यसकारण कम्युनिस्ट पुनर्गठन

अग्रमत

यसकारण कम्युनिस्ट पुनर्गठन
सुन्नुहोस्

आन्दोलनलाई पुनः जनतासँग जोड्न आवश्यक छ।

नेपालको कम्युनिस्ट आन्दोलनले सात दशकभन्दा लामो संघर्ष, त्याग र बलिदानको इतिहास बोकेको छ। यही आन्दोलनले राणाशासनविरुद्ध लोकतन्त्रको आवाज उठायो, पञ्चायती निरंकुशताको प्रतिरोध गर्‍यो , गणतन्त्र स्थापनाको आधार तयार गर्‍यो  र संघीयता, समावेशिता तथा सामाजिक न्यायका एजेन्डाहरूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्‍यो । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलन केवल राजनीतिक संगठनहरूको इतिहास मात्र होइन, परिवर्तनका लागि नेतृत्व गरिएको जनसंघर्षको इतिहास हो।

इतिहासका यी गौरवपूर्ण उपलब्धिहरूका बीच आज नेपाली कम्युनिस्ट आन्दोलन एउटा गम्भीर प्रश्नसँग जुधिरहेको छ। संगठनहरू मुलुकव्यापी विस्तार भएका छन्। विगतका निर्वाचनमा सफलता प्राप्त भएका थिए। राज्यसत्तामा पहुँच पनि बनेको छ। तर आन्दोलनको वैचारिक प्रभाव, सामाजिक विश्वसनीयता र जनआकर्षण भने क्रमशः कमजोर हुँदै गएको छ। अहिले निर्वाचनमा पनि पराजय भोगेको छ आन्दोलन कमजेर भएको अनुभूति व्यापक रूपमा बढिरहेको छ। यही यथार्थले आन्दोलनको पुनर्मूल्यांकन, आत्मसमीक्षा र पुनर्गठनको आवश्यकता औंल्याएको छ।

आज आन्दोलनले आफ्नो विगतलाई गर्वका साथ स्मरण गर्न सक्छ। लोकतान्त्रिक आन्दोलनहरूको नेतृत्व, गणतन्त्र स्थापनामा निर्णायक भूमिका, संघीय लोकतान्त्रिक व्यवस्थाको निर्माण, सामाजिक न्याय र समावेशिताको संस्थागत विकास तथा राष्ट्रिय स्वाधीनताको पक्षमा गरिएको हस्तक्षेप आन्दोलनका महत्वपूर्ण उपलब्धिहरू हुन्। यी उपलब्धिहरू कुनै एक पार्टी वा नेताका होइनन्, समग्र कम्युनिस्ट आन्दोलनका ऐतिहासिक सम्पत्ति हुन्।

तर उपलब्धिहरूसँगै चुनौतीहरू पनि गम्भीर बन्दै गएका छन्। युवापुस्तामा कम्युनिस्ट विचारप्रतिको आकर्षण घट्दो छ। जनविश्वासमा क्रमिक ह्रास देखिन्छ। पार्टी र जनताबीचको सम्बन्ध कमजोर हुँदै गएको छ। वैचारिक बहसको संस्कृति खुम्चिएको छ। नेतृत्व अत्यधिक केन्द्रीकृत बन्दै गएको छ। संगठनभित्र अवसरवाद, गुटीय प्रवृत्ति र व्यक्तिगत स्वार्थको प्रभाव बढेको छ। समाजवादको घोषित लक्ष्य र व्यवहारबीचको दूरी पनि झन् बढ्दै गएको छ।

यी चुनौतीहरूको केन्द्रमा आन्दोलनको वैचारिक संकट रहेको छ। दस्तावेजमा समाजवादप्रति प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा नवउदारवादी आर्थिक सोचको प्रभाव देखिन्छ। उत्पादनमुखी अर्थतन्त्रको विकासभन्दा बजारमुखी नीतिहरूले प्राथमिकता पाइरहेका छन्। परिणामस्वरूप आन्दोलनको वर्गीय चरित्र र वैचारिक विश्वसनीयतामाथि प्रश्न उठ्न थालेका छन्।

