिनुपर्छ।
सोसल मिडिया समाजको वास्तविकता र विकृतिसमेत देखाउने ऐना हो, आफैंमा खराब प्रविधि होइन। ऐना कुरूप देखिँदैमा त्यसलाई फुटाउनु मूर्खता हो। त्यसैले, समस्या प्रविधिमा नभई हाम्रो मानसिकता र प्रयोग गर्ने शैलीमा भएकाले आत्मसुधार गर्नु नै बुद्धिमानी हुन्छ। डिजिटल स्पेसलाई हिंस्रक भिडतन्त्रबाट जोगाई सद्भाव र ज्ञानको चौतारी बनाउन प्रत्येक नागरिक सचेत हुनुपर्छ। बदलावको सुरुवात अरूबाट होइन, आफ्नै औंलाले मोबाइलको किबोर्डमा गर्ने सभ्य शब्द छनोटबाट हुनुपर्छ। कमेन्ट बक्सलाई कुरुपताको अखडा नभई चेतनाको उज्यालो छर्ने थलो बनाऔँ।
न्यौपाने, अधिवक्ता हुन्।
प्रतिक्रिया दिनुहोस !