राजनीतिक रूपमा पनि आन्दोलन परिवर्तनको वाहकभन्दा सत्ता व्यवस्थापनको साधनजस्तो बन्ने खतरा देखिएको छ। सामाजिक रूपान्तरण, उत्पादन सम्बन्धको परिवर्तन र वर्गीय मुक्तिका मुद्दाहरू क्रमशः कमजोर बन्दै गएका छन् भने सरकार निर्माण, सत्ता सञ्चालन र राजनीतिक समीकरणका प्रश्नहरू मुख्य एजेन्डा बन्न पुगेका छन्। सत्तालाई परिवर्तनको साधन बनाउने ठाउँमा कतिपय अवस्थामा सत्ता नै अन्तिम लक्ष्य जस्तो देखिन थालेको छ।

संगठनात्मक क्षेत्रमा पनि चुनौतीहरू कम छैनन्। लोकतान्त्रिक केन्द्रीयताको सिद्धान्त कमजोर बन्दै गएको छ। सामूहिक नेतृत्वको परम्पराको स्थान व्यक्तिकेन्द्रित प्रवृत्तिले लिन थालेको छ। आलोचना र आत्मआलोचनाको संस्कृति कमजोर भएको छ। फरक विचारलाई सम्मान गर्ने लोकतान्त्रिक अभ्यास घट्दै गएको छ। परिणामतः संगठनभित्र सिर्जनात्मक बहस र सुधारको सम्भावना पनि खुम्चिँदै गएको छ।

यतिमात्र होइन, आन्दोलनले नैतिक संकटको पनि सामना गरिरहेको छ। कुनै समय त्याग, सादगी, अनुशासन र जनसेवाको पर्याय मानिने कम्युनिस्ट आन्दोलनभित्र आज उपभोक्तावाद, पदलिप्सा, अवसरवाद र व्यक्तिगत महत्वाकांक्षाको प्रभाव बढ्दो छ। संघर्षभन्दा पहुँच, योगदानभन्दा पद र विचारभन्दा अवसरलाई महत्व दिने प्रवृत्तिले आन्दोलनको नैतिक आधार कमजोर बनाइरहेको छ।

यस अवस्थाको कारण खोज्दा मुख्यतः सत्तामुखी राजनीतिक अभ्यास, वैचारिक प्रशिक्षणको ह्रास, आत्मसमीक्षाको कमजोर संस्कृति, संगठनभित्र लोकतान्त्रिक अभ्यासको कमी र विश्वव्यापी उपभोक्तावादी संस्कृतिको प्रभाव देखिन्छ। विशेषतः २०४६ पछि र अझ २०६२÷६३ पछिको राजनीतिक परिवर्तनपछि आन्दोलनको केन्द्र सामाजिक रूपान्तरणभन्दा सत्ता सञ्चालनतर्फ सर्दै गयो। अध्ययन, प्रशिक्षण र वैचारिक बहस कमजोर भए। गल्ती स्वीकार गरेर सुधार गर्ने संस्कृतिको स्थान आत्मरक्षाले लिन थाल्यो।

सर्वप्रथम वैचारिक पुनर्जागरण आवश्यक छ। समाजवादको नेपाली मार्गबारे गम्भीर बहस हुनुपर्छ। माक्र्सवादलाई युगानुकूल र नेपाली यथार्थ अनुकूल ढंगले विकसित गर्नुपर्छ।

आजको मूल प्रश्न पार्टीको नेतृत्व कसले गर्ने भन्ने होइन, आन्दोलनलाई कुन दिशामा लैजाने भन्ने हो। कम्युनिस्ट आन्दोलनको पुनर्गठन कुनै विकल्प होइन, समयले मागेको ऐतिहासिक आवश्यकता हो।

यही कारण आज कम्युनिस्ट आन्दोलनको पुनर्गठन ऐतिहासिक आवश्यकता बनेको छ। यो कुनै व्यक्ति विशेषविरुद्धको अभियान होइन, न त कुनै गुटगत स्वार्थको अभिव्यक्ति हो। यसको उद्देश्य आन्दोलनलाई पुनः जनमुखी, वैचारिक रूपमा स्पष्ट, नैतिक रूपमा विश्वसनीय र संगठनात्मक रूपमा गतिशील बनाउनु हो। पुनर्गठनको लक्ष्य पार्टी फुटाउनु होइन, आन्दोलनलाई नयाँ जीवन दिनु हो।

यसका लागि सर्वप्रथम वैचारिक पुनर्जागरण आवश्यक छ। समाजवादको नेपाली मार्गबारे गम्भीर बहस हुनुपर्छ। माक्र्सवादलाई युगानुकूल र नेपाली यथार्थ अनुकूल ढंगले विकसित गर्नुपर्छ। राष्ट्रिय आवश्यकता र वर्गीय यथार्थमा आधारित कार्यक्रम निर्माण गर्नुपर्छ।

त्यसैगरी संगठनात्मक रूपान्तरण पनि अपरिहार्य छ। सामूहिक नेतृत्वलाई संस्थागत गर्नुपर्छ। नेतृत्वको नियमित पुस्तान्तरण सुनिश्चित गर्नुपर्छ। संगठनलाई नेता केन्द्रित होइन, कार्यकर्ता केन्द्रित बनाउनुपर्छ। लोकतान्त्रिक संस्कृतिको विकास पनि पुनर्गठनको महत्वपूर्ण आधार हो। आलोचना र आत्मआलोचनाको परम्परालाई पुनर्जीवित गर्नुपर्छ। विचारको बहुलतालाई सम्मान गर्नुपर्छ। निर्णय प्रक्रियामा व्यापक सहभागिता सुनिश्चित गर्नुपर्छ।

त्यसैगरी आन्दोलनलाई पुनः जनतासँग जोड्न आवश्यक छ। किसान, मजदुर, युवा, महिला र निम्न मध्यमवर्गका मुद्दाहरूलाई आन्दोलनको केन्द्रमा ल्याउनुपर्छ। उत्पादन, रोजगारी र सामाजिक न्यायलाई राजनीतिक कार्यक्रमको मूल आधार बनाउनुपर्छ।सबैभन्दा महत्वपूर्ण कुरा, आन्दोलनले नैतिक पुनर्जागरणको अभियान सञ्चालन गर्नुपर्छ। सादगी, अनुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्छ। भ्रष्टाचार, अवसरवाद र पदको दुरुपयोगविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्छ।

आज नेपाली कम्युनिस्ट आन्दोलन ऐतिहासिक दोबाटोमा उभिएको छ। एउटा बाटो यथास्थितिवाद, व्यक्तिवाद र अवसरवादतर्फ जान्छ, जसले आन्दोलनलाई अझ कमजोर बनाउनेछ। अर्को बाटो आत्मसमीक्षा, वैचारिक पुनर्जागरण, संगठनात्मक पुनर्गठन र जनतासँगको पुनःसम्बन्धतर्फ जान्छ, जसले आन्दोलनलाई नयाँ जीवन दिन सक्छ।

त्यसैले आजको मूल प्रश्न पार्टीको नेतृत्व कसले गर्ने भन्ने होइन, आन्दोलनलाई कुन दिशामा लैजाने भन्ने हो। कम्युनिस्ट आन्दोलनको पुनर्गठन कुनै विकल्प होइन, समयले मागेको ऐतिहासिक आवश्यकता हो। यदि आन्दोलनले आफूभित्र सुधार र पुनर्जागरणको साहस गर्न सक्यो भने उसले पुनः समाज परिवर्तनको नेतृत्व गर्न सक्छ। अन्यथा संगठनहरू बाँकी रहला, तर आन्दोलनको आत्मा क्रमशः कमजोर हुँदै जानेछ। अब आवश्यकता आन्दोलन बचाउने, समाजवादको लक्ष्यलाई पुनः स्पष्ट गर्ने र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ युगको नेतृत्व गर्न सक्षम बनाऊने हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.